तनहुँका पहाडी मुस्लिम : इतिहास, व्यापार र सहअस्तित्वको एक जीवित विरासत

आकाश अधिकारी

नेपालको सामाजिक संरचना विविध जाति, भाषा, धर्म र संस्कृतिहरूको साझा फूलबारी हो। यही बहुलताभित्र पहिचान बनाउँदै आएको एउटा महत्वपूर्ण समुदाय हो– पहाडी मुस्लिम समुदाय। नेपालको पहाडी भूभागमा बसोबास गर्ने मुस्लिमहरूको इतिहास, योगदान र सामाजिक सम्बन्धका विषयमा अपेक्षाकृत कम अध्ययन भएको पाइन्छ। यद्यपि तनहुँ, स्याङ्जा, पाल्पा, कास्की, गोर्खा र अर्घाखाँची क्षेत्रमा बसोबास गर्दै आएका पहाडी मुस्लिम समुदायले आफ्नो विशिष्ट इतिहास र सांस्कृतिक विरासत बोकेर आजसम्मको यात्रा तय गरेका छन् ।

मौखिक इतिहासमा सुरक्षित एक लामो यात्रा

तनहुँ जिल्लाको सम्जुर क्षेत्रका अग्रज हाजी अब्दुल रजाँकका अनुसार पहाडी मुस्लिम समुदायको नेपाल प्रवेश आजभन्दा करिब ९५० वर्षअगाडि भएको मान्यता समुदायभित्र प्रचलित छ । उहाँका अनुसार व्यापारिक उद्देश्यले काश्मिर, कुमाउँ र गढवाल क्षेत्र हुँदै नेपालका पहाडी भूभाग पार गर्दै तिब्बतसम्म पुग्ने व्यापारीहरूको समूहमा मुस्लिम समुदायको पनि उल्लेखनीय उपस्थिति थियो ।
इतिहासका लिखित स्रोतहरू सीमित भए पनि समुदायका अग्रजहरूले सुनाउँदै आएको मौखिक परम्पराअनुसार उनीहरू नेपालका विभिन्न पहाडी जिल्लामा ११औँ शताब्दीको प्रारम्भदेखि नै फैलिन थालेका थिए। व्यापारका क्रममा बनेको स्थायी बसोबासले कालान्तरमा उनीहरूलाई नेपाली समाजको अभिन्न अंग बनायो ।

व्यापार र सीपको पहिचान

पहाडी मुस्लिम समुदायको मुख्य परिचय व्यापार र हस्तकलासँग जोडिएको पाइन्छ। परम्परागत रूपमा उनीहरू चुरा, पोते, गरगहना, टीका तथा विभिन्न श्रृङ्गार सामग्री उत्पादन तथा बिक्री–वितरणमा संलग्न थिए । समुदायका ज्येष्ठ व्यक्तिहरूका अनुसार तनहुँको सम्जुर क्षेत्रमा विगतमा काँचका चुरा उत्पादन गर्ने भट्टिहरू सञ्चालनमा थिए। स्थानीयस्तरमै उत्पादन गरिएका चुराहरू विभिन्न जिल्लासम्म बिक्री हुने गर्थे । हाजी अब्दुल रजाँकका अनुसार उहाँको समयसम्म पनि सम्जुरमा चारवटा चुरा उत्पादन गर्ने भट्टी सक्रिय थिए ।
यिनै व्यवसायिक गतिविधिका कारण पहाडी मुस्लिम समुदायले नेपालको पहाडी अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याएको देखिन्छ। व्यापारिक मार्गहरूले नेपाल र तिब्बतबीचको आर्थिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्न पनि सहयोग पु¥याएका थिए।

बाइसे–चौबिसे राज्यकाल र मुस्लिम समुदाय

स्थानीय जनश्रुतिअनुसार बाइसे–चौबिसे राज्यकालमा मुस्लिम कारीगरहरूको सीपलाई राज्यले उपयोग गरेको थियो । हाजी अब्दुल रजाँकका अनुसार तत्कालीन शासकहरूले धातुजन्य सामग्री, हतियार तथा गरगहनाको निर्माणमा दक्ष मुस्लिम कारीगरहरूलाई विभिन्न कार्यमा संलग्न गराएका थिए ।
यद्यपि यी विषयमा थप ऐतिहासिक अनुसन्धान आवश्यक भए पनि समुदायभित्र यस्ता कथाहरू पुस्तौंदेखि सुनिँदै आएका छन् । यसले तत्कालीन समाजमा सीप र व्यवसायका आधारमा विभिन्न समुदायबीच अन्तरसम्बन्ध स्थापित भएको संकेत गर्छ ।

तिलोत्तमा रानी र सम्जुरको किंवदन्ती

तनहुँको सम्जुर क्षेत्रमा आज पनि एउटा रोचक जनश्रुति प्रचलित छ । समुदायका अग्रजहरूका अनुसार तत्कालीन तिलोत्तमा रानीलाई लामो समयसम्म सन्तान प्राप्त नभएको अवस्थामा मुस्लिम समुदायसँग मस्जिदमा गई अल्लाहसमक्ष दुआ-प्रार्थना) गर्न आग्रह गरिएको थियो ।
कथाअनुसार मुस्लिम समुदायले सामूहिक प्रार्थना गरेपछि रानीले सन्तान प्राप्त गर्नुभयो। त्यसपछि खुसी भएर रानीले सम्जुरस्थित ‘कुवाँ पानी’ नामक खेत मुस्लिम समुदायलाई बिर्ता स्वरूप प्रदान गर्नुभएको विश्वास गरिन्छ ।
यस्तै, सम्जुर माझगाउँस्थित जुम्मा मस्जिदको संरक्षणका लागि तत्कालीन शासकले सैनिक परिचालन गरी पर्खाल निर्माण गराएको कथन पनि स्थानीय समाजमा प्रचलित छ । यस्ता किंवदन्तीहरूले धार्मिक सहिष्णुता र पारस्परिक सम्मानको ऐतिहासिक संकेत दिन्छन् ।

धार्मिक आस्था र सामाजिक सद्भाव

पहाडी मुस्लिम समुदाय र स्थानीय हिन्दु समुदायबीचको सम्बन्ध परापूर्वकालदेखि नै सौहार्दपूर्ण रहेको स्थानीय बासिन्दाहरू बताउँछन् । दुवै समुदायबीच सामाजिक, आर्थिक तथा सांस्कृतिक सहकार्यको लामो इतिहास रहेको देखिन्छ ।
हाजी अब्दुल रजाँकले स्मरण गर्नुभएको अर्को घटना वि.सं. २०१७ सालसँग सम्बन्धित छ । अनावृष्टिका कारण खडेरी परेको बेला शेख मोहम्मद अलीको नेतृत्वमा मुस्लिम समुदायले वर्षाका लागि विशेष दुआ गरेको र त्यसपछि पानी परेको जनविश्वास आज पनि स्थानीय समाजमा सुनिने गर्छ । यस्ता घटनाहरूले धार्मिक विश्वास मात्र होइन, समुदायहरूबीचको सामाजिक निकटता पनि उजागर गर्छन् ।

काश्मिरदेखि तिब्बतसम्मको व्यापारिक सञ्जाल

समुदायका अर्का अग्रज हाजी सुल्तान मियाँका अनुसार काश्मिर हुँदै नेपाल प्रवेश गर्ने मुस्लिम व्यापारीहरू तिब्बतसम्म व्यापार गर्न जाने गर्थे। उहाँका अनुसार काठमाडौंस्थित काश्मिरी जामे मस्जिदले पनि नेपाल र काश्मिरबीचको ऐतिहासिक सम्बन्धको झल्को दिन्छ ।
व्यापारका यी मार्गहरूले केवल वस्तुको आदानप्रदान मात्र गरेनन्, संस्कृतिहरूबीचको संवादलाई पनि विस्तार गरे । यही संवादको परिणामस्वरूप पहाडी मुस्लिम समुदाय नेपाली समाजको अभिन्न हिस्सा बन्न सफल भएको देखिन्छ ।

तनहुँका पहाडी मुस्लिमहरूको वर्तमान

आज तनहुँ जिल्लाको सम्जुर, थाप्रेक, पुर्कोट, चोक, किहुँको हुक्का लगायतका विभिन्न स्थानहरूमा पहाडी मुस्लिम समुदायको बसोबास छ। उनीहरूले आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै स्थानीय समाजसँगको सहकार्यलाई निरन्तरता दिएका छन् ।
नेपाल हिन्दु अधिराज्य रहँदाको समयमा पनि समुदायले राज्यस्तरबाट कुनै उल्लेखनीय धार्मिक अवरोध भोग्न नपरेको अनुभव समुदायका ज्येष्ठ व्यक्तिहरू सुनाउँछन् । यसले नेपालको सामाजिक संरचनामा रहेको सहिष्णुता र सहअस्तित्वको परम्परालाई झल्काउँछ ।

निष्कर्ष

पहाडी मुस्लिम समुदायको इतिहास केवल एउटा धार्मिक समुदायको इतिहास मात्र होइन, यो नेपालमा व्यापार, सांस्कृतिक आदानप्रदान, सामाजिक सहअस्तित्व र परस्पर सम्मानको इतिहास पनि हो। यद्यपि यस समुदायका धेरै ऐतिहासिक पक्षहरू अझै मौखिक परम्परामा सीमित छन् । त्यसैले भविष्यमा अभिलेखीय अध्ययन, शैक्षिक अनुसन्धान र स्थानीय इतिहासको दस्तावेजीकरणमार्फत यस विरासतलाई थप स्पष्ट र व्यवस्थित रूपमा उजागर गर्न आवश्यक छ ।
नेपालको बहुसांस्कृतिक पहिचानलाई बुझ्न पहाडी मुस्लिम समुदायको इतिहासले महत्वपूर्ण दृष्टिकोण प्रदान गर्छ । तनहुँका पहाडी मुस्लिमहरूको यात्रा वास्तवमा सहअस्तित्व, श्रम, व्यापार र सामाजिक सद्भावको एक जीवित विरासत हो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker