एमाले तनहुँको नवौं अधिवेशन : आकांक्षी बढ्दै, सर्वसम्मत नेतृत्व चयन गर्न नेताहरुको कसरत

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एमालेको आजबाट जिल्ला अधिवेशन शुरु हुँदैछ । वडा र पालिका तहको अधिवेशन सम्पन्न गरेको एमाले तनहुँले जिल्ला कमिटीको नवौं अधिवेशनको तयारी पुरा गरेको छ । आज र भोली तनहुँको दमौलीमा गर्न लागिएको अविधेशनको आवश्यक तयारी पुरा भएको प्रचार विभागका प्रमुख एवं कार्यवाहक सचिव विष्णुभक्त सिग्देलले बताए । जिल्ला अधिवेशनका लागि तनहुँका १० पालिका र ८५ वटै वडाबाट प्रतिनिधि छनौट गरिसकिएको छ ।

अधिवेशनबाट १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्नका लागि करिब छ सय प्रतिनिधिहरु सहभागि हुने सचिव सिग्देलले बताए । उनले भने, ‘सबै वडाबाट खुल्ला, महिला, मजदुर, दलित, अल्पसंख्यक तथा विभिन्न जनवर्गीय संगठनबाट प्रतिनिधि छनौट गरिएको छ ।’

वि.सं. २०६९ चैत २९ गते आठौ अधिवेशन सम्पन्न गरेको एमाले तनहुँले पुस २३ र २४ गते नवौं अधिवेशनका लागि प्रतिवेदन, आर्थिक, प्रचारप्रसार, मञ्च व्यवस्थापन, खाना, स्वयंसेवक परिचालन लगायतका उपसमिति गठन गरी आवश्यक तयारी गरेको छ । अधिवेशनका लागि जिल्ला कमिटीलाई मुल आयोजक कमिटीमा रुपान्तरण गरिएको छ ।

एक वडा बाहेक सबै वडा अधिवेशन सर्वसम्मत गरिएको र वडाबाटै र्सवसम्मत प्रतिनिधि छनौट भएकाले जिल्ला नेतृत्व पनि सर्वसम्मत रुपमै चयन गर्ने तयारी भएको जिल्ला अध्यक्ष केदार सिग्देलले बताए । ‘नेतृत्वको विकास गर्नुपर्छ भनेर म पुनः अध्यक्षमा दोहोरिने छैन’, सिग्देलले भने, ‘क्रियाशीलता, पार्टी भित्रको योग्यता र योग्दान लगायतलाई मापदण्ड बनाएर सर्वसम्मत नेतृत्व चयन गर्ने हाम्रो तयारी छ ।’

नेताहरुले जिल्ला कमिटीको नेतृत्व सर्वसम्मत चयन गर्ने भनिरहे पनि मुख्य पदका आकांक्षीहरुको संख्या भने बढ्दै गएको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव, दुइ सहसचिव, कोषाध्यक्ष र खुल्ला सदस्य पदका आकांक्षीहरुको नाम चर्चा चल्न थालेको छ । जिल्ला कमिटीको अध्यक्षमा हालका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ आकांक्षी रहेका छन् । यस्तै, अध्यक्षमा अन्य नेताको नाम पनि चर्चामा आएको भएपनि श्रेष्ठ नै सर्वसम्मत अध्यक्ष बन्ने देखिएको छ । त्यस्तै, उपाध्यक्ष पदका लागि हरि कँडेल, मेख बहादुर थापा, मोहन विश्वकर्मा लगायतका नाम चर्चामा छ ।

यस्तै, लामो समय उपसचिव तथा एक महिना यता कार्यवहाक सचिव भएर जिम्मेबारी निर्वाह गरेको कारण सचिवको स्वभाविक हकदार आफु मात्र रहेको विष्णुभक्त सिग्देलले बताउँदै आएका छन् । प्रचार विभागको प्रमुख समेत रहेका सिग्देल आफु सचिव भएमा पार्टीलाई आधुनिक तथा डिजिटलाईज बनाउन र संगठन निर्माणको कामलाई प्रभावकारी बनाउन लागि पर्ने बताउँदै आएका छन् ।

यता कार्यालय सचिव राजेश्वर ढकाल पनि सचिव पदको आकांक्षीका रुपमा देखिएका छन् । एमालेकै समानान्तर कमिटी निर्माणको कालमा कार्यालय सचिवको रुपमा पार्टी कार्यालयको सुरक्षा तथा पार्टीको महत्वपूर्ण दस्तावेजको सुरक्षा एवं पार्टीलाई यहाँसम्म ल्याईपुर्‍याउन सबैभन्दा महत्वपूर्ण भुमिका निर्वाह गरेको कारण पनि यस पटक आफु सचिवको हकदार रहेको ढकालले बताउँदै आएका छन् ।

त्यसैगरि उपसचिवमा पनि दुइ भन्दा बढि नेताहरु आकांक्षी देखिएका छन् । उपसचिवमा हालका सचिवालय सदस्य एवं व्यास नगर इन्चार्ज प्रदिप अधिकारीको चर्चा चलेको छ । अर्को एक उपसचिव समावेशी बनाउनु पर्ने कारणले महिला, दलित र जनजाती समुदायबाट हुने बताइएको छ । देवु विष्ट, खिमबहादुर कुमाल, कलाकुमारी ढकाल, सागर क्षेत्री, बाबुराम अधिकारी लगायतको नाम पनि उपसचिव पदका दाबेदारको रुपमा चर्चा चलेको छ । यस्तै, खुल्ला सदस्यहरुमा पनि आकांक्षीको संख्या बढ्दै गएको छ ।

दमौलीस्थित खुल्लामैदानमा उद्घाटन र दमौली पार्टी प्यालेसमा बन्दसत्र गरिने भएको छ । सचिव सिग्देलले भने, ‘अधिवेशनको प्रचारप्रसारका लागि स्वागतद्वार, बजार क्षेत्रमा झण्डा राख्ने काम पुरा भएको छ । सभ्य र भव्य रुपमा महाधिवेशन सम्पन्न गर्न हाम्रो सबै संयन्त्र परिचालित भएको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker