विश्व मजदुर दिवस भित्रका कुरा

विश्व श्रमिक दिवस मे १ अर्थात मजदुर दिवसलाई विश्वभर मनाइन्छ । सिकागोको हेमाक्रेटामा सन् १८८६ को नरसंहारमा मारिएका मजदुर र आममानिसको सम्झनामा यस दिनलाई मजदुर दिवसको रुपमा मनाइने गरिएको हो । अन्तराष्ट्रिय श्रम संगठनको स्थापना हुनुअघि मजदुरलाई वस्तुको रुपमा हेरिन्थ्यो । त्यतिबेला कमभन्दा कम तलब दिइन्थ्यो । श्रमको ज्याला अर्थात तलब दिने प्रचलन १९औं शताब्दीपछि सुरु भएको हो । त्यो बेला मजदुरसँग आश्रति परिवारलाई बेवास्ता गरिन्थ्यो । एउटा वर्गले अर्को वर्ग माथी शोषण गर्ने गरिन्थो । सन् १९१९ मा अन्तराष्ट्रिय श्रम संगठनको स्थापना भयो ।

विश्वका धेरै मुलुक आर्थिक समृद्धितर्फ लागेपछि श्रम क्षेत्र विस्तार हुँदै गयो। श्रमबजारमा श्रमिकको माग बढ्दै गयो। नेपाल सन् १९६६ देखि नै औपचारिक रुपमा आइएलएलोसँग आबद्ध छ । श्रम गरी आफ्नो जीविकोपार्जन गर्ने हरेक व्यक्ति श्रमिक हुन्।

नेपालको संविधानले व्याख्या गरेअनुसार श्रमिक भन्नाले पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदुर सम्झनु पर्दछ। नेपालको सन्दर्भमा श्रम बहसको इतिहास त्यति लामो छैन । वि.सं. १९१० सालको ऐन बन्नु भन्दा पहिले हिन्दु शास्त्रसम्मत नियम थियो । त्यतिबेला खेतीपाती, पशुपालन गर्ने नोकर हुन्थे । उनीहरुलाई तलब दिँदा जिन्सी अर्थात अनपात दिने चलन थियो । सन् १९१७ पछि एसिया र अफ्रिकामा मे दिवस मनाउन थालिएको हो । नेपालमा सन १९४७ अर्थात वि.सं. २००३ साल फागुन ३ गते नेपालमा पनि मजदुर आन्दोलनको सुरु भयो। त्यहीबाट नेपालमा मजदुर आन्दोलन सुरु भएको थियो । नेपालमा पहिलो उद्योग विराटनगर जुट मिल राणा शासनको समयमा वि.सं. १९९३ मा स्थापना भएको थियो । जुट मिल भारतीय नागरिक राधारमण चिमोरियाले स्थापना गरेका थिए । जुन आनदोलनको अगुवाइ स्व. गिरिजा प्रसाद कोइरालाले गर्नु भएको थियो । त्यस वेला गिरिजा प्रसाद मजदुरको नेता हुनुहुन्थो ।

अन्तराष्ट्रिय मजदुर दिवसमा मजदुरहरुको हक अधिकारको वकालत गर्दै विश्वभर यो दिवस मनाइदै आएको छ । अमेरिकाको शिकागोमा आन्दोलनको क्रममा पक्राउ परेका ८ जना मजदुर नेताको सस्मरणमा यो दिवस मनाउन थालिएको हो। १७औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।

नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको थियो । तर २०६४ सालदेखि अन्तराष्ट्रिय मजदुर दिवसको दिन सरकारले आधिकारिक रुपमा सार्वजनिक विदा दिन थालेको थियो । विश्वमा अहिलेसम्म धेरै पटक ठूला औद्योगिक क्रान्ति भएका छन । मजदुरहरुको अधिकारलाई सुनिश्चित वनाउन संघ/संगठन र युनियन खुल्दै गएका छन । तर यसरी खोलिएका संस्थाहरुले मजदुरको पक्षमा भन्दा पनि राजनैतिक दलहरुको नजिक रहेर वकालत गर्नेकाम भएको आरोप पनि मजदुरहरुको छ । संसारमा श्रंमको लगानी विना कुनै काम हुँदैन । त्यसैले श्रंमलाई मानव जीवनको आधारभूत सर्त बनेको छ, बाँच्न र विकास गर्न । कुनै पनि देशका जनता कत्तिको समृद्ध र विकसित छ भन्ने कुरा त्यस देशमा भएको औद्योगिकरण र त्यसमा आश्रीत मजदुरको जीवनस्तरले निर्धारण गर्दछ ।

संसारमा अहिले विकसित मुलुकमा ठूला-ठूला उद्योग र कलकारखाना खुलेका छन । त्यहाँ काम गर्ने भनेकै श्रमिकहरु हुन । श्रमको मूल्य पाउनका लागि विश्वमा मजदुरहरुले धेरै क्रान्ति गर्दै आएको इतिहास पनि हाम्रो सामु छ । नेपालको बारेमा मजदुरको अवस्थालाई फर्केर हेर्दा के देखिन्छ भने औद्योगिक क्षेत्रमा सुरुमा नै विदेशिहरुको लगानी भएको छ । मजदुरहरु प्रति लक्षित भएर बनाउन पर्ने श्रम ऐन बन्न सकेका छैनन् । मजदुरहरुको दिवसको दिन आस्वासन दिने काम बाहेक राज्यले अहिलेसम्म केही गर्न सकेको छैन । औद्योगिक नीति स्पष्ट नहुँदा ठूलालगानीमा उद्योग खुल्न सकेका छैनन । केही ठूला उद्योग विदेशी लगानीमा खुलेपनि त्यहाँ काम गर्ने मजदुरहरुको आवाजलाई लगानिकर्ताहरुले सुन्ने गरेका छैनन् । श्रमको मूल्य यथोचित पाउन नसकेपछि लाखौको संख्यामा श्रमिक युवाहरु विदेशिने क्रम बढेको छ । यसमा चासो राज्यले देखाएको छैन । तर पनि मजदुरहरुले आफ्नो दिवस मनाइ रहेका छन । मे दिवसले संसारभरका मजदुरहरुलाई चेतना दिलाएको छ । आफ्नो अधिकारको लागि विश्वभरका करोडौ मजदुरहरले मजदुर एकतामा जोड दिदै आएका छन । तर व्यवहारमा राजनैतिक दलहरुले मजदुरहरुको एकता हुनेक्रमलाई विचारमा वर्गीकरण गरी श्रमिकहरुलाई आफ्नो दलको भातृ संगठनको रुपमा परिणत गरी मजदुरको हकहित भन्दा पनि राजनैतिक विचारमा लगेर उनिहरुको आवाजलाई छाँयामा पारिदिएका छन ।

नेपालमा मजदुरहरुको स्थिति हिजोको भन्दा आज केही राम्रो देखिएको छ । केही ठूला उद्योग र कलकारखानाले सरकारले तोकेको श्रमको ज्याला र सुविधा प्रदान गरेपनि साना उद्योग र व्यवसायमा कामगर्ने मजदुरहरको अवस्था भने उस्तै छ। उनिहरुको पारिश्रमिक सरकारले तोकेअनुसार हुँदैन । युनियनहरु राजनैतिक भातृसंगठनको रुपमा काम गर्ने हुँदा उनिहरुको आवाज सुनिदिने कोही छैनन। यस्ता श्रमिकहरुलाई श्रमऐनको बारेमा केही थाहा छैन । थोरै ज्यालामा दिनरात काममा लागि रहन पर्ने उनिहरुको बाध्यता नै बनेको छ । राजनैतिक अस्थिरताको कारण नेपालमा बन्द, हडताल जस्ता क्रियाकलावले पनि उद्योग र कलकारखानालाई असर पुर्‍याएको छ। जुनसुकै कारणले भएपनि व्यवसायलाई असर पुर्‍याउनु भनेको मजदुरलाईनै असर पुर्‍याउनु हो । यस तर्फनि राजनैतिक दलहरुको दृष्टि पुग्न सकेको छैन । आज देशमा जुनसुकै विरोध कार्यक्रम किन नहोस सबैले बन्द कार्यक्रमलाई नै अगाडी सार्ने परिपाटीको विकास भएको छ । राजनैतिकदलहरुको मात्र होइन विभिन्न दलका भातृसंगठन र स्वयं मजदुरहरुले पनि आफ्नो विरोध कार्यक्रम ल्याउदा बन्दलाई नै मुख्य एजेण्डा बनाएका हुन्छन । जुन कार्यक्रमले स्वयं उनिहरुलाई नै हानी गराउछ। यस्तो चेतना कस्ले दिने – मजदुर दिवस मनाउने श्रमिकहरुले यो पनि सोच्न पर्ने अवस्था आएको छ ।

विश्वका मजदुरहरु एक हौं नारा जति सुन्दर र आकर्षक छ त्यसको ठीक भिन्न र विपरित छ नेपाली मजदुरहरुको नारा । परिवर्तित समय र अवस्थामा उनीहरुको नारा एकजुट भन्दापनि टुटफूट र गुट उपगुटमा सिमित बन्दै गएको छ । विश्वभरका मजदुरहरुले विभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाइरहेको भएपनि नेपाली सन्दर्भमा भने केही फरक छ । नारामा दिएजस्तो मजदुरहरु एकजुट हुने भन्दा पनि नेपाली मजदुरहरु त्यसको ठिक विपरित आफू-आफूमा कुटपिट, मारपिट, एकले अर्कोको अपहरण, मजदुरमाथि नै असभ्य शैलीमा मात्र हैन, श्रम शोषणमा समेत अग्रसर हुन थालेका छन । समग्रमा कारखानामा मजदुरहरु नेता र मालिक गैरजिम्मेवार बन्ने प्रवृत्ति हावी बन्दै गएको छ। उनीहरुको काम मुल पार्टीका माउ नेताको विचारमा कित्ताकाट हुने, पक्ष र विपक्षी खेमाको बहस चलाउने काम भएको छ। मजदुरहरुका नेता र मालिकहरु गैरजिम्मेवार बन्ने प्रवृत्तिका कारण औद्योगिक क्षेत्रहरु दिनप्रतिदिन तहसनहस हुँदै गएको छ । अझ स्पष्ट शब्दमा भन्नुपर्दा पछिल्ला दिनमा केही मजदुर संगठनहरु मजदुरको मागभन्दा पार्टीको माग बोक्ने, आफ्ना मागलाई भन्दा राजनीतिक दलका मागलाई मुख्य प्राथमिकतामा राख्ने, माउ पार्टीका मागलाई लिएर बन्द हडताल र गैरजिम्मेवारपूर्ण क्रियाकलापमा अग्रसर हुने जस्ता कामलाई मुख्य प्राथमिकता दिएका छन । जसको परिणामत उनीहरु आफैमा गुटउपगुटमा सिमित मात्र भएका छैनन् आफ्नै मागलाई समेत कमजोर बनाएका छन ।

जसका कारण मजदुर वर्गलाई धेरैले आलोचनाका दृष्टिले समेत हेर्ने वातावरण उनीहरु आफैले सिर्जना गरेका छन । अझ महत्वपूर्ण कुरा त एउटै माउ पार्टीका मजदुरहरु एक आपसमा भिडन्त गर्छन त्यो पनि मजदुरको हक हित र मागमा नभई माउ पार्टीको सिद्धान्त र विचारका लागि । अहिले सम्मको परिणाम र तथ्याङ्क केलाउने हो भने हाल नेपालमा सम्पूर्ण राजनीतिक दलले आफ्नो भातृ संगठनका रुपमा मजदुर संगठन विस्तारलाई निरन्तरता दिएका छन। अर्को शब्दमा भन्नुपर्दा मजदुरहरु राजनीतिक दलका सत्ता परिवर्तनका भर्‍याङ बनेका छन। संसारलाई हेर्ने हो भने आज औद्योगिक कलकारखानाको लागि अत्याधुनि मेशिन बनेका छन । जुन मेशिनले हजारौ श्रमिकको काम एकैघण्टामा गर्न सक्दछ । विकसित मुलुकलाई छाडेर हेर्ने हो भने यसले पनि श्रम गर्ने मजदुरहरुलाई चुनौती दिएको छ। अर्कोतिर श्रमको समान ज्याला छैन । हाम्रो जस्तो औद्योगिक रुपले पछाडि परेको मुलुकमा महिला र पुरुष विचमा श्रंमको मुल्य असमान छ । एउटै काम गर्ने श्रमिकहरुमा पनि यसरी श्रमको मूल्यमा विवेध हुँदै आउदा पनि अहिलेसम्म श्रमको ज्यालामा समायोजन हुन सकेको छैन । यो मजदुर दिवसले यस्ता नमिल्दा कुराहरुलाई समायोजन गर्ने आवाज निकाल्नु पर्दछ।

तर हामीकहाँ राजनैतिक दलहरुको दिशानिर्देशबाट चल्ने मजदुरहरुको संघ/संगठनले वास्तविक मजदुरहरुको हकहितको बारेमा आवाज उठाउन सकिराखेको छैनन् । दिवसको बेलामा नाराको रुपमा आवाज आएपनि त्यो आवाज औपचारिकतामा सिमित भएको देखिन्छ । राजनैतिक अस्थिरता, व्यापारीहरुवाट लिइने चन्दा र स्वदेशि उत्पादनको कमिले अहिले देशमा महगीले सबैलाई आतंकित बनाएको छ। महगीको चपेटामा सबैभन्दा पहिला मजदुर लाइनै छोएको हुन्छ। श्रमको ज्यालाले उ र उसंग आश्रीत परिवारको लालन पालन गर्न मजुरहरुलाई पुग्ने अवस्था छैन । कतिपय मजदुरहरुको ज्याला मात्र होइन कामको कुनै ग्यारेन्टी छैन । ठूला कलकारखानामा समेत बिना नियूक्ति काममा लगाइएको छ । काम छाडेको दिन उसको दिनचर्चा सडकमा हुन्छ । कतिपय कलकारखानामा काम गर्दा मजदुरहरुले आफ्नो अंग गुमाएका छन । हातखुट्टा र अंगभंग भएकै कारण उ सदाको लागि अपांग बन्दछ। उसको कुनै जीवन विमा हुँदैन । यस्तावर्गमा पर्ने मजदुरहरुको अवाज कस्ले सुनिदिने ? यस्को जवाफ कस्ले दिने ?

नेपालको राज्यव्यवस्था परिवर्तनको लागि ठूलठूला व्रि्रोहमा मजदुर वर्गले केन्द्रीय भूमिका निर्वाह गरेका छन । जस्तै बिराटनगर जुटमिल आन्दोलनदेखि २०४६ सालको जनआन्दोलन, २०५२ देखि माओवादीले सञ्चालन गरेको १० वर्ष लामो सशस्त्र जनयुद्ध, २०६२ र ०६३ को दोस्रो जनआन्दोलन हुँदै गणतन्त्र नेपालसम्म आइपुग्दा सबैखाले संघर्ष र आन्दोलनमा मजदुर वर्ग निर्णायक शक्ति बनेका छन । तर उनीहरुको वृत्तिविकास र जीवनशैली जहाँको त्यहीँ रहेको छ । मजदुरहरुको हकहितको लागि खोलिएका पार्टीपिच्छे संगठनहरु कोही पार्टीका गोटी मात्रै भएका छन् भने कतिपय ट्रेड युनियनहरु मजदुर वर्गको मुद्दा उठाउने नाममा एनजिओ आइएनजिओ बनेर आर्थिक लाभ लिनतिर लागेका छन ।

ट्रेड युनियनहरुमा एनजिओ आइएनजिओको समेत ठूलो लगानी भएको छ । मजदुरको नाममा ठूलो व्यापार भएको छ । सामन्तवाद र पुँजीवादको चक्रव्युहमा फसेर अन्ततः मजदुर वर्गको क्रान्तिकारी चरित्रको हत्यासमेत हुने गरेको छ । नेपालको सन्दर्भमा श्रम ऐन २०७४ लागु भएको छ । श्रम ऐनमा उल्लेखित विषयहरु उचित पारिश्रमिक, श्रमको समयमा भुक्तानी, स्वास्थ्य दुर्घटना बिमा, सामाजिक सुरक्षा भत्ता, ऐनमा तोकेबराबरको काम गर्ने अवधिलगायत सबै कुरा उल्लेख छ । तर ब्यवहारमा भने लागु भएको छैन भन्दा पनि हुन्छ । संविधान २०७२ धारा ३४ को श्रमसम्बन्धि हक प्रभावकारी रुपमा कार्यान्वयन हुन सकिरहेको छैन ।

संविधानले नेपाललाई समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था भएको देश उल्लेख गरेको छ । तर संविधानको कार्यन्वयनको अभावमा श्रमिक मजदुर वर्गको प्रमुख समस्या चुनौती भनेको न्युनतम पारिश्रमिक र सामाजिक सुरक्षाको अभाव बनेको छ । नेपालमा व्याप्त कमिशनतन्त्र, भ्रष्टाचार, कालोबजारी तथा श्रम शोषण जस्ता कुरितिको अन्त्य नभएसम्म श्रमिक वर्गको उत्थान हुन सक्दैन । विशेषगरी र्सार्वजनिक निर्माण क्षेत्रमा कार्यरत मजदुरहरुको हकमा हेर्दा ठेकेदार मार्फ्त मात्र काम पाउने स्थिति छ । च्याउ उम्रे सरी बग्रेल्ती ठेकेदार र ठेक्का एउटाले लिने अनि विभिन्न पेटी ठेकेदार मार्फत काम गराउने, ठेक्का लिनेले मजदुर नचिन्ने र मजदुरले ठेकेदार नचिन्ने अवस्था छ । ज्यालामा शोषण छ । राज्यपक्षको ठेकेदारसँग व्यापक मिलेमतो हुन्छ र मजदुरको कुनै मतलव र दायित्व राज्यलाई छैन । श्रम ऐनमा भएका प्रावधानले यस्ता मजदुरलाई व्यावहारिक रुपमा समेटन सकेको छैन। अन्तराष्ट्रिय श्रमिक दिवसको शुभकामना ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker