मर्स्याङ्दी करिडोर शिक्षा उपसमितिको बैठक, शैक्षिक कार्यक्रमहरूमा एकरूपता कायम गरिने
भानु : मर्स्याङ्दी करिडोर अन्तर्गतका १४ वटा पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुखहरूको समन्वय बैठकले शैक्षिक उन्नयन र सहकार्यका लागि तयर गरिएको प्रस्तावना माथि छलफल गरेको छ ।
लमजुङको सुन्दरबजार नगरपालिकाको सभाहलमा आइतबार मर्स्याङ्दी करिडोर शिक्षा उपसमितिका संयोजक एवं सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोईरालाको अध्यक्षतामा उक्त बैठक आयोजना गरिएको थियो ।
बैठकमा सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, सदस्य सचिव एवं भानु नगरपालिकाका उपसचिव ध्रुवराज पौडेल, सुन्दरबजार नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख ठाकुर जी तिवारी, गोरखा नगरपालिका, शहिद लखन गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बेशीशहर नगरपालिका, राइनास नगरपालिका, चामे गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकाका शिक्षा शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।
बैठकमा मर्स्याङ्दी करिडोर शिक्षा उपसमितिले तयार गरेको ’शैक्षिक उन्नयन र सहकार्यका लागि प्रस्तावना’ माथि छलफल गरिएको थियो । साथै, सबै पालिकाहरूको असल अभ्यासहरूको आदानप्रदान गरिएको भानुका शिक्षा अधिकारी पौडेलले जानकारी गराए ।
यस्तै, बैठकले सुन्दरबजार नगरपालिकाका उपसचिव ठाकुर जी तिवारीको संयोजकत्वमा पाँच सदस्यीय शैक्षिक योजना तर्जुमा समिति गठन गरेको छ ।
मर्स्याङ्दी नदीको जलप्रवाह क्षेत्रका चारवटा जिल्लामा शिक्षाको वर्तमान अवस्था, समस्याहरू, सुधारका क्षेत्र र सहकार्यका सम्भाव्य क्षेत्रहरूको बारेमा विचार विमर्श गर्नु बैठकको मुख्य उद्देश्य रहेको बताइएको छ ।
बैठकले करिडोर क्षेत्रमा सञ्चालन गरिने शैक्षिक कार्यक्रमहरूमा एकरूपता कायम गर्दै सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।