लमजुङमा ग्रामीण पर्यटनको विकास

लमजुङ गुरुङ जातिको उदगमस्थल हो । आदिम कालदेखि हिमाली भेगमा जीवनयापन गर्दै आएका स्थानीयको आफ्नै भेषभूषा, मौलिक कला, भाषा, संस्कार र संस्कृति छन । एउटै थलोमा सँगै भएर बस्न रुचाउने गुरुङ समुदायबीच एकता पनि छ। पहिले रोदी हुँदै सामूहिक एकतामा होमिएका गाउँले पछिल्लो समय आमा समूह, बाबा समूह, युवा क्लब भएर पर्यटन प्रवर्द्धन मार्फत गाउँको विकासमा जुटेका छन। क्व्होलासोथर गाउँपालिका-३ स्थित दक्षिण एशियाकै नमूना मानिएको घलेगाउँदेखि भुजुङ गाउँ लमजुङमै पर्दछ। यति मात्र नभई गुरुङ जातिको उदगमस्थल क्व्होलासोथरमै पर्दछ । क्व्होलासोथर शब्द पनि गुरुङ भाषाकै हो । क्व्होलासोथारको शाब्दिक अर्थ आदिम थलो हुन्छ । अर्थात गुरुङ र घले जातीहरुको त्यो क्षेत्र जस्तै घलेगाउँ, भुजुङगाउँ लगायतका भूगोल गुरुङ र घलेहरुको पुर्खाको थलो हो । ती गाउँबाट सुरु भएको सामूहिक एकता यतिबेला अन्य गाउँमा फैलिएको छ । समूहमार्फत सुरु भएको एकता अभियान पछिल्लो समयमा पर्यटन प्रवर्द्धनमा पनि जोडिएको छ । यसका लागि उनीहरु समिति नै स्थापना गर्दै अघि बढिरहेका छन ।

लमजुङको घलेगाउँबाट ग्रामीण पर्यटनको सुरुवात भएको थियो । र्सार्क राष्ट्रकै नमुना मानिएको घलेगाउँदेखि सुरु भएको ग्रामीण पर्यटनको अवधारणा अहिले एउटै गाउँपालिका भित्र पनि धेरै गाउँमा पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालनमा आएका छन । घलेगाउँबाट सुरु भएको होमस्टे अहिले भुजुङ, पसगाउँ, गाउँसहरको काउरेपानी हुँदै भुलभुले, घेर्मु, ताघ्रिङ, खुदी, बाहुनडाँडासम्म पुगेको छ। घलेगाउँ, भुजुङबाट सुरु भएको सामुहिक एकता अहिले अन्य गुरुङ गाउँहरूमा पनि फैलिएको छ । ग्रामीण पर्यटनको सम्भावना रहेका लमजुङको पर्यटकीय गाउँलाई व्यवस्थित गरी स्थानीयको आर्थिकस्तर मजबुत पार्न तालिम, बैठक, गोष्ठी जस्ता कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन। ग्रामीण पर्यटन विकासको लागि स्थानीयलाई पर्यटनमैत्री बन्न बनाउन त्यस क्षेत्रको जैविक, सांस्कृतिक, भाषा र परम्पराको संरक्षणमा जुटेका छन । पछिल्लो समय लमजुङका ग्रामीण क्षेत्रमा खुलेका होमस्टे आन्तरिक तथा बाहृय पर्यटकको आकर्षाको केन्द्र बनेका छन। गाउँमा स्थानीय परिकार, कला, संस्कृति, प्राकृतिक सौन्दर्य र स्वागत सत्कारले पर्यटक लोभिन थालेसँगै होमस्टेमा चहलपहल बढेको छ । घलेगाउँ, गाउँसहर, भुजुङ, पसगाउँ, सिउरुङ, खासुर, घनपोखरा, हिलेटक्सार, राइनासकोट, तार्कु, पुरानकोट, तुर्लुङकोट, पसगाउँ, इलमपोखरी, नाल्मा, छापा, म्रि्रा, भुस्मे, नरुवाल, पुमागाउँ, ताँजे, भलामचौर लगायतका गाउँहरुमा पर्यटकहरुलाई सुबिधा भएको छ ।
र्
पर्यटनको विकासले गाउँमा चेतना बढेको छ । अहिले होमस्टे सञ्चालनमा भएका गाउँहरुमा प्लास्टिक निषेधित क्षेत्र भएका छन् । पर्यटनको विकासका लागि स्थानीय कला र संस्कृतिको जगेर्ना गर्ने, सबै गाउँमा सामूहिक पाहुना घर बनाउने, संग्रालयको निर्माण गर्ने, गाउँका होमस्टेलाई कम्युनिटी होमस्टेमा लैजाने, गाउँमा अनिवार्य रुपमा धुवाँरहित चुल्हो निर्माण गरी पर्यटकहरुलाई आकर्षित गर्ने काम भएका छन्। अन्नपूर्ण पदमार्गमा जाने विदेशी तथा स्वदेशी पर्यटकहरु होमस्टे सञ्चालनमा आएका गाउँमा पुग्ने गरेका छन । विशेषगरी लमजुङका अधिकाशं गाउँहरुबाट अन्नपर्ूण्ा र मनास्लु हिमाललाई र्छलङ्ग नियाल्न सकिने ठाउँ भएकाले पर्यटकहरुको आकर्षण बढदो छ । पर्यटकीय गाउँहरुबाट मर्स्याङदी, खुदी, मिदिम लगायतका नदीनाला अवलोकन गर्न मात्र नभएर गुरुङ गाउँमा क्यानोनिङ र हनिहन्टिङको लागि पनि पर्यटकहरु पुग्ने गरेका छन ।

संघीय संरचनापछि लमजुङमा ४ नगरपालिका र ४ गाउँपालिकाको स्थानीय तह सबैमा ग्रामीण पर्यटकीय गाउँहरु छन। क्व्होलासोंथर गाउँपालिकामा घलेगाउँ, भुजुङ, पसगाउँ, सिङदी, मालिङ, गिलुङ लगायत गाउँमा पर्यटनको विकासका काम भएका छन । मर्स्याङ्दी गाउँपालिकाको घनपोखरा, सिउरुङ, ढगैं, मिप्रा, छापा, भुष्मे पर्यटकीय गाउँ हुन । दूधपोखरी गाउँपालिकाको इलमपोखरी पर्यटकीय क्षेत्र पर्दछ। दोर्दी गाउँपालिकाको हिलेटक्सार, दुबार सिमी, ताजे पर्यटकीय गाउँ हुन । होमस्टे सञ्चालन गर्नेले पर्यटकहरुलाई स्वागतसत्कार गरी खाना बस्न दिएर आम्दानी गरेका छन । गाउँमा होमस्टे नभएका घरहरुले कृषि कर्म गरेर आम्दानी लिएका छन ।

क्व्होलासोथर गाउँपालिका-४ भुजुङ गाउँमा करिब पाँच सय घरधुरी गुचमुच्च भएर रहेका छन । भुजुङ गाउँमा वि.सं. २०६४ बाट घरबास सञ्चालनमा आएको हो । अहिले ३२ घरवास सञ्चालनमा छन । त्यस्तै केही होटलसमेत सञ्चालनमा छन । पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ समय समयमा भुजुङमा मेला तथा महोत्सव हुँदै आएका छन । महोत्सव र पर्वले भुजुङको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्दै आएको छ । भुजुङ गाउँबाट छिमेकी जिल्ला कास्कीका गुरुङ गाउँ सिक्लेस तथा ताङतिङ पनि जान सकिन्छ ।

यस्तै, मर्स्याङदी गाउँपालिका-३ सिउरुङ गाउँ मनास्लु हिमालको काखमा पर्दछ । सिउरुङ गाउँबाट मर्स्याङदी नदीको नागबेली देख्न सकिन्छ । सिउरुङ नजिकै राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईबस्तु चराएको हर्षिङडाँडा पछिल्लो समयमा पर्यटकीय गन्तव्य बन्दै गएको छ । गुरुङहरुको बाहुल्यता रहेको पसगाउँमा २१ घरमा होमस्टे छ । लमजुङ हिमालको काखमा रहेको पसगाउँ पर्यटकीय सम्भावना बोकेको गाउँ हो । ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर । ढुङ्गा नै बिछयाएर बनाइएका बाटो । पसगाउँको सिङ्गो गाउँनै सफा र सुन्दर देखिन्छ । पसगाउँको मौलिक संस्कृति कृष्ण चरित्र नृत्य, झ्याउरे नाच, सारंगी नृत्य, घाटुजस्ता लोपोन्मुख नृत्यले पर्यटकहरु रमाउँछन । क्होलासोंथर गाउँपालिका-६ मा पर्ने पसगाउँ अहिले होमस्टेका कारण आन्तरिक तथा बाहृय पर्यटकहरु पुग्ने गर्दछन। समुन्द्री सतहबाट १ हजार ६५० मिटरको उचाइमा रहेको पसगाउँमा १५० घरधुरी छन । लमजुङको पश्चिम-उत्तर भेगमा रहेको पसगाउँमा सदरमुकाम बेंशीसहर र पोखराबाट बस र जीपबाट पुग्न सकिन्छ । गाउँ पुगेपछि मनमोहक प्राकृतिक छटा र गुरुङ संस्कृति, संस्कार र आतिथ्यताले पर्यटकहरु प्रफुल्ल हुने गर्दछन । लमजुङमा दर्जनभन्दा बढी गाउँ घुम्न दैनिक पर्यटक पुग्दछन । प्रत्येक वर्ष लमजुङमा ग्रामीण क्षेत्रमा पुग्ने पर्यटकहरुको संख्या बढदो छ । शहर बजारको कोलाहलबाट स्वच्छ हावापानी खोज्दै प्रकृति र संस्कृतिको अवलोकन गर्न पर्यटकहरु ग्रामीण क्षेत्रमा पुग्दछन ।

वि.सं २०५७ मा घलेगाउँमा पहिलो पटक महोत्सवको सुरुआत गर्दै होमस्टे सञ्चालनमा आएको घलेगाउँबाट सुरु भएको लमजुङको ग्रामीण पर्यटनको अवधारणा पछिल्लो समयमा अन्य समुदायका गाउँमा समेत फैलिएको छ । घलेगाउँसहित भुजुङ, सिउरुङ, पसगाउँ, घनपोखरा, खासुर, राइनासकोट, इलामपोखरी, ताजे, माजगाउँ, काउलेपानी, नाल्मा, छापामिम्प्रा, दुरागाउँ, भुस्मे, घेर्मु लगायतका गाउँमा ग्रामीण पर्यटन विस्तार भएको छ । प्रत्येक गाउँमा स्थानीय पर्यटन समिति गठन गरेर आफ्नो गाउँमा पर्यटक तान्न जुर्मुराएका छन। विषेश गरी लमजुङ, डा हर्क पिक, मनास्लु हिमाललाई छर्लङ्ग देख्न तथा नियाल्न सकिने ठाउँ रहेकाले पर्यटकहरु आकर्षण हुने गर्दछन । चक्रिय अन्नपूर्ण पदमार्गको प्रवेशद्वारमा पर्ने लमजुङका सबै गुरुङ गाउँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएका छन । लमजुङमा ग्रामीण पर्यटनको अवधारणा पनि गुरुङहरुबाटै सुरु भएको हो । घलेगाउँ र्सार्क राष्ट्रकै नमूना गाउँका रुपमा प्रख्यात छ । जुन समुद्री सतहदेखि दुइ हजार एक सय मिटर उचाइमा अवस्थित छ । पर्यटन क्षेत्रबाट राम्रो आम्दानी हुँदा घलेगाउँको स्वरुपसमेत बदलिएको छ । घलेगाउँमा यतिबेला ४४ घरमा घरबास अर्थात होमस्टे सेवा सञ्चालन छ । पर्यटन व्यवसाय विस्तारै सफल बन्दै गएपछि केही विदेशीका युवासमेत गाउँमै फर्किएर पर्यटन व्यवसायमा लागेका छन । घलेगाउँमा सुरुवातदेखि हालसम्म वर्षेनी पर्यटन महोत्सव समेत हुँदै आएको छ। घलेगाउँ गुरुङ चलचित्रको छायाँकनस्थल समेत बनेको छ । घलेगाउँ सुखी गाउँसमेत घोषणा भइसकेको छ ।

लमजुङको पर्यटकीय ठाउँमा विस्तारै पर्यटन पूर्वाधारको विकास भइरहेको छ । विषेश गरी प्राकृतिक छटा र स्थानीयको कला संस्कार संस्कृति हेर्न पर्यटकहरु लमजुङ पुग्ने गर्दछन । पर्यटकहरु गाउँमा पुग्दा ग्रामीण पर्यटनको प्रवर्द्धन हुनुका साथै स्थानीयको जीवनस्तरसमेत उकासिएको छ । कला, संस्कार, संस्कृति र रहनसहनसँगै लमजुङका विभिन्न ठाउँमा होमस्टेको व्यापार बढदै गएको छ । लमजुङका सबै गुरुङ गाउँ पर्यटकीय गाउँका रुपमा विकसित भइसकेका छन। तर, सबै पर्यटकीय स्थलमा खोलिएका होमस्टे गुरुङ गाउँमा मात्र छैनन् । लमजुङमा खुलेका होमस्टेमा प्रायः गुरुङ जातिको बाहुल्य छ । तर, पछिल्लो समय गुरुङ जातिसँगै अन्य समुदाय पनि होमस्टे सञ्चालनमा आकर्षित हुन थालेका छन । आन्तरिक पर्यटकले ग्रामीण क्षेत्रका होमस्टे रोज्न थालेपछि गाउँमा आकर्षण बढेको हो । करिब एक हजार पाँच सय मिटर उचाइमा रहेको मर्स्याङदी गाउँपालिकामा रहेको भुस्मे गाउँमा खोलिएको तामाङ होमस्टेमा पनि पर्यटकको आकर्षण बढेको छ । बेंसीसहर नगरपालिकाको काउलेपानी, खासुर, पुरानकोट, नरुवल पर्यटकीय गाउँ हुन । स्याउतको सुन्तलाबारीमा सुन्तला होमस्टे पनि छ । राइनास नगरपालिकाको राइनासकोट, सुन्दरबजार नगरपालिकाको तार्कुगहते, तुर्लुङकोट साथै मध्यनेपाल नगरपालिकाको करापू पछिल्लो समय पर्यटकीय गाउँमा बिकास भएका छन ।

ग्रामीण पर्यटन भनेको स्थानीय समुदायको कला, संस्कृति, भेषभुषा, भाषा, धर्म, रीतिरिवाज, चालचलन तथा त्यस समुदायहरू बस्ने स्थलबाट अवलोकन गर्न सक्ने प्राकृतिक दृश्यावलोकनको माध्यमबाट त्यस ठाउँको प्रचारप्रसार तथा आयआर्जन हुने बिकास नै ग्रामीण पर्यटन हो । पर्यटन भनेको आँफैमा बृहत क्षेत्र हो । भूगोल, मानिस, इतिहास, समुदाय, संस्कृति, विकास आदि धेरै विषयहरु पर्यटनभित्र पर्दछन । ग्रामीण पर्यटन पर्यटनभित्रको एउटा विशिष्ट र मौलिक विषयसँग सम्बन्धित विधा हो । ग्रामीण समुदायको मौलिक जीवन पद्धतीका बहुआयामिक पाटोहरुलाई जोडेर अध्ययन/अवलोकन र मनोरञ्जनको पक्षलाई विकास गर्दै त्यसैलाई आधारित बनाएर पर्यटन व्यवसायको विकास गर्नु नै ग्रामीण पर्यटन हो । ग्रामीण पर्यटनको विकासमा मुख्य भूमिका निर्वाह गर्ने हिंस्सा भनेको समुदाय नै हो। संघीय संरचनाको विकाससँगै समुदायसँग प्रत्यक्ष जोडिएका स्थानीय सरकारहरुले नीति निर्माण, योजना निर्माण, योजनाको कार्यान्वयन र समुदायमा सहजीकरणको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन । धर्म संस्कृति अन्तर्गत चाडपर्वहरुको संरक्षण र प्रवर्द्धन, मठ मन्दिर, गुम्बाको संरक्षण विकासमा स्थानीय सरकारहरुले समुदायसँग सहकार्य गर्न सक्छन । त्यस्तै स्थानीय सरकारहरुले स्थानीय वातावरणमा हुँदै आएका कृषि, पशु, जडिबुटी आदी जस्ता उत्पादनहरुको समयानुकुल स्तरोन्नती गरेर संरक्षण गरी ग्रामीण मौलिक जीवनपद्धतीलाई कायमै राखी समयानुकुल आवश्यकता हल हुनसक्ने प्रविधिलाई त्यसमा जोडन सक्छन । यसको लागि परम्परा र उत्पादनमाथि स्थानीय सरकार र समुदायले सहकार्य गरी अनुसन्धान गरेर समयानुकुल योजना निर्माण गरी विकास गर्न पर्दछ ।

लमजुङमा धेरै प्राकृतिक रुपमा सजिएका पर्यटकका लागि गन्तब्य छन् । प्राकृतिक रुपमा रहेका पर्यटकीय गन्तव्य निर्माण गर्न मानवीय श्रम र रकम खर्च गर्न परेको छैन । ती क्षेत्रमा पर्यटक पुर्‍याउन पूर्वाधार निर्माण भए मात्र पुग्छ। तर धेरै ठाउँमा पर्यटकहरुलाई आकर्षा गर्न भने पर्यटकलाई तान्न सक्ने स्थलहरु निर्माण गर्न पर्दछ । शहरी क्षेत्रमा बढ्दो जनघनत्वका फलस्वरुप सुस्ताउने, थकान मेटाउने र सामान्य रमाइलो गर्ने सार्वजनिक स्थलको कमि हुँदै गएको छ । जुन कारणले आजभोली घुमफिरका लागि पर्यटकहरुले ग्रामीण क्षेत्र रोज्ने गर्दछन । गाउँमा घुम्दा मध्यमवर्गीय परिवारका लागि होटलभन्दा होमस्टेको बसाइ सहज हुन्छ । लोकल कुखुरा, ढिंडो लगायत परिकार होमस्टेको विशेषता भएकाले रैथाने कृषि उपजको प्रवर्द्धन हुन्छ । मौलिकता र मौलिक संस्कृति जोगाउँदै जीविकोपार्जन गर्ने आधारका रुपमा रहेको होमस्टेले गर्दा गाउँघरमा पर्यटकहरु पुग्ने गर्दछन । गाउँमा होमस्टेले न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई आकर्षित गरेको छ । तुलनात्मक रुपमा कम रुपैयाँमा स्थानीय समुदायको न्यानो आतिथ्यता ग्रहण गर्दै स्थानीय अर्गानिक खानपानको मजा लिँदै उनीहरुको संस्कृति, रहनसहन, जीवनशैलीको अवलोकन गर्दै घुमघाम गर्ने अवसर होमस्टेले दिएको छ ।

अब लमजुङका सम्भावना बोकेका गाउँहरुलाई प्राकृतिक, सांस्कृतिक, मानव निर्मित र मिश्रतिका आधारमा पर्यटन गाउँ बनाउन पर्दछ। तर गाउँमा पर्यटकहरु जानको लागि पूर्वाधारको बिकास हुनु पर्दछ । गाउँको सरसफाई, स्वास्थ्य चौकी र सुरक्षा हुनु पर्दछ । गाउँघरमा कृषि क्षेत्रमा उत्पादन बढाउन पर्दछ। गाउँमा पुग्ने पर्यटकहरुलाई उत्पादित बस्तुहरु बिक्री गर्न सकियोस तब मात्र गाउँमा पनि पर्यटनको विकास हुन्छ । पर्यटकहरुले आफु पुगेको गाउँठाउँबाट केही न केही चिनो स्वरुप बस्तुहरु घरमा लैजान चाहन्छन । पर्यटनको विकास गर्नको लागि स्थानिय बासिन्दाहरुमा कला र शिपको विकास हुन जरुरी छ । जुन शिपबाट उत्पादन भएका बस्तु पर्यटकहरुलाई किनु किनु हुन सकोस र गाउँलेहरुलाई आय आर्जन हुन सकोस, गाउँमा उत्पादन भएका वस्तुले गाउँठाउलाई चिनाउन सकोस। उनिहरुले उत्पादन गरेका बस्तुहरु पर्यटकहरुले किन्न सकुन। अनिमात्र हुन्छ गाउँमा पर्यटनको विकास ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker