तनहुँका दुई सडक स्तरोन्नतिमा विश्व बैंकको अनुदान सहयोग बजेट विनियोजन, काम तीव्र गतिमा

दमौली : तनहुँका दुई महत्वपूर्ण सडक स्तरोन्नतिको काम विश्व बैंकको अनुदान सहयोगमा तीव्र गतिमा अघि बढिरहेको छ । व्यास नगरपालिकाको पराशर मार्ग र शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा–लामागाउँ सडक खण्डलाई नेपाल सरकार सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत बजेट विनियोजन गरिएको हो । चालु आर्थिक वर्ष २०८२/०८३ भित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
व्यास नगरको पराशर मार्ग
व्यास नगरपालिकाले ७, ९, १० र ११ वडालाई जोड्ने गरी चक्रपथ स्तरोन्नति गर्दैछ । पराशर मार्गमा अस्फाल्ट प्रविधिबाट कालोपत्र र गाह्रो भागमा आरसिसी ढलान हुने समझदारी भएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । उनले भने, ‘दमौलीलाई नयाँ सहरको रुपमा विकास गर्न र स्थानीय उत्पादनको बजार पहुँच सहज बनाउन यो सडक स्तरोन्नति प्राथमिकतामा परेको हो ।’
बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कुल–कलेस्ती जोड्ने १०.५५ किलोमिटर खण्ड कालोपत्र गर्न ४० करोड ८३ लाख रुपैयाँमा निर्माण कम्पनी बीकेएचटीडीसीएल–एसिपिएल जेभीसँग सम्झौता गरिएको छ ।
गत वैशाख १६ गते सम्झौता भए पनि काम ढिलो भएपछि ६ महिना म्याद थपिएको सिनियर डिभिजन इन्जिनियर डा. राजु पौडेलले बताए । हालसम्म १८.२९ प्रतिशत भौतिक प्रगति भएको र निर्धारित समयभित्र पूरा गर्न निर्देशन दिइएको उनले जानकारी दिए ।
शुक्लागण्डकीको दुलेगौंडा–लामागाउँ सडक
शुक्लागण्डकी नगरपालिकाले ७.१ किलोमिटर दुलेगौंडा–लामागाउँ मोटरमार्गलाई कालोपत्र गर्दैछ। २७ करोड ३४ लाख रुपैयाँ लागतको यो सडक चैत २५ गते सम्झौता भई हाल ४५ प्रतिशत भौतिक प्रगति भएको प्रमुख नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए। उनले भने, ‘निर्धारित समयमा गुणस्तरीय काम पूरा गर्न ठेकेदारलाई निरन्तर अनुगमन गरिरहेका छौं ।’
यो सडक शुक्लागण्डकी–८, ९ र १२ वडालाई जोड्नेछ। १० मिटर चौडाइमा ५.५ मिटर कालोपत्र र दुवै छेउमा एक–एक मिटर नाला निर्माण हुनेछ । सडक कच्ची हुँदा हिउँदमा धुलो र वर्षामा हिलोका कारण जनतालाई आवतजावतमा समस्या हुँदै आएकोमा अब समाधान हुने इञ्जिनियर तारापति भट्टराईले बताए ।
ढिलाइका चुनौती र अनुगमन
सहरी विकास मन्त्रालयले आयोजना गरेको काठमाडौं बैठकमा तनहुँका दुवै नगरपालिकाले ठेकेदारले काममा ढिलाइ गरेको समस्या उजागर गरेका थिए । निरन्तर अनुगमन र कामदार थपेर हाल काममा गति आएको पालिकाले जनाएको छ। कार्यक्रमको उद्घाटन कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले गरेका थिए ।










