तनहुँको निषेधाज्ञा : व्यवसाय ७, होटल ९ बजेसम्म र पार्टीप्यालेस पनि खुल्ने

भञ्ज्याङ न्यूज

जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा खुकुलो बनाउँदै भदौ ३१ गतेसम्मलाई लम्ब्याएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबार बसेको बैठकले कोभिड-१९ को जोखिम अझै कम नभएको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा अवधि बढाउने सिफारिस गरेको थियो ।

कोभिड-१९ व्यवस्थापन सम्बन्धमा व्यवस्था बनेको अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र संक्रमण रोग ऐन, २०२० को दफाले दिएको अधिकार प्रयोग गरी यसअघि जारी गरिएको निषेधाज्ञालाई निरन्तरता दिँदै थप १० दिन निषेधाज्ञा बढाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी गराए ।

कोभिड-१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि-२०७८ मा उल्लिखित सूचक अनुसार जोखिमको स्कोरिङ गर्न सकिने अवस्था देखिएमा स्वास्थ्य प्रोटोकलको पूर्णपालन गरी २५ जनाभन्दा नबढ्ने गरी न्यूनतम सहभागितामा तालिम तथा प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्न गराउन सकिने छ ।

पार्टी प्यालेसको हकमा स्वास्थ्य प्रोटेकलको पूर्णपालना गरी कूल क्षमताको ५० प्रतिशत मा नबढ्ने गरी बेलुका ६ बजेभित्र मात्र सञ्चालन गर्ने गराउने, रेस्टुरेन्ट बेलुका ९ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सञ्चालन गर्न गराउन अनुमति प्रदान गरिएको छ । अन्य सञ्चालन गर्न अनुमति दिइएका सेवा तथा व्यवसाय बेलुका ७ बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिइएको छ।

सवारी साधानहरुले सिट क्षमताभित्र रही अनिवार्यरूपमा सबै यात्रीले मास्क लगाउने, चालक, सहचालकले मास्क फेससिल्ड, पञ्जा लगाउने, गाडीको ढोकामा स्यानिटाइजर राख्ने र प्रयोग गर्ने लगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सञ्चालन गर्न गराउन लगाउने निर्णय गरिएको छ ।

शैक्षिक संस्थाहरूमा भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन विद्यालय सिकाइ सहजीकरण निर्देशिका-२०७७ र कोभिड-१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि-२०७८ मा उल्लिखित सूचक अनुसार जोखिमको अवस्था हेरी विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा स्थानीय तहको निर्णयानुसार आवश्यक व्यवस्थापन गर्न गराउन सकिने निर्णय गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker