कांग्रेस तनहुँको स्पष्टीकरण

दमौली : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँका वडा अधिवेशनमा मतदान अधिकृतका रूपमा खटिएका शिक्षकबाट सहयोग लिएको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति नेपाली कांग्रेस तनहुँले ध्यानाकर्षण जनाएको छ ।

नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै शिक्षकहरूले मतदान अधिकृतका रूपमा सहयोग गरेको विषयलाई ‘शिक्षकहरूले राजनीति गरे’ भन्ने भाष्यमा प्रचार गरिएको भन्दै आपत्ति जनाएको हो ।

कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानले प्रत्येक नागरिकलाई आफू संलग्न पेशा, व्यवसाय वा सेवाका क्षेत्रमा आफ्नो सीप, दक्षता, ज्ञान र अनुभवको उपयोग गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गरिएको छ । शिक्षक, प्राध्यापक, कर्मचारी वा अन्य पेशागत क्षेत्रमा संलग्न हुँदैमा आफ्नो पेशागत ज्ञान, सीप र दक्षताको उपयोग गर्न नपाउने अर्थ नलाग्ने कांग्रेसको भनाइ छ ।

कांग्रेसले पार्टी विधान तथा प्रचलित कानुनी व्यवस्थाअनुसार विभिन्न तहका अधिवेशन निर्धारित प्रक्रियाबाट सम्पन्न गर्नुपर्ने भन्दै अधिवेशनलाई व्यवस्थित, निष्पक्ष र विश्वसनीय बनाउन आवश्यक प्राविधिक तथा व्यवस्थापकीय दक्षता भएका जनशक्तिको सहयोग लिनु स्वाभाविक र आवश्यक विषय भएको जनाएको छ ।

कुनै शिक्षक वा अन्य पेशागत व्यक्तिले आफ्नो पेशागत दक्षताका आधारमा अधिवेशनमा सहयोग गर्नु मात्रलाई राजनीतिक गतिविधिमा संलग्न भएको अर्थमा बुझ्न उपयुक्त नहुने विज्ञप्तिमा उल्लेख छ । सम्बन्धित कार्यालय वा संस्थाको नियमित काममा बाधा नपर्ने गरी तथा प्रचलित कानुन र सम्बन्धित सेवाका सर्तहरूको अधीनमा रहेर कर्मचारी, शिक्षक, प्राध्यापक वा अन्य पेशागत जनशक्तिबाट उनीहरूको सीप, दक्षता र अनुभवअनुसार सेवा लिनु कानुनसम्मत र स्वाभाविक प्रक्रिया भएको कांग्रेस तनहुँले स्पष्ट पारेको छ ।

कांग्रेस तनहुँले सामान्य तथा पेशागत प्रकृतिको सहयोगलाई अतिरञ्जित गरी कुनै व्यक्ति वा पेशागत समुदायलाई ‘राजनीति गरेको’ भन्ने अर्थ लाग्ने गरी प्रचार–प्रसार नगर्न सञ्चारमाध्यमसहित सम्बन्धित सबैमा आग्रह गरेको छ । विषयको वास्तविकता र कानुनी पक्ष बुझेर मात्र समाचार सम्प्रेषण गर्न पनि कांग्रेसले अनुरोध गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker