पृथ्वीराजमार्गको आँवुखैरेनी-पोखरा खण्ड : संरचनाको क्षतिपूर्ति रकम नआउँदा सडक विस्तारले गति लिएन
भञ्ज्याङ समाचारदाता/दमौली

पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँवुखैरेनी-पोखरा खण्डको सडक विस्तारको काम अगाडि बढेको छ । दुइ खण्डमा विभाजन गरी सडक विस्तार कार्य अगाडि बडाइएपनि अहिले सडक सिमा भित्र रहेको भौतिक संरचनाको क्षतिपूर्ति बापत उपलब्ध गराउनुपर्ने रकम नआउँदा र विद्युत पोलको स्टमेट नआउँदा सडक विस्तार कार्यले गति लिन सकेको छैन ।
गण्डकी प्रदेशको ‘लाइफलाइन’ को रुपमा लिइएको मुग्लिङ-पोखरा सडक विस्तारको काम दुइ खण्डमा छुट्याएर अगाडि बढाइएको छ । पृथ्वीराजमार्ग अन्तर्गतको यो खण्डलाई चार लेनको बनाउन सडक सिमाभित्र पर्ने रुख काट्ने, सडक फराकिलो बनाउने, भत्किने संरचनाको सर्भे गरी क्षतिपुर्ति वितरण गर्ने लगायतका कार्य अगाडि बढाइएको छ ।
तर, सडक सिमाभित्रबाट हटाइनुपर्ने विद्युत पोलको स्टिमेट र भत्किने भौतिक संरचनाको मुल्याङ्कन गरी वितरण गर्नुपर्ने क्षतिपुर्ति रकम नआउदा सडक विस्तार कार्यले गतिलिन सकेको छैन ।
सडक विभाग आयोजना निर्देशनालय (एडीबी)ले पहिलो चरणमा मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गतको आँबुखैरेनी-पोखरा खण्ड निर्माण प्रक्रिया अघि बढाएको छ । यस अन्तर्गत आँबुखैरेनी-जामुने पूर्वी खण्ड र जामुने-पोखरा पश्चिम खण्डले सडक विस्तारको कामलाई अगाडि बढाएका छन् ।
सडक विस्तार कार्य अन्तर्गतको सडक सिमा भित्रका करिव तीन हजार १४ वटा रुखहरु काटिसकिएको र सडक फराकिलो बनाउने काम पनि भइरहेको पूर्वी खण्डका प्रमुख नगेन्द्र सुवेदीले बताए । उनले भने, ‘यस अन्तरगत आँबुखैरेनीबाट करिव २० किलोमिटर सडक फराकिलो बनाएर सकिएको छ । सडक सिमाभित्रका रुख कटान गर्ने कार्य ९० प्रतिशत सकिएको छ ।’
सडक फराकिलो बनाउँदा सडक जाम तथा दुर्घटना नहोस भनि चार ठाउँमा सडक डाइभर्सन गरी सडक फराकिलो बनाउने काम भइरहेको उनले बताए । सुवेदीले भने, ‘तर सडक सिमाभित्र पर्ने विद्युत पोलको लागत स्टमेट नआउँदा र पोलहरु नहटाइदा कामले सोचेजस्तो गति दिन सकिएको छैन ।’
‘दुइ महिना अगाडि नै विद्युत प्राधिकरण तनहुँलाई सडक सिमाभित्र पर्ने विद्युतको पोल हटाउन स्टमेट उपलब्ध गराउनका लागि पत्र काटेका थियौ, अहिले अन्तिम चरणमा पुगेको छ भन्ने सुन्नमा आएको छ’, उनले भने, ‘समयमा स्टिमेट नआउदा काममा प्रभाव परिरहेको छ ।’
यस्तै, पुर्वी खण्डमा सडक विस्ताको क्रममा सडक सिमा भित्र पर्ने व्यक्तिगत तथा अन्य घर, टहरा, पार्टीपौवा लगायतका संरचना गरी ५०५ वटा भौतिक संरचना भत्किने उनले बताए ।
‘पुर्व खण्डको दमौली र डुम्रे खण्डलाई नसमेटि ६ करोड रुपैयाँ बराबरको क्षतिपुर्ति व्यहोर्नुपर्ने र्सर्भेमा देखिएको छ’, प्रमुख सुवेदीले भने, ‘हालसम्म हामीलाई जम्मा ५० लाख रुपैयाँ बराबरको क्षतिपुर्तिको रकम उपलब्ध भएको छ । त्यसबाट पहिलो किस्ता अन्तरगत ४० प्रतिशतको दरले आँबुखैरेनी र बन्दिपुरका करिव ७५ वटा घरलाई रकम हस्तान्तरण गरिसकेका छौं ।’
यस्तै, पश्चिम सडकखण्डमा पनि सडक विस्ताको कामलाई तीव्रता दिइएको छ । तनहुँ खण्डको २ हजार २८० र कास्की खण्डको करिव नौं सय वटा रुख काटिएको पश्चिम सडकखण्डका प्रमुख अमित श्रेष्ठले बताए । ‘सडक विस्तारको लागि पुर्वतयारी भइरहेको छ’, उनले भने, ‘सडकसिमाभित्र पर्ने खानेपानीका पाइप, भौतिक संरचना, हटाउनुपर्ने विद्युतका पोलहरुको सर्भे भइरहेको छ ।’
आयोजना अन्तर्गत साना ठुला गरी पश्चिम खण्डमा १२ र पुर्वीखण्डमा १७ वटा पुलहरु निर्माण गरिनेछ । तनहुँ खण्डको मादी नदीको पुल र कास्कीको सेतीनदीको पुलको भने छुट्टै ठेक्का लागेको प्रमुख श्रेष्ठले बताए ।
पृथ्वीराजमार्गको करिब ७२ किलोमिटर सडक खण्ड तनहुँमा पर्दछ । यस खण्डभित्र आँवुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, घाँसीकुवा, तालघारे, दमौली, चापाघाट, जामुने, थर्पु, खैरेनीटार, दुलेगौंडा, कोत्रे लगायत सानाठूला बजार क्षेत्रहरु पर्दछन् । यी बजारहरु मध्ये बढि मात्रमा आँवुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, दमौली लगायतका बजार क्षेत्रका भौतिक संरचनाहरु प्रभावित हुने छन् ।
मुग्लिन-पोखरा सडक अन्तर्गतको पश्चिम खण्ड जामुने-पोखरा सडक निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड र पूर्व खण्ड आँबुखैरनी-जामुने सडक निर्माणको जिम्मा अर्को चिनियाँ कम्पनी कम्युनिकेशन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पाएको छ ।
राष्ट्रिय राजमार्गहरुको स्तरोन्नति र विस्तार गर्ने कार्यक्रम अन्तरगत साविक दुइ लेनमा रहेको मुग्लिन-पोखरा सडक खण्डलाई चार लेनमा विस्तार गरिने क्रममा तनहुँ क्षेत्रमा करिव ६ हजार ७५० रुख काटिने डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । यस्तै, सडक बिस्तारकै क्रममा कास्की खण्डमा एक हजार २५० वटा रुख कटान हुने बताइएको छ ।
मुग्लिन-पोखराको दूरी करिब ८८ किमि छ । जसमा आँबुखैरेनी-पोखराको लम्बाइ ८० किमि छ । निर्देशनालयले आँबुखैरेनी-पोखरा सडकलाई दुइ खण्डमा विभाजन गरेको छ । आँबुखैरेनी-जामुने (४१ कि.मि) पूर्वी खण्ड र जामुने-पोखरा (३९ कि.मि) पश्चिम खण्ड रहेको छ । आँबुखैरेनीदेखि मुग्लिन खण्डको ८ किलोमिटर दूरीको भने डिजाइन हुँदैछ ।
आगामी आर्थिक वर्षमा यो खण्डको पनि टेण्डर निकाल्ने तयारी भइरहेको जनाइएको छ । यो खण्डमा मर्स्याङ्दी जलविद्युत गृह रहेकोले सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखांकन नै परिवर्तन गर्ने तयारी भएको आयोजनाले जनाएको छ ।










