विदेश छाडेर गाउँमै भैंसीपालन, उत्पादित दुध भन्सार र डुम्रे बजारमै खपत
डिपि अधिकारी/भानु

लामो समय बैदेशिक रोजगारीमा बिताएका तनहुँको भानु नगरपालिका-१ भन्सारका कृष्ण प्रसाद सापकोटा अहिले गाउँघरमै व्यवसायीक रुपमा भैंसीपालन गरी राम्रो आम्दानी लिन सफल भएका छन् । बैदेशिक रोजगारमा कमाई राम्रै भएपनि घरपरिवार, देशबाटै टाढा बस्नुपर्दा एक्लोपनले सताउँथ्यो। घरपरिवार भन्दा टाढा रहनुभन्दा आफ्नै गाउँठाउँमा केही गरौं भनि उनले बिगत तीन वर्षेखि भैंसीपालन व्यवसाय सुरु गरेको हुन् ।
‘वैदेशीक रोजगारीमा जाने मनस्थिति नभएपछि अब गाउँमै केही गर्छु भनि अगाडि बढे’, सापकोटाले भने, ‘साना-साना बालबच्चा, बुढ्यौली उमेरमा ढल्किएका बाबा-आमा र श्रीमतीलाई सम्भिmदा आफ्नै गाउँघर र्फकन मन लाग्यो । करिब साँढे २ वर्षअघि विदेश जाने बाटो मेटेर कुखुरा पालन व्यवसाय गरे ।’
‘३/४ महिना लगाएर करिब ७/८ लाखको लागतमा खोर निर्माण गरी पहिलो पटक करिब ११ सय ब्रोईलर कुखुराको चल्ला पालेको थिए’, उनले भने, ‘दाना, पानी, औषधीको तालमेल नमिलेकाले आम्दानी खासै राम्रो हुन सकेन । गरेको दुःख अनुसार आम्दानी भएन । कोरोना कहरको चपेटामा परेपछि कुखुरा पालन व्यवसायमा घाटा खानुपर्यो ।’
‘भदौ महिनामा लकडाउन हट्यो, परिस्थिति सामान्य तर्फमोडियो। परिस्थितिसँगै मन पनि मोडियो । नयाँ सोंच आयो, भैंसी पालन गरी दुध बिक्री गर्ने’, सापकोटले भने, ‘कुखुरा पालनका लागि बनाएको खोरलाई भैंसीगोठ बनाएर व्यवसायीक रुपमा भैंसी पाल्न थालेको छु ।’
करिब १८ लाख रुपैयाँको लगानि गरी भैंसीपालन व्यवसाय सुरु गरेका सापकोटाले दुध राम्रै उत्पादन भएपनि बजारीकरणको समस्या झेले । उनले भने, ‘भैंसीको दुधको बजार राम्रै छ भन्ने लागेर भैंसी खरिदका लागि तर्राई पुगे । राम्रो मुर्रा जातको भैंसी भारतबाट मगाउँदा भैंसीको मूल्य केही महँगो पर्यो ।’
‘अहिले गोठमा ८ वटा मुर्रा भैंसी, ६ वटा पाडापाडी र एउटा राँगो छ । भैंसी खरिदमा करिब ११ लाख, गोठ निर्माण, इनार खन्नमा गरी करिब १८ लाख लगानि भएको छ’, कृषक सापकोटाले भने, ‘अहिले दैनिक ६०/६५ लिटर दुध उत्पादन हुने गरेको छ । शुद्ध दुध बिक्रीका लागि बजारको अभाव नभएको र दुध बिक्रीका लागि कुनै समस्या नहुँदा आम्दानी पनि राम्रै भएको छ ।’
अहिले निषेधाज्ञामा कृषक सापकोटा बिहान-बेलुकी डुम्रे र भन्सार बजारमा दुध बिक्री वितरणका लागि पुग्ने गर्दछन् । प्रतिलिटर ११० रुपैंयामा दुध बिक्री हुने गरेको सापकोटा बताउँछन्। पानी मिसावट नगरेको दुध बिक्रीका लागि कुनै समस्या नहुने र उपभोक्ताले बरु केही रकम बढी तिर्न चाहन्छन् तर दुध शुद्ध हुनु पर्छ भन्ने गरेकाले आफुले उत्पादन गरेको दुध बजारीकरणमा केही समस्या नभएको सापकोटा बताउँछन् ।
‘भैंसी पालनबाट दुध बिकी मात्र नभइ गोबर मल बिक्री गरेर पनि आम्दानी लिन सकिने र आफ्नै खेतबारीमा प्रारङ्गरिक मल हाली राम्रो उब्जानी पनि लिन सकिन्छ’, सापकोटाले भने, ‘दुध बिक्रीबाट मासिक १ लाख ७० हजार रुपैयाँ भन्दा बढी आम्दानी लिदै आएको छु ।’ ‘पराल, दाना, चोकरमा करिब ६०/७० हजार रुपैयाँ खर्च हुने गरेको छ’, उनले भने, ‘घाँसमा आधारित भैंसी पालन गराउन सकेको खण्डमा पराल र दाना चोकरको खर्च घट्ने हुँदा आम्दानी राम्रो लिन सकिदो रहेछ।’
संगिता कृषि तथा पशु र्फम दर्ता गरी भैंसी पालन ब्यवसाय संचालन गरेका सापकोटालाई उनकी श्रीमती संगिता र बुबा-आमाले समेत सहयोग गर्दै आएका छन्। घरपरिवारकै सदस्यहरुले भैंसी दुहुनादेखि घाँस काट्ने, पराल, दाना, चोकर, कुँडो-पानी दिने र गोबर फाल्ने काममा सहयोग गरेका छन् । परिवारको साथ र सहयोग रहने हो भने जुनसुकै व्यावसाय गर्दा पनि राम्रै आम्दानी लिन सकिने सापकोटा बताउँछन्
व्यवसाय सञ्चालनका लागि केही रकम कृषि बिकास बैंकबाट ऋण लिएका सापकोटाले नगरपालिकाबाट पाउने अनुदानका लागि निवेदन दिएपनि कुनै सम्बोधन नभएको गुनासो गर्छन । सरकार तथा सरोकारवाला निकायबाट समेत आवश्यक सहयोग र साथ पाएमा व्यवसायलाई थप बढाउने र रोजगारीको वातावरण सृजना गर्ने योजनामा कृषक सापकोटा छन्।










