आन्तरिक पर्यटक लिएर मनुङकोट जाँदै गरेको हायस दुर्घटना, १ जनाको मृत्यु, ८ जना घाइते

आन्तरिक पर्यटक लिएर तनहुँको मनुङकोट उकलदै गरेको हायस आज बिहान दुर्घटना भएको छ । पोखराको गगनगौडाबाट मानुङतर्फ जाँदै गरेको ग१ख २९४२ नम्बरको यात्रुवाहक हायस भीरबाट खसेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।
उक्त दुर्घटनामा परि पोखरा महानगरपालिका गगनगौडा निवासी करिब २८ वर्षकी सुनिता गुरुङको ज्यान गएको छ।
घटना लगत्तै उद्धार गरिएकी उनको उपचारका क्रममा दमौली स्थित रत्नहरी अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा परि अन्य आठ जना घाइते भएका छन् ।
विहान करिव ५:३० बजेतिर उकालो चड्दै गरेको हायस मानुङ पुग्नै लाग्दा उकालो चड्न नसकेको र केही यात्रुहरु उत्रिएर धकेल्ने प्रयास गरेपनी हायस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक तिमिल्सिनाले बताए ।
हायस सडकबाट करिब ६ सय मिटर तल खसेर दुर्घटना भएको र घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।
पछिल्लो समय सामाजिक संजालमा भाइरल बनेको मानुङकोटबाट सूर्योदय र सेतो कुहिरोले ढपक्क ढाकिएको दमौली बजार क्षेत्रको मनमोहक दृश्य अवलोकन गर्न आउने आन्तरिक पर्यटकको संख्या बढेको छ ।










