कांग्रेसको १४औं महाधिवेशन : क्षेत्रीय अधिवेशनका लागि तनहुँमा २ प्यानल बीच चुनावी प्रतिस्पर्धा
भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत तनहुँमा वडा, पालिका र प्रदेश क्षेत्रको अधिवेशन सम्पन्न भइसकेका छन् । दुइ निर्वाचन क्षेत्र रहेको तनहुँमा आज सोमबार क्षेत्रीय अधिवेशन हुँदै छ। क्षेत्रीय पदाधिकारी चयनका लागि जिल्लाका २ वटै क्षेत्रमा निर्वाचनको तयारी गरिएको छ ।
क्षेत्रीय अधिवेशनका लागि आइतबार उम्मेदवारी दर्ता गरिएको छ । क्षेत्र नं. १ को दमौली र क्षेत्र नं. २ को खैरेनीटारमा उम्मेदवारी दर्ता गरिएको हो । तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको एउटा प्यानल तयार गरिएको छ भने संस्थापन निकट मानिएको केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारी निकटको अर्को प्यानल तयार गरी दुइ वटै निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
पौडेल निकटको प्यानलको नेतृत्व जिल्ला सभापति एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र केन्द्रीय सदस्य प्रदीप पौडेलले गरेका छन् भने संस्थापन निकटको प्यानलको नेतृत्व केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारी, केन्द्रीय सदस्य गोविन्द भट्टराइ र आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेले गरेका छन् ।
जिल्लाको क्षेत्र नं. क्षेत्र नं. १ को सभापतिमा संस्थापन पक्षबाट जिल्ला सचिव विश्व बाँस्तोला प्यानल खडा गरिएको छ भने पौडेल पक्षबाट सभापतिमा श्याम मौरातीको प्यानल तयार गरी चुनावी मैदानमा उत्रिएका छन् । यस्तै, क्षेत्र नम्बर २ मा संस्थापन पक्षबाट सभापतिमा चुडामणि खनालको प्यानल तयार गरिएको छ भने पौडेल पक्षबाट सभापतिमा कृष्णराज पण्डितको प्यानल तयारी गरी चुनावी प्रतिस्पर्धा गरिने भएको छ।
क्षेत्र नं. १ मा बाँस्तोलाको प्यानलबाट सचिवमा तारानरेश पौडेल र चुडामणि दाहाल, सहसचिवमा रविन पौडेल र अर्जुन अधिकारी छनु भने, मौरातीको प्यानलबाट सचिवमा दयानिधी नराल र राजु बानियाँ, सहसचिवमा युवराज आले र शैलेश खातीले उम्मेदवारी दर्ता गरी चुनावी मैदानमा उत्रिएका छन् ।
यस्तै, क्षेत्र नं. २ मा खनालको प्यानलबाट सचिवमा जीवन चन्द ठकुरी र सन्तोष घिमिरे, सहसचिवमा याम सारु मगर र चित्रबहादुर राना छन् भने, पण्डितको प्यानलबाट सचिवमा पूर्णचन्द्र घिमिरे र प्रेमबहादुर थापा, सहसचिवमा नरसिं राना र टुकराज श्रेष्ठ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
जिल्लामा यस अघिको चुनावमा देखिएको गुटगत प्रतिष्पर्धा यसपाली उम्मेदवारी मनोनयनमा पनि देखिएको छ । विगतमा विभिन्न नेताहरुको गुट उपगुटमा विभाजित काँग्रेस तनहुँमा अहिले प्रष्ट रुपमा दुइवटा गुटहरु सतहमा देखिएका छन् ।
त्यस्तै, जिल्लाका उच्च पद र अग्रज नेतादेखि यूवा नेताहरुले महाधिवेशन प्रतिनिधी, प्रदेश प्रतिनिधी लगायतका महत्वपूर्ण पदहरुमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशन प्रतिनिधिका लागि मन्त्री, नगरप्रमुखदेखि वडाध्यक्षसम्मले उम्मेदवारी दर्ता गरी चुनावी मैदानमा उत्रिएका छन् ।
आज सोमबार हुने क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन मन्त्री, नगरप्रमुखदेखि वडाध्यक्षसम्मले उम्मेदवारी दर्ता गरेका छन् । गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोबाटे विक, प्रदेश सांसद, विभिन्न पालिकाका प्रमुख र वडाध्यक्षहरु महाधिवेशन प्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
बिनाविभागीय मन्त्री विक तनहुँ क्षेत्र नं. १ बाट दलित तर्फाट महाधिवेशन प्रतिनिधि उम्मेदवार बनेका छन् । संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने खुल्लातर्फबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र भानु नगरपालिका-१३ का वडाध्यक्ष रामबहादुर बानियाँ खसआर्य पुरुषतर्फ, व्यास नगरपालिका-१३ का वडाध्यक्ष लेखबहादुर राना जनजातितर्फ व्यास नगरपालिका-१ का वडाध्यक्ष खरसिं दरै अल्पसंख्याकतर्फ आँवुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ खुल्ला महिलातर्फ गण्डकी प्रदेश सांसद सरिता गुरुङ जनजाति महिलातर्फर व्यास नगरपालिकाका कार्यपालिका सदस्य चन्द्रमाया परियार दलित महिलातर्फाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गरी चुनावी मैदानमा उत्रिएका छन्।
जिल्लाको क्षेत्र नं. २ तर्फसंविधानसभा सदस्य ध्रुव वाग्ले, झुलबहादुर आले, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ खुल्लातर्फबाट महाधिवेशन प्रतिनिधि उम्मेदवारी दिएका छन् । म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी राना खुल्ला महिलातर्फ व्यास नगरपालिका ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ जनजाति पुरुषतर्फ, ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापा जनजाति महिलातर्फ, म्याग्देका कार्यपालिका सदस्य रामकृष्ण विक दलित पुरुषतर्फ, जिल्ला समनवय समितिकी सदस्य दिव्यश्वरी विक दलित महिलातर्फर घिरिङ गाउँपालिका-१ का वडाध्यक्ष गंगाबहादुर कुमाल अल्पसंख्यकबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गरी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
यता, काँग्रेसको कारवाहीमा परेर हालै फुकुवा भएका काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी पनि अहिले जिल्लामै आएर स्वतन्त्र रुपमा सक्रिय राजनीतिक गतिविधि अगाडि बढाएका छन् । आफ्नो टिकट जनताबाट लिऔं भन्ने अभियान चलाएका नेता जोशीले स्वतन्त्र रुपमा आँफु प्रस्तुत हुने बताउँदै आएका छन् । पार्टीको आन्तरिक निर्वाचनमा हालसम्म खासै हस्तक्षेप नगरेका जोशीले नजिकिँदै गरेको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा उनको गतिविधिले प्रभाव पार्ने आकलन गर्न थालिएको छ ।
बिगतमा नेता जोशीकै गुटमा लागेर महत्वपूर्ण पद सहित नेतृत्वमा पुगेका कतिपय जिल्लास्तरका युवा नेताहरु खनाल, थापा लगायतकाले अहिले एकाएक क्याम्प परिवर्तन गरेका छन् । जसलाई तनहुँका कांग्रेसीजनहरुले निकै अर्थपूर्ण रुपमा हरेका छन् ।