तनहुँको मुसेखोला र थर्पुमा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाद्वारा निस्कृय
भञ्ज्याङ न्यूज

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१ मुसेखोलामा र म्याग्दे गाउँपालिकाक-२ जामुने स्थित साठीमुरे पुलमा सोमबार फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निस्कृय पारेको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका पार्टीको आहृवानमा गरिएको नेपाल बन्दका क्रममा राजमार्ग छेउमा भेटिएका शंकास्पद वस्तु चापाघाटस्थित कालीभञ्जन गण -इ) का सेनाले निस्कृय पारेको हो

दुबै स्थानमा भेटिएको शंकास्पद वस्तु बम नभएको र जामुनेमा भेटिएको प्रेस कुक्करभित्र ढुंगामाटो र काठका टुक्रा भेटिएको तनहुँ प्रहरीले जनाएको छ । प्लाष्टिकले बाँधेर सर्वसाधारणलाई तर्साउनका लागि उक्त वस्तु राखिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले बताए ।
नेपाल बन्दको प्रभावमा तनहुँ पनि परेको छ । यातायातका साधनलाई प्रहरीले सुरक्षा दिएर सञ्चालन गरिरहेको छ । बजार क्षेत्र भने बन्द छ । औषधि, तरकारी, फलफूल लगायतका अत्यावश्यक पसल खुल्ला छन् । जिल्लामा हालसम्म कुनै अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ ।

एमसिसीको विरोधमा भन्दै आव्हान गरेको नेपाल बन्दका कारण सोमबार तनहुँका बजार क्षेत्र पूर्णरुपमा प्रभावित भएका छन् । बन्दका कारण शैक्षिक संस्था पूर्णरुपमा बन्द हुन पुगे । बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालयहरु खुल्ला रहेपनि सेवाग्राहीको उपस्थिति भने न्यून देखिएको थियो ।
बन्दका कारण पृथ्वीराजमार्गमा न्यून रुपमा सार्वजनिक यातायातका साधान चलेपनि भित्री तथा ग्रामीण सडकमा भने र्सार्वजनिक यातायातका साधान सञ्चालन हुन सकेका छैनन् ।











