विमलनगरमा चट्टान आरोहण महोत्सव
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको बन्दिपुर गाउँपालिका-४ विमलनगरमा चट्टान आरोहण महोत्सव हुने भएको छ । गण्डकी अल्पाइन क्लब पोखराको आयोजनामा पुस ७ गतेदेखि १२ गतेसम्म चट्टान आरोहण महोत्सव हुन लागेको हो । विमलनगर चट्टान आरोहणका लागि उपयुक्त गन्तव्य हो । पृथ्वीराजमार्ग विस्तारका क्रममा यो ठाउँ भत्किने भएकाले यसको संरक्षण गर्न माग गर्दै चट्टान आरोहण महोत्सव हुन लागेको क्लबका अध्यक्ष नरेन्द्र शाहीले बताउनुभयो । ‘साहसिक पर्यटनको प्रवर्द्धन गरौँ : विमलनगर चुनपहरा जोगाऔँ’ भन्ने मूल नाराका साथ सञ्चालन हुने महोत्सवमा पुरुष र महिलालाई दुइ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ ।
उक्त प्रतिस्पर्धामा प्रथम हुनेलाई रु ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ । द्वितीय हुनेलाई रु २० हजार र तृतीय हुनेलाई रु १० हजार प्रदान गरिनेछ । चुनपहरा बचाउ अभियानका अभियानकर्मी एवं सिद्धगुफा व्यवस्थापन समितिका अध्यक्ष लालकुमार श्रेष्ठले चट्टान आरोहणको प्रशिक्षणस्थल बनेको यस ठाउँको संरक्षण गर्नुपर्ने बताउनुभयो । अरु पनि केही स्थानमा चट्टान आरोहण हुने भए पनि विमलनगरको चुनपहरा सबैभन्दा उपयुक्त रहेको बताइन्छ । हालसम्म आरोहणका लागि पत्ता लागेको पहरामध्ये सबैभन्दा धेरै २७ वटा रुट भएको यही मात्र चट्टान हो ।
यहाँका स्थानीयवासीले पनि यस ठाउँको संरक्षण हुनुपर्ने भन्दै आवाज उठाइरहेका छन् । राजमार्ग विस्तार योजनाअनुरूप सडकको मापदण्डानुसार मध्यविन्दुबाट दायाँ र बायाँ २५/२५ मिटर विस्तार गर्नका लागि चिहृन लगाउने कार्य सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको योजनाको रूपमा रहेको सडक विस्तार अति आवश्यक रहेको भए पनि पृथ्वी राजमार्गसँगै जोडिएको यस क्षेत्रको संरक्षण हुनुपर्ने स्थानीयवासीको माग छ ।
चुन पहरा संरक्षण समितिले हाल कायम गरिएको सडक मापदण्डलाई आवश्यकतानुसार घटाउन, आरोहण क्षेत्रपट्टकिो मापदण्ड घटाइ खोलापट्टकिो मापदण्ड बढाउन र विमलनगरको पुलबाट पारि करिब १.५ किमिको वैकल्पिक ट्र्याक खोली नयाँपुल हुँदै निस्कने सडक बनाउने विकल्प अगाडि सारेको छ । पृथ्वीराज मार्गसँगै जोडिएको यस ठाउँमा देशका विभिन्न तथा विदेशबाट पर्यटक चट्टान आरोहणका लागि आउने गर्दछन् । विसं २०६४ मा नेपालका अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक र स्थानीयवासी मिलेर सो क्षेत्रको शुरुआती अन्वेषण गरेपश्चात् क्रमबद्ध रूपमा यससँग सम्बन्धित स‹संस्था तथा निकायले यस क्षेत्रमा आरोहण गतिविधि गर्नुका साथै व्यवस्थापन गर्दै आएको छ ।
पहिला डरलाग्दो पहराको रूपमा लिइने यसले तनहुँ तथा नेपाललाई नै राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चिनाउने काम गरेको छ । यहाँ साहसिक अभ्यास, तालिम तथा खेलकुद गतिविधि सञ्चालन हुने गरेको छ । यहाँ राष्ट्रियस्तरका विभिन्न प्रतियोगिता पनि सम्पन्न भएका छन् । पर्वतारोहण क्षेत्रमा आबद्ध संघसङ्गठन, प्रतिष्ठान र क्याम्पसले तहगत तालिमका सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा तथा परीक्षा यस ठाउँमा सञ्चालन गर्दै आइरहेका छन् । रासस










