भाइरल मानहुँकोट

  • सम्पादकीय

कोरोना कहरका कारण अहिले पर्यटकीय गतिविधि थलपरेको छ । सरकारले सन् २०२० लाई पर्यटन वर्षका रुपमा घोषणा गरी त्यहि हिसाबमा तयारी पनि गरेको थियो । तर, कोरोना भाइरस (कोभिड-१९) संक्रमण त्रासका कारण गत चैत्र महिनादेखि गरिएको लकडाउनका कारण भ्रमण वर्षै स्थगित हुन पुग्यो । नेपालको आर्थिक समृद्धिको एउटा मुख्य कडि पर्यटन पनि हो । धार्मिक, साँस्कृतिक, ऐतिहासिक, प्राकृतिक, साहित्यिक लगायत विविध आयमले नेपाल भरिपूर्ण छ । यी सम्पादाहरुले आन्तरिक मात्र होइन् वाह्य पर्यटकलाई पनि लोभ्याउँदै आएको छ । यीनै सम्पदा मध्ये एउटा तनहुँको मानहुँकोट पनि हो । प्राकृतिक मात्र होइन ऐतिहासिक महत्व समेत बोकेको मानहुँकोट अहिले युवापुस्ता बीच भाइरल बनेको छ । अर्थात बढ्दो प्रविधिको प्रयोगसंगै सबैको हातहातमा पुगेको स्मार्ट फोन र विकास भएका सामाजिक सञ्जालको माध्यमले अहिले मानहुँकोट भाइरल बनेको छ । सबैको रोजाई र खोजीको स्थान बनेको छ मानहुँकोट । यो सकरात्मक पाटो पनि हो ।

तर, अहिले विश्वलाई चुनौती दिएर मानव जीवनलाई नै संकटमा पारेर फैलिएको कोरोना भाइरस संक्रमण जोखिम व्याप्त छ । यो जोखिमलाई समेत बेवास्ता गरी दशैं पर्व लगत्तैदेखि मानहुँकोटमा विशेष गरी आन्तरिक पर्यटकको ओहिरोनै लाग्यो । जुन यहाँका बासिन्दाले कल्पना समेत गरेका थिएनन् कि यसरी मानहुँकोट सामाजिक सञ्जालमा भाइरल हुन्छन र एकैदिन हजारौको संख्यामा पर्यटक आइपुग्छन् । तर, भयो यस्तै । कोरोना जोखिमलाई समेत ध्यान नदिइकन मुलुकका विभिन्न स्थानबाट पर्यटकहरुको आगमन भयो । पर्यटन क्षेत्रमा यो सकरात्मक सन्देश हो । तर, अहिले यो अवस्थालाई सकरात्मक मान्न सकिदैन ।

तनहुँको सदरमुकाम दमौली बजारबाट करिब छ किलोमिटरको दुरीमा व्यास परासर र व्यास नगरपालिकाकै शिर बनेर ठडिएको छ मानहुँकोट । समुन्द्र सतहदेखि करिब एघार सय मिटर उचाइमा फैलिएको मानहुँकोटका बासिन्दाले सहज रुपमा आधारभूत सेवा समेत उपभोग गर्न नपाएपछि उजाडिदै गएको छ। कुनै सयम सात सय मानहुँको परिचय बोकेको यहाँ अहिले सात घरमात्र बाँकी छन् । त्यो पनि कहिलेसम्म यी घर रहन्छन – भन्न सकिने अवस्था छैन । यहाँको मुख्य समस्या पानीको छ । सहज रुपमा पानी उपभोग गर्न नपाउँदा यहाँका बासिन्दा सेवासुविधाको खोजीमा दमौली लगायत अन्य बजार क्षेत्रमा बर्साई सरेका छन् ।

अहिले मानहुँकोटसम्म विद्युतीकरण गरिएको छ, सडक पुगेको छ, अभाव पानीको नै छ । पानी नभएपछि मानिसहरु सहज रुपमा बस्न सक्ने अवस्था छैन । तर, अचानक अपत्यारिलो रुपमा मानहुँकोट आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेपछि भने यहाँका बासिन्दालाई मात्र होइन व्यास नगरपालिकालाई पनि चुनौती मात्र होइन अवसर समेत बनेर आएको छ । यस तर्फस्थानीय र नगरपालिकाले समयमै खानेपानीको व्यवस्थापन गरी ग्रामीण पर्यटन प्रवर्द्धनका लागि आवश्यक पर्ने पूर्वाधारहरु तयर गर्न ध्यान दिन सक्नु पर्छ । आवश्यक पूर्वधार समयमै तयार गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकियो भने उजाडिएको मानहुँकोटलाई पुनः हरभर बनाउन सकिन्छ । गाउँ छाडेर अन्यत्र गएका मानहुँङेलाई पुनः गाउँ र्फकने अवसरका साथै गाउँमै आर्थिक उपार्जनको पाटो पनि बन्ने छ । नगरपालिकाले मानहुँलाई पर्यटकीय स्थलका रुपमा लिए पनि सोही अनुसारको पूर्वाधार तयार गर्न भ्याएको थिएन् ।

तर, एकाएक पर्यटकको संख्या हृवात्तै बढ्दा पूर्वाधार तयार गर्न ढिला गर्न नहुँने र द्रुत गतिमा तयार गर्नुपर्ने सन्देश पनि दिएको छ । यो डाडो आफैंमा भ्यू टावर भएको हुँदा सूर्योदय र सूर्यास्त, उत्तरतर्फा हिमश्रृंखला, दमौली बजार लगायत हरिया पहाडका टाकुराहरु सहजै अवलोकन गर्न सकिने भएकाले अहिले सामाजिक सञ्जालमा यहाँको सुन्दर पक्ष भाइरल भएको छ । यसलाई समयमै व्यवस्थित गर्न नसके यो सुन्दर पक्ष धमिलिन सक्छ । नकरात्मक टिकाटिप्पणी भाइरल भएमा मानहुँले मात्र होइन नगरपालिकाले पनि क्षति व्यहोर्नुपर्ने हुन्छ । त्यसैले यस तर्फसमयमै सबै सचेत र हातेपालो गरी अगाडि बढौ । मानहुँको सुन्दर पक्षलाई सामाजिक सञ्जालमा मात्र होइन् हरेकको रोजाई र खोजाईको केन्द्रका रुपमा विकास गरौं ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker