दमौलीका निजी अस्पताललाई राष्ट्रिय युवा संघको ध्यानाकर्षणपत्र
भञ्ज्याङ समाचारदाता/दमौली

राष्ट्रिय युवा संघ व्यास नगर कमिटीले दमौली बजारभित्र सञ्चालित अस्पताललाई ध्यानाकर्षण पत्र बुझाएको छ । संघका अध्यक्ष अजित पन्तको नेतृत्वमा बुधबार दमौलीभित्र सञ्चालित विभिन्न अस्पताललाई ध्यानाकर्षण पत्र बुझाउँदै मापदण्ड बमोजिम अस्पताल सञ्चालन गर्न आग्रह गरिएको हो ।
नेपाल सरकारले जारी गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० तथा स्थानीय तहमा स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण सम्बन्धी निर्देशिका २०७४ ले अस्पतालमा उपचारका लागि आउने विपन्न असहाय तथा बेबारिसे बिरामीका लागि कुल शैय्याको दश प्रतिशत शैय्या छुट्याइ निःशुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउन ध्यानाकर्षण गराइएको छ ।
उक्त निर्देशिकामा भएको व्यवस्था अस्पतालहरुले हालसम्म कार्यान्वयन नगरेकाले उक्त व्यवस्थाको कडाइका साथ कार्यान्वयन गर्न ध्यानाकर्षण गराइएको पन्तले बताए । साथै अस्पतालमा कार्यरत स्टाफ नर्स, फार्मेसिष्ट, ल्याव टेक्निसियन तथा अनमीहरुलाई सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक उपलब्ध गराइ काम लगाउन अनुरोध गरिएको छ ।










