नारायणगढ मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध

कृष्ण आचार्य/भरतपुर

पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छकी चिन्ता हुन्छ । बर्सेनि पहिराले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जन पटक पहिरो खस्यो । एकैदिन घण्टौँसम्म सडक अवरुद्ध हुँदा सवारी चालक र यात्रुले निकै समस्या झेल्नुप¥यो ।

गतजेठ महिनायता मात्रै यो सडकखण्डमा २४ पटक पहिरो खसेको छ । यसबाट एक सय नौ घण्टा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा सो सडकखण्डमा साना–ठूला पहिरो खसेका छन् । पृथ्वी राजमार्गको चितवन खण्डा (मुग्लिन मौवाखोल) मा पर्ने घोप्टे भिरमा पनि दुई÷तीन पटक पहिरो खसेको उहाँले बताउनुभयो ।

“पहिरोका कारण कति रात सडकमा बिताएका छौँ, प्रहरी निरीक्षक अधिकारीले भन्नुभयो”, “पहिरो खस्नासाथ बाटो खुलाउने चिन्ता सुरु हुन्छ ।” उहाँले सडकखण्डको भौगोलिक अवस्था र जनशक्तिको कमीका कारण पनि पहिरो गएपछि ट्राफिक व्यवस्थापनामा समस्या हुने गरेको बताउनुभयो ।

“जिल्लाभर ६० जना ट्राफिक प्रहरीको दरबन्दी हो, अधिकांश समय पहिराका कारण हुने ट्राफिक समस्या समाधानमै केन्द्रित गर्नुपरेको छ”, उहाँले भन्नुभयो । अधिकारीले नारायणगढ–मुग्लिन सडककै कारण जिल्लाको अन्य क्षेत्रमा ट्रफिक व्यवस्थापन र जनचेतनाका काम गर्न नपाइएको गुनासो गर्नुभयो । उहाँले सडकखण्डमा पहिरो नआउनका लागि दीर्घकालीनरुपमा समाधान खोजिनुपर्ने बताउनुभयो ।

सडकखण्डअन्तर्गत गत वर्ष २० किलो र सेतीदोभानमा बढी पहिरो खसेको थियो तर यस वर्ष भरतपुर–२९ को केराबारीस्थित मौरी पुल र १८ किलोमा बढी पहिरो खस्यो । यसबाहेक अन्य ठाउँमा छिटफुटरुपमा पहिरो खस्ने गरेको छ । सडक विस्तारका क्रममा काटिएका भित्तो र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण १८ किलोमा निरन्तर पहिरो खसेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले बताउनुभयो । उहाँले मौरी पुलमा भौगोलिक बनावट र शाखा बाटोकै कारण ठूलो पानी पर्नासाथ पहिरो खस्ने गरेको जानकारी दिनुभयो । मौरी खोलाले बगाएर ल्याएको ढुङ्गा–माटो जम्मा भएकाले पनि समस्या भएको उहाँको भनाइ छ । “खोलाको ढुङ्गा–माटो समयमै उठाउन सकिएको भए समस्या कम हुने थियो । दुई पुलमध्ये एउटा पुल पुरिएको छ । पानी आउनासाथ लेदो बगेर सडक पुरिहाल्छ”, उहाँले भन्नुभयो ।

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाउनकै लागि २० किलोमा एउटा लोडर र जेसिभी, मौरी पुलमा चेन भएको स्काभेटर, मुग्लिनमा एउटा लोडर र फिस्लिङमा एउटा लोडर तयारी अवस्थामा राखिएको छ । जुगेडीदेखि मौवाखोलासम्मको सडकका लागि सडक डिभिजन कार्यालय भरतपुरले सबै स्रोतसाधन तयारी अवस्थामा राख्ने गरेको जनाएको छ ।

सडकखण्डमा पहिरो रोकथामका लागि भन्दै विभिन्न काम गरिए पनि प्रभावकारी बन्न सकेका छ्रैनन् । इन्जिनियर कार्कीले कार्यालयको बजेट र क्षमताअनुसार पहिरो रोकथामका लागि काम गरिरहेको बताउनुभयो । उहाँले यसको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन र काम गर्नुपर्ने भन्दै त्यसका लागि धेरै बजेट आवश्यक पर्ने बताउनुभयो । उहाँले सडकखण्डको अवस्था र गर्नुपर्ने कामका विषयमा सडक विभाग पनि जानकार रहेको बताउनुभयो ।

पछिल्लो समय आइतबार पनि सो सडकखण्डमा पहिरो जाँदा केहीबेर सडक अवरुद्ध भएको थियो । यस वर्ष असोजको दोस्रो सातासम्म पनि पानी परिरहेको छ । यस वर्ष चाडवाडको समयमा पहिराले दुःख दिने होकी भन्ने चिन्ता थपिएको सवारी चालक रोशन गुरुङ बताउनुहुन्छ । नारायणगढदेखि काठमाडौँसम्म दैनिक माइक्रो चलाउने उहाँ पानी पर्नासाथ नारायणगढ–मुलिन सडकको जाममा परिन्छ कि भन्ने चिन्ता हुने गरेको बताउनुभयो ।

सडकखण्डका दर्जन बढी पहिराको जोखिम ठाउँ रहेको नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिचान गरिसकेको छ । राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडकमा एक दिनमा १० हजार बढी सवारीसाधन आवागमन गर्ने गर्दछन् । सडक पुनःनिर्माणको काम सकिए पनि सडकमाथिका पहिरो जोखिम क्षेत्रको व्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम कायमै रहेको हो ।

नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तारको काम गरिएको थियो । सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भई रु दुई अर्ब ९० करोड खर्च गरी तीन वर्ष लगाएर सडक विस्तार गरिएको हो । सोही क्रममा ३१ ठाउँका पहिरो नियन्त्रणका काम गरिएको थियो । अधिकांश ठाउँमा भित्तो काटिएको थियो । यसमध्ये सात ठाउँमा पहिरो रोक्ने काम गरिएको थियो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker