बन्दिपुरका वडा र स्वास्थ्य केन्द्रमा आफ्नै भवन
भञ्ज्याङ समाचारदाता/डुम्रे

बन्दिपुर गाउँपालिका मातहत रहेका छ वटा वडा र स्वास्थ्य केन्द्रका आफ्नै भवन निर्माण गरिएको छ । गाउँपालिका-२ को भवनबाहेक अन्य पाँच वडाको भवन निर्माण सम्पन्न भइसकेका छन् । ठेकेदारका कारण उक्त वडा भवन निर्माण कार्यमा ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।
पछिल्लो समय भवन निर्माण कार्यलाई तीव्रता दिइएकाले छिट्टै उद्घाटन गर्ने लक्ष्य राखिएको छ । वडा भवनका लागि गाउँपालिकाले रु ६४ लाखका दरले रु तीन करोड चौरासी लाख बजेट विनियोजन गरेको उनले बताए ।
त्यसैगरी छ वटै वडाहरूमा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण सम्पन्न गरिएको छ । स्वास्थ्य भवनका लागि गाउँपालिकाले रु ३८ लाखका दरले रु दुइ करोड २८ लाख बजेट विनियोजन गरेको थियो ।
कार्यालयका आफ्नै भवन नहुँदा भाडा र पुराना गाविसको भवनबाट सञ्चालन गर्दा कठिनाइका साथ सेवा प्रवाह गर्नुपरेको अध्यक्ष थापाले बताए ।
आफ्नै भवन निर्माणपश्चात् सेवाग्राहीलाई सेवा विस्तारमा सहज भएको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाले सोमबारदेखि सुकुम्बासीहरूलाई निस्सा वितरण कार्य थालेको छ ।
गाउँपालिका-१ का ७३, वडा नं ४ र ५ का १६० जना गरी कुल २३३ जनालाई निस्सा वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन । बाँकी तीनवटा वडामा पनि तत्कालै निस्सा वितरण गर्ने योजना रहेको छ । उनले भनिन्, ‘सदियौँदेखि पुर्जाविहीन बनेका सुकुम्वासीहरू पुर्जा पाएपछि हर्षित भएका छन् ।’










