शुक्लागण्डकी नगरपालिकाद्वारा मेलमिलापकर्तालाई ४८ घण्टे तालिम

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

स्थानीयस्तरको विवाद वडा तथा टोलटोलमै मिलाउने उद्देश्यले न्यायिक समिति शुक्लागण्डकी नगरपापालिकाले मेलमिलापकर्तालाई ४८ घण्टे तालिम दिएको छ । मंसिर २२ देखि २९ गतेसम्म सञ्चालन भएको तालिमको बुधबार समापन गरिएको छ । शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाइलीले तालिम समापन गर्दै न्याय नपाएकालाई न्याय दिलाउन सकेमात्र तालिमको औचित्य रहने बताइन् । उपप्रमुख रसाइलीले लामो समय बितेर समय र पैसा खर्चेर न्याय पाए पनि त्यसको कुनै अस्तित्व नहुने हुँदा समस्या हुनासाथ समाधान गर्नुपर्नेमा जोड दिईन् ।

‘पूर्वाधार विकास भन्दा पनि पहिले नागरिकमा जनचेतना आवश्यक छ’, उनले भनिन्, ‘आफु जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएको दुइबर्षदेखिनै टोलटोल र वडामा मेलमिलापकर्ता बनाउने योजना भएपनि विविध कारणले ढिलाई हुन गयो ।’ ‘शुरुमा बाटोघाटो, खानेपानी र भवन निर्माणमै केन्द्रित भयौ, विकास भनेकै त्यहि हो भन्ने लाग्यो, युवाहरुलाई खेल खेल्न सघाउँदा, आमा समुहको भवन बनाउँदा भोट आउने आशा गरियो । हामी जनप्रतिनिधिहरु भोट बैंक बनाउनतिर लाग्यौ’, उनले भनिन्, ‘अहिले आएर जनचेतना पहिलो आवश्यकता रहेको महसुस गरेका छौ । पूर्वाधार विकास मात्र विकास रहेनछ । शान्त र विवादरहित समाज निर्माण गर्नु झन ठुलो विकास रहेछ।’ अदालतमा नगई नहुने बाहेकका समस्याहरु स्थानीय तहमै निरुपण गर्ने गरी समस्याको समाधान गर्न मेलमिलापकर्ताहरुलाई सुझाव दिदै उनले भनिन्, ‘तालिम लिएका सबै वडाका मेलमिलापकर्ताहरुलाई नगरपालिकाले परिचयपत्र प्रदान गरी विवाद समाधान गराउने कार्यमा संलग्न गराउने छौं ।’

न्यायीक समिति सदस्य थमन आलेले नगरपालिकाको भौतिक र पूर्वाधार क्षेत्रको विकासले मात्रै समग्र नगरको विकास नहुने हुँदा न्यायको क्षेत्रमा पनि प्रगति हुनुपर्नेमा जोड दिए । दुबै पक्षको जितर हित हुने गरी तालिममा सहभागि मेलमिलापकर्ताहरुले न्याय सम्पादन गर्नुपर्नेमा जोड दिए ।

सामुदायिक मेलमिलापकर्ता समाज नेपालका केन्द्रीय सदस्य दुर्गाबहादुर महतले अन्धधुन्दा तरिकाले विवाद मिलाउँदा दिगो शान्ति कायम हुन नसक्ने बताए । शुक्लागण्डकी मेलमिलाप समितिका संयोजक राजन रिमालले घरमा शान्ति नभएसम्म भौतिक विकासलाई मात्र विकास भन्न नमिल्ने बताए । त्यस्तै, सहभागीहरु मध्येबाट उदयराज खनाल र श्रीकला वि.कले तालिमबाट सिकेको ज्ञानलाई कार्यान्वयन गरी दुबैतर्फ जित र हित हुने गरी न्याय सम्पादन गरी समाज परिवर्तन गर्ने बताएका थिए ।

कार्यक्रममा न्यायिक सदस्य पदमप्रसाद तिमिल्सिना, मेलमिलाप समाजका सचिवालय सदस्य घनश्याम भट्टराइ, न्यायिक समितिका कर्मचारी किसान परियार लगायतले बोलेका थिए । तालिममा जिल्ला अदालत तनहुँका न्यायधिस हरिश्चन्द्र ढुंगाना, अपाङ्ग महासंघका केन्द्रीय सदस्य देवकुमारी पराजुली, मेलमिलाप समिति संयोजक राजन रिमाल, शुक्लागण्डकी नगरपालिकाका कानुनी सल्लाहकार चेतनारायण पौडेल, सामुदायिक मेलमिलाप समाज नेपालका केन्द्रीय सदस्य दुर्गाबहादुर महत र सचिवालय सदस्य घनश्याम भट्टर्राईले सहजिकरण गरेका थिए ।

न्यायीक समितिले पहिलो चरणमा नगरपालिकाका वडा नं २ देखि ७ सम्मका ३१ जनालाई तालिम प्रदान गरेको थियो । दोस्रो चरणमा वडा नं १, ८ र ९ देखि १२ सम्मकालाई आगामी पौष ६ गतेदेखि ४८ घण्टे तालिम सञ्चालन गर्ने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker