तनहुँको भिमादका कृषकले तीन करोड मूल्य बराबरको सुन्तला बेचे

तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु तीन करोड आम्दानी गरेका छन् । नगरपालिकाका चार वडाका कृषकले यस वर्ष सुन्तला बिक्री गरी रु दुई करोड ९० लाख आम्दानी गरेका हुन् ।

भिमाद–१, ५, ८ र ९ का किसानले दुई सय २२ टन सुन्तला बिक्री गरेका नगरपालिकाका कृषि सेवा शाखा प्रमुख कृष्ता महतोले जानकारी दिनुभयो । त्यसमध्ये वडा नं ८ अस्पादीबाट मात्रै रु एक करोड ५० लाखको सुन्तला बिक्री भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पादीका कृषकले एक सय ६६ टन सुन्तला बिक्री गर्नुभएको तथ्याङ्क छ । अन्य वडाको तुलनामा यो वडामा बढी सुन्तला उत्पादन हुने गर्दछ ।”

कृषि सेवा शाखा प्रमुख महतोका अनुसार चार वडालाई नगरपालिकाले पकेट क्षेत्रको रुपमा घोषणा गरेको छ । पकेट क्षेत्रका सुन्तला कृषकलाई नगरपालिकाले विभिन्न सामग्री सहयोग गर्दै आएको उहाँको भनाइ छ । पकेट क्षेत्रका वडाहरुमा एक सय ५० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरिएको छ ।

नगरपालिकाले चालु आव २०८०/८१ मा वडा नं ५ लाई पनि सुन्तला पकेट क्षेत्रको रुपमा विकास गरेको छ । यो वडाको मिछुर्लुङ क्षेत्र सुन्तला पकेट कार्यक्रममा ३३ जना कृषक आबद्ध छन् । उक्त समूहलाई यसै वर्ष सुन्तला खेती प्रवर्द्धनका लागि रु छ लाख सहयोग गरिएको कृषि अधिकृत हरिप्रसाद गैह्रेले जानकारी दिनुभयो ।

तनहुँमा यो वर्ष रु ३० करोड बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष रु २९ करोड बराबरको सुन्तला उत्पादन भएको थियो । प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ । सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित हुँदै गएका छन् ।

जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तला खेती कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।

कार्यालयका सूचना अधिकारी किरण परियारका अनुसार देवघाट–२ र ३, आँबुखैरेनी–५, म्याग्दे ४, व्यास–७, १३ र १४, भिमाद– ८ र ९, बन्दीपुर–३, ऋषिङ–३ र घिरिङमा सुन्तला खेती विस्तारको सम्भावना छ । तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका उहाँले बताउनुभयो ।

सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका साथै पोखरा, नारायणगढ लगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमाद लगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker