सम्पादकीय : जातीय विभेद अन्त्यको प्रतीक्षा कहिलेसम्म ?

नेपालले कानुनी रूपमा छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको दुई दशक पुगेको छ । संविधानले समानताको हक सुनिश्चित गरेको छ । जातीय भेदभाव तथा छुवाछुतलाई अपराध घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय महासन्धिमा नेपालले प्रतिबद्धता जनाएको छ । तर यति हुँदाहुँदै पनि समाजमा जातीय विभेद र छुवाछुतका घटना आज पनि रोकिएका छैनन् । यही यथार्थले जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइरहँदा गम्भीर प्रश्न उठाएको छ– कानुन बन्यो, घोषणा भयो, तर व्यवहार किन फेरिएन ? हरेक वर्ष यो दिवस विभिन्न कार्यक्रम, गोष्ठी, नाराबाजी र प्रतिबद्धतासहित मनाइन्छ । दलित समुदायका अधिकार, सम्मान र सामाजिक न्यायका विषयमा बहस हुन्छ । तर वर्षदिन बित्दा फेरि कुनै न कुनै जिल्लाबाट विभेदको घटना सार्वजनिक हुन्छ । कतै मन्दिर प्रवेशमा रोक लगाइन्छ, कतै भोजभतेरमा विभेद गरिन्छ, कतै सामाजिक बहिष्कार गरिन्छ । कतिपय घटना त सार्वजनिक नै हुँदैनन् । समाजको भित्री तहमा अझै पनि विभेद गहिरो रूपमा जरा गाडेर बसेको छ ।

नेपालले २०६३ सालमै देशलाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । संविधानले दलित समुदायको हकलाई मौलिक हकका रूपमा स्थापित गरेको छ। जातीय भेदभाव तथा छुवाछुत -कसुर र सजाय) ऐन, २०६८ ले यस्तो कार्यलाई दण्डनीय अपराध मानेको छ । मुलुकी अपराध संहिताले पनि विभेद गर्नेलाई कारबाहीको व्यवस्था गरेको छ । तर कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा पीडितले न्याय पाउन सकेका छैनन् । समस्या केवल कानुनको अभाव होइन, सोचको अभाव हो । समाजमा अझै पनि जातका आधारमा मानिसलाई हेर्ने मानसिकता जीवित छ । शिक्षित भनिएका समाज र राजनीतिक नेतृत्वभित्रै विभेदपूर्ण व्यवहार भेटिनु झन् दुःखद विषय हो । पछिल्लो समय विभिन्न जिल्लामा भएका घटनाले देखाएको छ कि विभेद केवल गाउँघरको समस्या मात्र होइन, राज्य संयन्त्रभित्रै पनि चेतनाको कमी छ । कतिपय अवस्थामा दोषीलाई संरक्षण गर्ने, घटनालाई मिलापत्रमा टुंग्याउने वा पीडितलाई नै दबाब दिने प्रवृत्ति देखिन्छ । यसले पीडित समुदायमा थप निराशा र असुरक्षा पैदा गरेको छ ।

जातीय विभेदको पीडा केवल सामाजिक अपमानमा सीमित हुँदैन । यसले व्यक्तिको आत्मसम्मान, अवसर, शिक्षा, रोजगारी र मानसिक अवस्थामाथि गम्भीर असर पार्छ । विभेदले समाजमा अविश्वास, असमानता र अन्यायलाई निरन्तरता दिन्छ । समानता र लोकतन्त्रको कुरा गर्ने समाजमा कुनै व्यक्ति केवल जन्मकै आधारमा अपमानित हुनुपर्ने अवस्था सभ्य समाजका लागि लज्जाको विषय हो। दलित समुदायले दशकौँदेखि समान अधिकार, सम्मान र अवसरका लागि संघर्ष गर्दै आएको छ । राजनीतिक परिवर्तनका आन्दोलनमा पनि दलित समुदायको महत्वपूर्ण भूमिका रहँदै आएको छ । तर परिवर्तनपछि पनि उनीहरूको जीवनमा अपेक्षित सुधार आउन सकेको छैन । अझै पनि शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीतिक पहुँच र आर्थिक अवसरमा दलित समुदाय पछाडि छ । सामाजिक विभेदले उनीहरूलाई थप कमजोर बनाइरहेको छ ।

जातीय विभेद अन्त्य गर्न केवल सरकारले मात्र होइन, समाजका सबै पक्ष जिम्मेवार बन्नुपर्छ । राजनीतिक दल, नागरिक समाज, विद्यालय, धार्मिक संस्था, सञ्चारमाध्यम र परिवार सबैले चेतनाको अभियान चलाउन आवश्यक छ । विभेदविरुद्धको शिक्षा विद्यालय तहदेखि नै सुरु हुनुपर्छ । समाजमा सम्मान, समानता र मानवताको संस्कार विकास गर्न सकिए मात्र दीर्घकालीन परिवर्तन सम्भव हुन्छ । राज्यले विभेदसम्बन्धी घटनामा शून्य सहनशीलताको नीति व्यवहारमै लागू गर्नुपर्छ । दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्छ। घटनालाई दबाउने, मिलापत्र गराउने वा राजनीतिक प्रभावका आधारमा उन्मुक्ति दिने प्रवृत्ति अन्त्य हुन आवश्यक छ । पीडितलाई न्याय र सुरक्षा दिलाउने दायित्व राज्यको हो ।

जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवस केवल औपचारिक कार्यक्रमको दिन बन्नु हुँदैन । यो दिवस समाजलाई आत्मसमीक्षा गर्ने अवसर बन्नुपर्छ । हामी साँच्चिकै समान समाज निर्माण गर्न चाहन्छौँ भने व्यवहार परिवर्तन अपरिहार्य छ। संविधान र कानुन किताबमा मात्र सीमित हुने होइन, समाजको व्यवहारमा देखिनुपर्छ । मानिसको मूल्य उसको जातले होइन, उसको क्षमता, कर्म र मानवताले निर्धारण गर्छ भन्ने चेतना समाजमा स्थापित हुन सके मात्र जातीय विभेद अन्त्य सम्भव छ । सभ्य र समतामूलक समाज निर्माणका लागि अब शब्द होइन, व्यवहार परिवर्तनको समय आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker