खसहरुले मानी आएको प्राकृत धर्म र कुलदेवता मष्ट

देव बस्न्यात

विषय प्रवेश

विश्वमा प्राकृत, हिन्दु, मुस्लिम, वौद्ध, इशाइ लगायत धेरै किसिमका धर्म प्रचलनमा रहेका छन। प्रत्येक मुल आशय आत्मशुद्धि वा आत्मज्ञान प्राप्त गर्नु नै हो। अलौकिक परमात्मालाई प्राप्त गर्ने नीव र नियम प्रत्येक धर्ममा आफ्नै पन छ । धर्मशास्त्रद्वारा निर्देशित मार्गबाटै मानवले यस लोक र परलोकको कल्याणका साथै शान्तिको कामना गर्दछ । धर्मको मूल तात्पर्य मानव कल्याण हो । ज्ञानको संचय र व्यवहारको उपजनै संस्कृतिको मुहान हो । शिवत्व र मरुत्वको सम्वन्ध संझने खश जाति भूमि जल वायु अग्नि र आकाशनै आफ्नो आराधानाको सर्वस्व र वर्चस्व मान्ने खसत्व भित्र समन्वयात्मकताको अपार संयोग पाइन्छ। मानिसको शरिर यीनै पाँच तत्व १, वायु–सूर्य २, पृथ्वी–गणेश ३, आकाश–नारायण ४, जल–शिव र ५, अग्नि–देवी पाञ्चायान देवताको रुपमा आराधना गर्ने खस जातिले आफ्ना पूर्वजहरुको प्राणवायु यसै वायु मण्डलमा विचरण गरेको महसुस गरी पितृहरुलाई मष्टदेवताको रुपमा स्वीकारी पूजा गर्ने परम्पराको विकास भएको हो ।

प्राकृत धर्म

प्राकृत धर्म आध्यात्मिक तत्वमा आधारित हुनुका साथै यो विज्ञान सम्मत पनि छ भन्दा अत्युक्ति नहोला। सनातनदेखि वर्तमान सम्म यस धर्मलाई यहाँसम्म ल्याइ पुर्याउन र जीवन्त राख्ने धामी डाङ्ग्रीहरुनै हुन । परम्परागत रुपमा पुजित हुँदै आएका मष्ट देवतालाई धामिका कायाकैरनका आधारमा पुंजा गरिंदै आएकोले पुजाआजा गर्ने लिखित विधिविधान नपाइएको हो । यीनै धामी डाङ्ग्रीहरुले यस धर्मलाई फुलाउने र फलाउने गरेका हुन भन्न संकोच मान्न पर्दैन । प्राकृत धर्म खस समाजमा परम्परा देखि चल्दै आएको हो। खसहरुले मान्ने गरेको प्राकृत धर्म सबैभन्दा प्राचिन धर्म हो भन्न सकिन्छ ।

प्रकृति र पार्वती

प्र भनेको ‘प्रकाश स्वरुप व्रह्म’ र कुति भनेको ‘कार्य’ हो । प्रकृति भन्नाले ब्रह्माको सृष्टि कार्यलाइ जनाँउंछ । सृष्टि कार्यको प्रस्फुटन अवस्थामा हुने कम्पन (vibration) द्वारा उत्पन्न भएको अर्थात उद्घोष भएको ध्वनि नै ॐ हो । जहाँ कार्य हुन्छ त्यहाँ कम्पन हुन्छ। जहाँ कम्पन हुन्छ त्यहाँ ध्वनि पनि सृजित हुुन जान्छ । यसैले शिवको योग गर्ने शक्ति नै प्रकृतिको अनुशरण हो । अर्थात शिव र पार्वतीको सहगमनबाट सृष्टि अनुभूति हो । संसारका सबै अभिव्यक्तिहरुमा प्रकृति नै मुल कारण र परव्रह्मको माया शक्ति हो । खस जातिमा प्रकृतिको प्रतिमूर्तिमान शक्ति स्वरुपाको रुपमा दुर्गाको बनस्खण्डी वनदेवीको पूजाआजा गरिएको हो । प्रकृति अथवा मायालाई नै देवीको सारतत्व मानिन्छ । यस जगतको गर्भाशय भित्र माया र प्रकृति विद्यामान रहेको छ जुन प्रलयकालमा गुप्त एवं लुप्त हुन्छ भने सृष्टि कालको समयमा सकृय रहन्छ । यसैले दुर्गा भवानी (पार्वती)लाई अष्टमातृका भन्ने चलन रहेको हो।

यसरी हामी शिवलाई पुरुष शक्ति र प्रकृति र पार्वतीलाई मातृशक्ति मानिएको हो। वास्तवमा प्रकृति र पार्वती भन्नु एक सिक्काको दुइ पाटा हुन। प्रकृति ॐकारको पहिलो मात्रा अकार नै विश्वरुप हो जुन सक्रिय भएर सदा विश्वरुपमै प्रकट हुन्छ। त्यसैले अ मात्रालाई सृष्टिकर्ता ब्रह्माको स्वरुप मानिन्छ। ब्रह्मारुप प्रकट भएको अ मात्राबाट नै हुन्छ भने ब्रह्मा, प्रकृति र अकार तीनवटै एकै हुन । ॐकारको दोश्रो मात्रा उकार स्वप्न अवस्थारुप हो। माया मोह विषयमा ज्ञात भएपछि मानव संसारिक विषय वासानाबाट तिक्त भई आत्मज्ञानको खोजी तर्फ लाग्दछ जस्बाट उस्ले परमात्मा परेमश्वरमा लीन हुन पुग्दछ। ॐकारको तेश्रो मात्रा मकार शुषुप्ति रुप र प्राज्ञ हो जस्वाट विषय वासना परित्यक्त भै इश्वर प्राप्तिको अभिलाषा मात्र शेष रहेको हुन्छ । यसरी ॐकारको तीनै मात्राको सम्बन्ध प्रकृति, जीव र इश्वर तीनैसंग रहेको हुँदा भक्तजन यी सम्पूर्णको अनुभव गर्दै अन्तमा परव्रह्ममा नै लीन हुन्छन् । अतः विश्वको परमाणु जुन धुरीमा घुमिरहेको छ ती सम्पूर्णका केन्द्रिभुत सार भनेको ॐकार मात्र हो। जुन परम शिव तत्वको स्वरुप हो । कुलायन देवतालाई प्रत्येक दिन ॐ ऐं सौं ह्रिं…… (शिशाकोटी) महादेवाय कुलदेवताय ह्रिं ॐ स्वाहा मन्त्रजप गरेमा इच्छित वरदान प्राप्त हुने विश्वास गरिन्छ ।

खसहरुका कुलायन देवता मष्ट

आफ्नो अपनत्व बाँच्ने जिजिविषामा राख्ने खस जातिहरु निराकार उपासनाका प्रतिक प्रकृतिको प्रतिकात्मक लिङ्ग, ध्वजा, घण्टा, चमार, डमरु, हातहतियार, निशान आदिलाइ आफ्नो आराधानाको सर्वस्व र साधनाको वर्चस्व मानि आएका हुन । प्रकृतिप्रेमी खसहरुले कुलका धामीलाई लोकका त्राणदाता शिवका प्रतिक मस्तकेश्वर वीरभद्र, आद्याशक्तिका प्रतिक दुर्गाभवानी महाकाली, सुरमादेवी, वनस्खण्डी वनदेवी, लोकका त्राणदाता वायु (मरुत्तेश्ह्वर) का धामीहरुलाई जटा, वाला, नयाँ वस्त्र, सुहागका सामाग्रीहरु पहिराउने प्रथा यद्यपि रहेको छ। कुलान्त कहलाएका खस जातिले केदार खसमण्डल प्रवेश गरेपछि नै कुलायन देवताको देवालीको प्रचलन सुरु गरेको बुझिन आएको छ । कुलायन देवताको रुपमा १२ भाइ मष्ट र शक्ति स्वरुपा भगवतीको रुपमा नौ भवानीलाई पूजा गर्ने खस क्षत्रीहरुको आफ्नै विशिष्टता हो ।

मष्ट निराकार भगवान

सन १८४० पूर्वनै इराकमा शिवको मरुत रुप देवता शिवको मूर्ति फेला परेपनि वैदिक काल अगाडि देखिनै विभाजित आर्यगणको कस्मिरतिर लागेको खसगणले चांही निराकार रुपमा नै मरुत र मष्टको उपासना गरेको पाइन्छ। आफुले मान्दै आएको देवता मरुत मष्टलाई निराकार रुपमा पूजा गरेता पनि शिव, विष्णु, व्रह्मा, दुर्गा भवानी लगायत सबै देवतालाई श्रद्ध साथ पुजा गर्ने प्रवृति खसहरुको आफ्नै विशिष्ट पन हो । खस क्षत्रीहरुले प्रकृतिप्रद्धत खनिज पदार्थवाट निर्मित रक्षाका सुचक हातहतियार खड्ग, तरवार, खुंडा, खुकरी, वाण, त्रिशुल, संगितका सुचक डमरु, धातुका घण्टा, सारङ्गी, पञ्चेबाजा, मुरली, बांसुरी, वनजंगलका प्रतिक लिङ्ग, वनस्वरुप वनस्खण्डी, वनदेवता, खेतीयुक्त जमिनका देवता भुइयार, सिमेभूमे, पानी तथा मूलका देवता नाग , सूर्य अग्निको प्रतिक दियोको पूजा गरिने परम्परा यद्यपि जिवितै छ ।

यसै गरी वनस्पति जगतबाट प्राप्त हुने सुपारी, जटा सहितको नरीवल, रुद्राक्षमाला, वेलपत्र, पुष्पादिहरु, भूमिबाट प्रदत्त अनाज, जीवीत प्राणीहरुको सुचकमा चौरी गाइको चमर, पूजास्थल शुद्धिको लागि गाइको गोवर गहुंत गणेशको प्रतिमूर्ति गोवर, सुपारी, नरीवल, आफ्नो जाति तथा राष्ट्रियताको सुचकमा ध्वजापताका, निशान, इश्वर प्रद्धत्त मानव जीवनको अस्तित्व रक्षा अर्थात आत्माकी देवी प्राणदेवीको मूलतत्व वायुलाई आफ्नो सर्वस्व र वर्चस्व सम्झेर पूजा गर्ने गरिएकोछ । मष्ट तथा कुलायन देवतालाई छत विनाको खुला आकाश, रुखको फेद, ओढार, गुफा छाना नभएका माण्डौमा पूजा गर्नु वायुलाई स्तन्त्र विचरण गर्ने शक्तिको श्रोत वा पुञ्ज मान्नु नै खसहरु मूर्तिमा भन्दा भावनामा देवता छन भन्ने विश्वास गर्दछन भन्ने प्रमाणित हुन्छ ।

यसैले मष्ट वीरभद्रै रुप भए अवस्य नै मूर्तिमन्त हुने थिए भन्ने विषयमा कल्पना गर्नुमा दुइमत नहोला । मष्ट तथा कुलायन देवताको पूजा गर्दा सर्वप्रथम ज्योतिस्वरुप बलिरहेको दियोको पूजा गरिन्छ । अर्थात प्रभु परमेश्वर प्रकाश स्वरुप हुनुहुन्छ भन्न सकिन्छ । प्रज्ज्वलित दियोको ज्योति स्वरुप अर्थात भगवानको ज्योतिपुञ्ज प्रकाश स्वरुपमा हुने भएकाले उहाँ साकार नभएर निराकार देवता हुनुहुन्छ भन्न खोजिएको हो । मष्ट मूर्तिमन्त नभएकै कारण खसहरु आफ्ना आदर्श पुर्खाहरुको आत्मा यसै संन्सारमा विचरण गरेको स्मरण गर्दै पितृहरुलाई वायु देवताको रुपमा पूजा गर्ने परंपरको सुरुवात भएको हो ।

त्यसैले त पितृलाई वायु देवताको रुपमा पुजा गर्ने खस परंपरा आज पर्यन्त हाम्रो समाजमा जीवन्त रहेको मुल स्मारक हो । मष्ट सदैव वायुरुपमा रहने हुँदा पहिले देखिनै मष्ट देवताको मूर्तिको कल्पना नै गरिएन ।

मष्टको उत्पत्ति

क, मष्टको खास उत्पति स्थल मानोसरोवर आसपास भन्नाले कर्णालीको आपासको भूभाग पर्दछ भन्ने लाग्दछ । राक्षसहरुले नौ दुर्गा भवानीको सतित्व डगाउन खोजेकोले नौ दुर्गा भवानी र मानव मात्रको रक्षाको लागि मष्टको उत्पति भएको मानिन्छ ।

ख, भगवान शिव तीन आमाका पुत्र मानिन्छन । पृथ्वीको आगो, आकासको मरुत तथा विजुली र स्वर्गका तेज रुप सूर्य यस सन्सारका तीन मातृशक्तिहरु मानिन्छन । यीनै अग्नि, विद्युत र सूर्यलाई आगोको समष्टिरुप तथा तीन मातृशक्तिको पुञ्ज नै शिवको नामं मानिन्छ । अग्नि, मरुत र सूर्य प्रत्यक्ष दर्शनबाट र वायु स्पर्शद्वारा अनुभव अनुभूति गरिने प्राण रुपहरु हुन भन्दा अतिशयोक्ति नहोला ।

ग) वन जंगलयुक्त नयाँ क्षेत्रमा वसोवासको क्रममा बाघ वा अन्य जीवजन्तु द्वारा मारिएका आदि पुर्खाहरु वायु रुपमा प्रकट हुँदा उनीहरुवाट सुरक्षाको अनुभूतिको लागि मरुत देवताको पूजा आरम्भ भयो। यस्का साथै भूत, प्रेत, पिसाचहरुको अस्तित्व पनि वायु नै मानिन्छ। यसैले राक्षस भन्नाले भूत पिचास, प्रेत भन्नाले काँचो वायु र वायु भन्नाले पितृ बुझाउने गर्दछ। हाम्रो बोलचालको भाषामा बाहुनलाई काठा, क्षत्रीलाई खस र ठकुरीलाई कुशुण्डा भन्ने प्रचलन रहेको छ । यहाँ काठा भन्नाले प्रेत सम्वन्धप् दान खाने जातिलाई बुझाउँछ ।

घ) मष्टोको उत्पति मानसरोवर उपत्यकामा भएर कर्णाली प्रदेश प्रवेश गरेको मानिन्छ । त्यही भएर खसहरु आफ्ना पूर्वजहरुको आदिम स्थल मानसरोवरलाई पवित्र भूमि मानी प्रत्येक वर्ष तीर्थ वर्त गर्न मानसरोवर पुग्ने गर्दछन ।

ङ) कर्णाली प्रशवण क्षेत्र प्रवेश गरेका खसहरुको आदि मष्टको उत्पति स्थल ढंडार मानिन्छ । त्यस पछि फुटेको खप्तड भूमि हो । श्रीपालीहरुले मानि आएका मष्टहरुमा अदिमष्ट, वाविरो मष्ट, ढंडारमष्ट र थार्पो मष्ट, मष्टहरुमा प्रमुख मानिन्छन ।

च) असुरहरुको आक्रमणबाट लखेटिएका खश जातिले मान्ने मष्ट भनेको कावा मष्ट हो । कावाको कालो पत्थर (मक्का मदिना) शिवलिङ्गको रुप हो ।

छ) हुण जातिको प्रवेश पछि मानिएका कुल देवता थार्पो मष्ट हुन ।

मष्टका प्रकार

प्राकृत धर्मका धर्मगुरुहरु तथा पुजारीमा धामीलाइ लिने गरिन्छ । मष्ट स्वयं निराकार हुनाले विशेष ज्ञान र शक्तिका माध्यमबाट धामीले मष्टको पूजा अर्चना गर्ने गरेको पाइन्छ। पूजा अर्चनाका अतिरिक्त कुलका धामीहरुले झारफुक तथा जडीबुटीहरुको प्रयोगका साथै अन्य विधिले पाली (भक्त)हरुको उपचार गरेर रोग निको बनाउने पनि गर्दछन । मैदानी आर्य सभ्यता तथा हिन्दु दर्शनले प्राकृतिक धमलम्वी तथा मष्ट उपासकहरुलाई पर्दाभित्र पारेको अनुभूति मिलेको छ । प्रतिक र भावनामा मात्र बुझ्न सकिने खसहरुका कुलायन देवतालाई प्राकृतिक भाषाको स्थानभेद, उच्चारणभेदले महेश्वर-महेश–महाशु–महांंअशु)बाट मस्स–मस्त–मस्ट हुंदै आएको मानिन्छ । खसहरुका सात्विकी, राजसी र तामसी समेत तीन प्रकारका मष्ट तथा कुलायन देवता पाइएका छन् ।

पायस तथा खिर खाने सात्विकी, रक्त तथा रगतबलि खाने राजसी र पायस तथा रगतबलि दुबै बलि खाने कुलायन देवतालाई तामसी मष्ट भनिन्छ। सात्विकी मष्टहरुमा मण्डली, दूधे, लडे, राजसी मष्टमा आदिमष्ट, रुमालमष्ट, दाह्रेमष्ट, खापड मष्ट, टेडी मष्ट, र तामसी मष्टमा कालामष्ट, मुण्डा मष्ट, रुपामष्ट, कैलोमष्ट पर्दछन । जीवन निर्वाहको सिलसिलामा बसाइ सराइ गर्दै जहाँ जहाँ खस जातिहरु पुगे त्यहाँ त्यहाँ आफ्ना आराध्य देवता मष्टको स्थापना गरी पूजा चलाउदै आएको पाइन्छ। प्राकृत धर्म (मष्टधर्म)का अभियान्ता थर्कबहादुर बस्नेतले कुल १४७१ मष्टहरु मध्ये ५६० मष्टहरु सक्रिय र ९११ मष्टहरुको नामो निशान नभेटिएको बताउँछन्। मष्टसंस्कृतिमा आएको विचलन ले खस समदाय दिन प्रतिदिन परसंस्कृतिको मार खेप्दै जानु परेको तितो सत्य हो । खस जातिहरुले मान्दै आएका निम्न मष्टहरुको नाम समावेस गर्न उपयुक्त देखिएकोले यहाँ प्रस्तुत गरिएको छ ।

१ ढंडाँर (आदि) मस्ट २, कालो मस्ट ३, बूूड मष्ट ४, थार्पमस्ट ५, गुरो मष्ट ६, खापर मष्ट ७, ढाड्या मष्ट ८, दुद्यो मष्ट ९, विनाइक मष्ट १०, विजुलीडांडो मष्ट ११, कालशिलो १२ वाविरो मष्ट १३, सुनारगाउँ मष्ट १४, लाकुडो मष्ट १५, उखाडी (गुडाली) मष्ट १६ रुम मष्ट १७, छल (गुडाली) मष्ट १८, राउतकोट्या मष्ट १९, कफाल्ना मष्ट २०, पुइक मष्ट २१, वाम मष्ट २२, वांटपाल मष्ट २३, रामपाल मष्ट २४, लडी मष्ट २५, सोलुपाल मष्ट २६, क्षेत्रपाल मष्ट २७, वनपाल मष्ट २८, लोहासुर मष्ट २९, दुवेशिला मष्ट ३०, हगुरो मष्ट ३१, सिमताडी ३२, भ्वीन मष्ट ३३, सुम्लेगुरो मष्ट ३४, भुइगुरो मष्ट ३५, ह्याङ्ग्र मष्ट ३६, रागमाचुलामष्ट ३७, दयाशिला मष्ट ३८, भुवार मष्ट ३९, कैलाश मष्ट ४०, लामा विष्णु ४१, जग्गनाथ मष्ट ४२, कुडाचा मष्ट ४३, कालिकोट मष्ट ४४, हिङ्गाल मष्ट ४५, लड्या मष्ट ४६, लट्या मष्ट ४७, भैरो मष्ट ४८, शिद्ध मष्ट ४९, तेडी मष्ट ५०, गच्चु मष्ट ५१, कालढुङ्गी मष्ट ५२, ढुडुढुस्की मष्ट ५३, साकीद्यो मष्ट ५४, उव्ज्या मष्ट ५५, धुरङ्गा मष्ट ५६, ठिंगाल मष्ट ५७, वान्नी मष्ट ५८, शम्भु मष्ट ५९, भुइकुटो मष्ट ६०, धुपीरुक्ख्या मष्ट ६१, वाजकोट्या मष्ट ६२, धोलुपु¥या मष्ट ६३, भात्याखोलामष्ट ६४, पन्त्या मष्ट ६५, महावै मष्ट ६६, कुलद्यो मष्ट ६७, माहद्यो मष्ट ६८, राहद्यो मष्ट ६९, सकीद्यो मष्ट ७०, लाटोद्यो मष्ट ७१, चुनद्यो मष्ट ७२, कुलसैनी ७३, लाटोवाउन मष्ट ७४, सुपारी पण्डित मष्ट ७५, ध्यौलापानीमष्ट ७६, मशालो मष्ट ७७, रुमाला मष्ट ७८, टेढीमष्ट ७९, मण्डली मष्ट ८०, सड्या मष्ट ८१, मुण्डा मष्ट ८२, रुद्र मष्ट ८३, कैलीमष्ट ८४, काला मष्ट ८५, खप्पर मष्ट ८६, गन्याय मष्ट ८७, लोखाली मष्ट ८८, लिउडी मष्ट ८९, काफलमष्ट ९०,सीममष्ट ९१, ढुसापानी मष्ट ९२, डढीसितल मष्ट ९३, कुर्मि मष्ट ९४, रमाल मष्ट ९५, वाइफाले मष्ट ९६, रामफाल मष्ट ९७, महारुद्रदयौता मष्ट ९८, वा. सकोट्या मष्ट ९९, पुआल्या मष्ट १००, कुंयडा मष्ट १०१, साइन मष्ट १०२, धुरापानी मष्ट १०३, वडावाडामष्ट १०४, तलीकोट्या मष्ट १०५, स्वैता मष्ट १०६, पंचालो मष्ट १०७, रुपा मष्ट १०८, काला मष्ट १०९, स्युना मष्ट ।

उपर्युक्त मष्टहरु बाहेक कुलायन पूजासंगै भवानी वनदेवी, मरुत (सर्वत्रव्यापि, सर्वदर्शी सर्वज्ञाताको रुपमा मानिसको अङ्गमा चढी बोल्ने देवता), क्षेत्रपाल–भुइयार, नौ दुर्गा भवानी, मष्टका भाञ्जा भाञ्जी, भूत, वेतालको पनि मष्टको गणनामा पुजित छन । मष्टो देवताको प्राचीनता बताउने र यस्को प्रभुत्तालाई स्वीकार गर्न लगाउने धर्मगुरुको रुपमा धामी झाँक्रीलाइनै मान्नु पर्दछ ।

खस जातीहरु वास्तवमा प्राकृत धर्मका अनुयायीहरु हुन । खसहरु वौद्ध धर्म र हिन्दु धर्ममा दिक्षित भएको ७०० वर्ष पनि पुगेको छैन । वि.सं. ७०० देखि १२८० को बीचमा हिन्दुकरण गर्न ठूलै कसरत गरियो । राजाज्ञा मार्फत खसहरुलाई जबरजस्त जनै भिराउने काम गरियो । जनैका साथ खसहरुलाई क्षत्री वर्णमा पदोन्नती गरियो । सबै खस जातिलाई हिन्दुकरण गर्नमा प्रयत्न गरियो । खस भएर पनि तथा कथित आफुलाई आर्य वंशज हौं भनी उच्च खानदानमा दर्ज गर्न चाहनेहरुको कारणले नै यो प्राकृतिक धर्म र बौद्ध धर्ममाथि परसंस्कृतिकरणको चपेटामा पुर्याउँदै यो हविगतमा पुर्याएको हो भन्दा फरक नपर्ला । खसहरुको वेद भारतीय ऋृगवेद, अथर्ववेद नभएर शशी मुन्धुम (इतिहांस र भूगोल) सम्झनु पर्दछ । अरुलाई तिरस्कार गर्ने र म नै ठूलो र असल भन्ने अहंकारपन नै वैदिक आर्यहरुको एक असली उदाहरण हो । अरुलाई गाली गर्नु भन्दा हामीले आफ्नो बानीलाई सुधार गर्दै आफ्ना जीवन पद्धतिसंग नजिक हुने प्रण गर्ने बेला आएको छ । आजै र अहिल्यैदेखि हाम्रो बानी र व्यवहारमा परिवर्तन गरौ, कसो ?

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker