उपनिर्वाचन : चितवन र बाराजस्तै तनहुँमा पनि हेभिवेट भिडन्त

भञ्ज्याङ समाचारदाता/तनहुँ

गत मंसिरको आम चुनावका बेला देखिएको राष्ट्रिय चासो वैशाखको उपचुनावमा पनि देखिने पक्का भएको छ । राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका हेभिवेट उम्मेदवारहरु आगामी १० वैशाखमा हुने उपचुनावमा खडा हुने भएकाले यो चुनावको महत्व अरु बेलाका उपचुनावभन्दा बढ्ता देखिएको हो ।

चितवन २ मा यसअघि निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद नागरिकता प्रमाणपत्रका कारण खारेज भएको थियो । यसबीचमा उक्त मुद्दा निप्टारा लागे पनि गुमेको पद प्राप्त गर्न उपचुनावमा चुनिएरै आउनुपर्ने हुन्छ । रविको प्रतिस्पर्धीका रुपमा कांग्रेसले जीतनारायण श्रेष्ठलाई उम्मेदवार चयन गरेको छ । चितवन कांग्रेसका पूर्वसभापति रहेका श्रेष्ठ १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए ।

एमालेले यसअघि उठाएका उम्मेदवार कृष्णभक्त पोखरेलको ठाउँमा अर्को उम्मेदवार दिने सम्भावना छ । उपराष्ट्रपति रामसहायप्रसाद यादव यसअघि चुनिएको बारा-२ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वयं लड्न जाँदैछन् । सप्तरी-२ मा चुनाव हारे पनि बारा-२ को बाटो हुँदै संसद छिर्ने उपेन्द्रको चाहनाकै लागि रामसहायले उपराष्ट्रपतिको प्रस्ताव स्वीकार गरेका थिए ।

यति हुँदाहुँदै पनि उपेन्द्रलाई सजिलो भने हुने छैन । किनभने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आफ्ना एक शीर्षस्थ नेता राजेन्द्र महतोलाई त्यहाँ उम्मेदवार बनाउँदैछ । लोसपा नेता महतोले बाराका जनताले आफूलाई खोजेको दाबी गरे । आफू सर्लाहीबाट आम चुनावमा पराजित भए पनि बाराका जनताले प्रतिनिधिसभामा हेर्न चाहेको बताए ।

‘मलाई त्यहाँबाट धेरै फोन आयो, त्यसैले लड्न जाँदैछु’ महतोले भने, ‘तपाईं हेर्नुहोला, म जित्छु । जितेर आउँछु ।’ अनि यसअघि रामसहायसँग ३५० मतले पराजित शिवचन्द्र कुशवाह आफ्नो पुरानो दल माओवादी केन्द्र त्यागेर जनमत पार्टी प्रवेश गरेका छन् । उनलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले उम्मेदवार बनाउने प्रस्ताव गरिसकेका छन् । राउत तिनै नेता हुन्, जसले उपेन्द्रलाई मंसिरमा सप्तरीबाट हराएका थिए ।

विश्लेषक झलक सुवेदीको भनाइमा आम चुनावबाट हारे पनि उपचुनावबाट आउन खोज्नुले उपेन्द्रको महत्वाकांक्षा दर्शाउँछ । ‘सुनसरीका उपेन्द्रलाई सप्तरीमा हारेर बारामा लड्न आउनुपर्ने स्थिति शक्तिकेन्द्रित राजनीतिले नै ल्याएको हो’ सुवेदीले भने, ‘राजनीतिमा नैतिकताको कुरा तपसिल हो भन्ने देखियो, केवल शक्तिको खेला मात्रै हो भन्ने उपचुनावमा प्रमाणित हुँदैछ ।’ बारा-२ मा नेकपा एमालेले भने उम्मेदवार तय गरिसकेको छैन । उपमहासचिव विष्णु रिमालले शुक्रबारसम्म उम्मेदवार टुंगो लगाउने बताए ।

चितवन, बाराजस्तै तनहुँ पनि हटस्पट बन्दैछ, जहाँबाट यसअघि जित्दै आएका रामचन्द्र पौडेल भर्खरै राष्ट्रपति बनेका छन्। त्यस ठाउँमा कांग्रेसले पठाउँदैछ केन्द्रीय सदस्य गोविन्द भट्टराइलाइ । उनीसँग लड्नका लागि एमालेले स्थायी कमिटी सदस्य किरण गुरुङलाई पठाउने प्रबल सम्भावना छ । यिनै दुइ उम्मेदवारको बीचमा रोचक प्रवेश हुँदैछ स्वर्णिम वाग्लेको।

यसअघि कांग्रेसको घोषणापत्र मस्यौदा समितिका संयोजक रहेका वाग्ले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । उनी कांग्रेसकै तर्फबाट आयोगमा गए पनि पछिल्लो समयमा सभापति शेरबहादुर देउवाको हेपाइका कारण बस्न नसकेको जिकिर गर्दै पार्टी परित्याग गरेका छन् । रास्वपाले उनलाई तनहुँ १ मा उम्मेदवार बन्न प्रस्ताव गरिसकेको छ । वाग्लेको प्रवेशकै कारण अब तनहुँ १ को उपचुनाव पनि रोचक मोडमा पुग्ने पक्कापक्की भएको छ ।

स्थापित पार्टीहरुमा आम चुनावकै बेला युवाहरुको प्रश्न उठेको देखिए पनि उपचुनावका बेला त्यो क्रम अझै बढ्ने देखिएको विश्लेषक सुवेदी बताउँछन् । ‘आम चुनावभन्दा पनि कतिपय अर्थमा उपचुनाव रोचक बन्ने देखिंदैछ’ उनले भने, ‘ठूला पार्टीहरुलाई आफ्ना निर्णयहरुको पुनर्विचार गर्ने, अनि आत्मसमीक्षाका लागि ठाउँ समेत खोल्न सक्छ ।’

एमालेबाट ६ जना आकांक्षी

नेपाली काँग्रेसले उम्मेदवार छनौट गरिसक्दा एमालेले भने बल्ल उम्मेदबारको आकांक्षीको नाम संकलन गरेको छ । विहीबार पार्टी कार्यालय दमौलीमा बसेको क्षेत्रीय कमिटीको बैठकले आकांक्षी ६ जनाको नाम जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमा पठाउने निर्णय गरेको छ ।

बैठकमा नेपाल प्रहरीका पुर्व आईजिपी सर्वेन्द्र खनाल, केन्द्रीय सहकारी विभागका सदस्य परितोष पौडेल, केन्द्रीय उद्योग विभागकी सदस्य सोभा गुरुङ्ग, प्रदेश कमिटीका सदस्य रामबहादुर गुरुङ्ग, जिल्ला सल्लाहाकार मोहन सुनार र भानुका कार्यकर्ता किरण धितालले उम्मेदबारको लागि कमिटीमा नाम टिपाएका छन् ।

बैठकले उनीहरुको नाम वर्णानुक्रमको आधारमा माथिल्लो कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ । भानु, आवुँखैरेनी, देवघाट र बन्दिपुर तथा व्यासका अधिकांश सहभागीले ६ जना विच सहमती नभए मतदानको प्रक्रियाबाट भएपनि एक जनाको नाम मात्रै सिफारिस गर्नुपर्ने माग गरेका छन् ।

नेकपा एसले श्रेष्ठलाई उठाउने

यस्तै, नेकपा एकीकृत समाजवादी तनहुँले वैशाख १० गते हुने उपनिर्वाचनमा पिएल श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको बैठकले पोलिटव्युरो सदस्य समेत रहेका श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। नेकपा एसका अध्यक्ष श्रीराम कार्कीले मसिर ४ गते निर्वाचनमा आफ्नो पार्टीलाई अन्याय भएकाले यो पटक आफूहरुको शसक्त दावा सहित उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker