कोभिड-१९ संक्रमितको निःशुल्क उपचार गर्न सरकारलाई कांग्रेस तनहुँको ध्यानाकर्षण

- भञ्ज्याङ समाचारदाता (दमौली)
नेपाली कांग्रेस तनहुँले कोरोना भाइरस (कोभिड-१९)को निःशुल्क उपचार गराउन गण्डकी प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण गरेको छ । पार्टी सचिव विश्व बाँस्तोलाले मंगलबार एक विज्ञप्ति जारी गर्दै देशमा कोरोना महामारी उच्चतम जोखिमतर्फबढिरहेको र तत्काल नियन्त्रणमा आउने सम्भावना नरहेको अवस्थामा आफ्ना नागरिकको स्वास्थ्य सुरक्षालाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताइएको छ ।
कोरोना महामारीको उपचार व्यक्ति स्वयंले आफ्नै खर्चमा गर्नुपर्ने भनी नागरिक प्रतिको दायित्वबाट विमुख हुने गरी वर्तमान सरकारले गरेको निर्णय अत्यन्त गैरजिम्मेवार र खेदजनक भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा विपद्का समयमा राज्यको सबै श्रोत परिचालन गरेर भए पनि आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरी देशमा सरकार छ भन्ने महशुस गराउन पर्नेमा सरकारले केही गर्न सक्दैन आफ्नो स्वास्थ्य सुरक्षा आफै गर भनेर नागरिक दायित्वबाट पन्छिने गरी गरिएको उक्त निर्णयले यो सरकार कसका लागि हो – भन्दै प्रश्न उठाइएको छ ।
सरकारले आफ्नो कर्तव्य बिर्सिएर निर्णय नसच्चाएको अवस्थामा समेत आफ्ना नागरिकहरुको कोभिड-१९ को परिक्षण र उपचार निःशुल्क रुपमा गर्ने व्यवस्था मिलाउन गण्डकी प्रदेश र स्थानीय सरकारसँग अपिल गर्दै अन्यथा दबाबका कार्यक्रम ल्याउने चेतावनी समेत दिइएको छ।










