तनहुँको बन्दिपुरमा आवासको अधिकार सम्बन्धी अन्तरक्रिया
भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिका-१ मा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँले आवासको अधिकार विषयमा सरोकारवालाहरु बिच अन्तरक्रिया गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको आवास सम्बन्धी कार्यक्रम र नेपाल सरकार तथा गाउँपालिकाको आवास सम्बन्धी नीति तथा कार्यान्वयनको अवस्थाको बारेमा सरोकारवालाहरुलाई जानकारी दिने, सुझाव संकलन गर्ने तथा समस्या पहिचान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै बन्दिपुर-१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको आवास सम्बन्धी हकलाई गाउँपालिकाले पनि उचित सम्बोधन गरेको बताए। उनले आवास विहिनहरुको लागि आवास निर्माण, खरको छानो मुक्त घर तथा जनता आवास कार्यक्रम सन्चालन गरिएको जानकारी गराए ।
गाउँपालिकामा भुकम्पबाट क्षती भएको तर्फ३२७ जना लाभग्राहीको सुचिमा भएपनि ३५१ जना लाभग्राहीले घर बनाएको वडा अध्यक्ष पोख्रेलले बताए । त्यसमध्ये २८३ जनाले दोश्रो किस्ताको रकम बुझेको र २६ जनाले मात्र तेश्रो किस्ताको रकम बुझेका छन् ।

त्यसैगरि खरको छानो मुक्त कार्यक्रम तर्फ१९१ जना वडा कार्यालयहरुबाट सिफारिस भएकोमा १६० जनाले खरको छानो हटाउन ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्राकृतिक प्रकोपको कारण घर क्षती भएकाहरुको घर निर्माणको लागि सम्झौता भईसकेपनि रकम प्राप्त भई नसकेको वडा अध्यक्ष पोख्रेलले बताए । सबै नागरिकलाई सुरक्षित आवासको व्यवस्था गर्न गाउँपालिका लागि परेको उनको भनाई छ । उनले भने, ‘पहिलेदेखि नै घर नभएका मात्र हैन, प्राकृतिक प्रकोपको कारण घर भत्किएका नागरिकलाई पनि आवास निर्माण गर्न गाउँपालिकाले बजेट बिनियोजन गरिने भएको छ ।’
वडा नम्बर १ का वडा अध्यक्ष अमृत शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा विष्णु माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण अधिकारी, स्थानीय अगुवा गोविन्दप्रसाद अधिकारी, सिके विके क्याम्पसका प्राध्यापक बद्रिकुमार श्रेष्ठ, भंगेरी आधारभतु विद्यालयका प्रअ टिकाराम गिरी लगायतले आवासको अधिकारको बारेमा संविधानमा भएका व्यवस्थाको कार्यान्वयनको बारेमा राखिएको जिज्ञासामा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टर्राईले सहजिकरण गरेका थिए ।










