भानु नगरपालिकाका बालबालिकाहरु बीच नगरस्तरीय अतिरिक्त क्रियाकलाप
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाका विद्यालयका बालबालिकहरु बीच नगरस्तरी अतिरिक्त क्रियाकलाप प्रतियोगिता गरिएको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा तीनवटा केन्द्रमा नगरस्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता गरेको हो ।
आधारभूत तह कक्षा ६-८ को गायन तथा नृत्य, कक्षा ४-५ का लागि हिसाब दौड र कक्षा १-३ का लागि चित्रकला प्रतियोगिता गरिएको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले बताए । उनले भने, ‘बालबालिकामा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्नुका साथै उनीहरूमा सिर्जनशीलताको विकासमा थप हौसला र प्रेरणा दिने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको हो ।’
भानु नगरपालिकाको आन्तरिक स्रोतबाट सञ्चालन गरिएको चालू आर्थिक वर्षको वार्षिक कार्य अन्तर्गत आयोजित प्रतियोगितामा पुर्वी क्षेत्रको चोक माध्यमिक विद्यालय भानु-१० रामपुरटारमा, मध्य क्षेत्रको होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय भानु-२ नारेश्वरटारमा र पश्चिम क्षेत्रको चन्द्रावती माध्यमिक विद्यालय भानु-७ चुँदीमा सम्पन्न गरिएको शिक्षा अधिकारी पौडेलले बताए ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले चोक मावि रामपुरटार केन्द्रमा सञ्चालन गरेको गायन तथा नृत्य (कक्षा ६-८) प्रतियोगितामा चोक मावि प्रथम, कालिका मावि डुम्रिखर्क भानुु-९ द्धितीय र राष्ट्रिय मावि मयाखु भानु-११ तृतीय हुन सफल भएको थियो । त्यस्तै, हिसाब दौड प्रतियोगिता (कक्षा ४-५) प्रथम सुवर्ण मल्ल ठकुरी, पुर्कोट ल्याण्ड स्टार इ बो बाइसजँघार, द्वितीय आयुष ढुङ्गाना, त्रिभुवन मावि मानेचौका र सन्देश न्यौपाने, जनजागृति मावि तुरतुरे तृतीय हुन सफल भएका छन् ।
यस्तै, सोही केन्द्रमा आयोजित चित्रकला प्रतियोगिता (कक्षा १-३) को प्रथम दिप्सना नेपाली, चोक मावि रामपुरटार, द्वितीय विवश परियार, निर्जला आवि देउरालीटार र प्रतिज्ञा बसेल, जनजागृति मावि चोकचिसापानी हुन सफल भएका छन् ।
होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक केन्द्रमा आयोजित गायन तथा नृत्य हो रा लो शाशिस मावि नारेश्वरटार प्रथम, शान्ति आवि खातीथोक द्धितीय र मनकामना सामुदायिक विद्या मन्दिर तृतीय हुन सफल भएका छन् ।
सोही केन्द्रमा भएको हिसाब दौड प्रतियोगितामा दिवासिस सिग्देल, फिस्टेल मावि भानु-१ प्रथम, सरस्वती क्षेत्री, मनकामना सामुदायिक विद्या मन्दिर द्धितीय र प्रियङ्का राना, मर्स्याङ्दी आवि खहरे तृतीय हुन सफल भएका छन् । यस्तै, चित्रकला प्रतियोगितामा निरञ्जन सुनुवार, फिस्टेल मावि प्रथम, सिमरन परियार, मनकामना सामुदायिक विद्या मन्दिर द्धितीय र अमित सुनार, विश्वज्योति प्रावि भकुन्थोक तृतीय भएका छन् ।
चन्द्रावती मावि चुँदी केन्द्रमा आयोगित गायन तथा नृत्य प्रतियोगितामा राष्ट्रिय आवि कवाजित भानु-१२ प्रथम, सहरामज्योति मावि द्धितीय र भानु संस्कृत मावि चुँदीगाउँ तृतीय भएका थिए । हिसाब दौड प्रतियोगितामा समिता मजकोटी, चन्द्रावती मावि प्रथम, आयुष परियार, सहरामज्योति मावि द्धितीय र एजीना खातुन, जनसहयोगी मावि समजुर तृतीय हुन सफल भएका छन् ।
यस्तै, चित्रकला प्रतियोगितामा अंकीत बसेल, भानु संस्कृत मावि प्रथम, साहिल विक, राष्ट्रिय आवि कवाजित द्धितीय र किसन परियार, चण्डिकालाल अमर प्रावि चन्दनी तृतीय भएका छन् । प्रतियोगिताका विजयी विद्यार्थीलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
गायन तथा नृत्यको प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ६ हजार ५००, ५ हजार ५०० र ४ हजार ५०० रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी हिसाब दौडमा विजयी विद्यार्थीलाई क्रमशः १ हजार ५००, १ हजार २००, १ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ भने चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई क्रमशः १ हजार २००, १ हजार र ८०० रुपैयाँ र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको नगर शिक्षा अधिकारी पौडेलले जानकारी गराए ।










