स्थानीय निर्वाचन : नेकपा एमाले तनहुँले सार्वजनिक गर्यो चुनावी प्रतिवद्धता पत्र
भञ्ज्याङ न्यूज

नेकपा एमाले तनहुँले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । जिल्लाका १० वटै पालिकाका कमिटीहरुले शुक्रबार एक कार्यक्रमका बीच प्रतिवद्धता पत्र र्सार्वजनिक गरेका छन् । एमाले तनहुँले जनताको आधारभूति आवश्यकाता र प्रत्यक्ष प्रभाव पार्ने विषयवस्तुलाई समेटेर प्रतिवद्धता पत्र तयार गरेको छ ।
जिल्लाका छ वटा गाउँ कमिटी र चार नगर कमिटीहरुले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आ-आफ्ना पालिकामा रहेका विषयवस्तुलाई समेटेर चुनावी प्रतिवद्धता पत्र तयार गरेका छन् । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी समुहसंग तालमेल गरी चुनावी मैदानमा उत्रने तयारी गरेको एमाले तनहुँले केही दिनमा संयुक्त चुनावी प्रतिवद्धता तथा घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ ।
‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास र रोजगार नेकपा एमालेको विजयमा सम्वृद्ध व्यास नगरपालिका’ भन्ने नाराका साथ व्यास नगर कमिटीले तयार पारेको स्थानीय तह निर्वाचन प्रतिवद्धता पत्र एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले सार्वजनिक गरेका थिए । सदस्य गुरुङले भिमाद नगर कमिटीले तयार गरेको प्रतिवद्धतापत्र समेत शुक्रबार सार्वजनिक गरेका छन् ।
चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्दै स्थायी कमिटी सदस्य गुरुङले पाँचदलीय गठबन्धन अवसरवादी गठबन्धन भएको र मुलुकको अग्रगतिमा बाधक बनेको बताएका छन् । यो सरकार जतिदिन रहन्छ, मुलुकले थप संकट व्यहोर्नुपर्ने बताउँदै उनले स्थानीय निर्वाचनमा पनि तनहुँमा एमालेले आफ्नो पकट जमाउनुपर्ने र त्यसका लागि सबै नेता तथा कार्यकर्तालाई आफ्नो सरकारको पालामा भएका राम्रो कामका विषयमा जनतामाझ पुर्याउन आग्रह गरे ।
संघीयताको कार्यान्वयन, जगैबाट लोकतन्त्रको सुदृढीकरण, आधारभूत तहबाटै विकास र समृद्धिको आधार निर्माण गर्ने स्थानीय तहको नेतृत्व आफ्नो दलले गर्दा मात्र राष्ट्रिय राजनीतिलाई सही बाटोमा फर्काउने कामको सुरुवात हुने चर्चा गर्दै उनले भने, ‘निर्वाचनमा आफुले चाहेको पदको उम्मदेवारमा टिकट पाइन भनेर चित्त नदुखाउनु होला, तालमेल गरेर जाँदा आउनुपर्ने व्यक्ति नआउन पनि सक्छ । तपाईहरु सबै योग्य हुनुहुन्छ, पार्टीलाई बलियो बनाउन तर्फहामी सबै लाग्नुपर्छ ।’
व्यास नगर कमिटीका अध्यक्ष विरेन्द्र बहादुर अधिकारीले स्थानीय निर्वाचनलाई लक्षित गरी शिक्षा तथा खेलकुद, सडक, यातायात, कृषि तथा पशुपंक्षी, पर्यटन पर्ूवाधार, स्वास्थ्य तथा सरसफाई, सामाजिक उत्तरदायित्व तथा सुरक्षा लगायतका विषयलाई समेटर प्रतिवद्धता पत्र तयार गरिएको जानकारी गराए ।

व्यास नगर कमिटीले शिक्षा क्षेत्रमा स्थानीय तहमा पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारी अध्यापनको सुनिश्चितता गर्ने, शिक्षालाई उत्पादन तथा रोजागरी व्यवसायसंग जोड्ने, आदिकवि भानुभक्त क्याम्पसलाई सरकारी क्याम्पसमा रुपान्तरण गर्न पहल गर्ने, खेलकुदका क्षेत्रलाई प्राथमिकतामा राखिने, नीजि विद्यालयहरुलाई स्तरीकरण गरी सोही अनुसार शुल्क निर्धारण गर्ने, सबै विद्यालयहरुमा कम्प्युटर मल्टिमिडीया इन्टरनेटको व्यवस्था गरी विद्यालयदेखि सञ्चार प्रविधिमा अभ्यस्त गराइने तथा आईसिटीको प्रयोगशालाबाट पठनपाठन कार्य गराउने व्यवस्था मिलाउने प्रतिवद्धता जनाएको छ ।
परम्परागत कृषि प्रणालीलाई आधुनिकिकरण एवं व्यवसायिकरण गर्ने, कृषकले उत्पादन गरी बिक्री गर्न नसकेको कृसिषजन्य सामाग्रिहरुको बिक्री व्यवस्था मिलाउने, प्रत्येक वडाको प्रकृति अनुसार विशेष उत्पादन पकेट क्षेत्र निर्धारण गरी आवश्यक सहयोग गर्ने लगायतका कृषि क्षेत्रका चुनावी प्रतिवद्धता तयार गरिएको छ । नगर कमिटीले जमिन बाँझो राख्न नदिने, बाँझो जमिनलाई उत्पादन कार्यका लागि प्रयोगमा ल्याउन पहल गर्ने समेत प्रतिवद्धता जनाएको छ ।
पर्यटन पूर्वाधार तर्फव्यास क्षेत्र, परासर क्षेत्र, तनहुँकालीका मन्दिर, तनहुँसुर मानुङकोट, छाब्दी मन्दिर जस्ता ऐतिहासिक, धार्मिक पुरातात्विक क्षेत्रको एकीकृत गुरुयोजना तयार गरी विकास गर्ने, विभिन्न जातजातिको भाषा, संस्कार, संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने, १०८ फिट अग्लो व्यासको मुर्ती निर्माणलाई तीब्रता दिने, एकीकृत पर्यटन विकास गरी रोजगारी सृजना गर्ने प्रतिवद्धता पत्र तयार गरिएको छ ।
यस्तै, खानेपानी तथा सरसफाई तर्फसबै घर परिवारमा स्वास्थ्यको पहुँच पुर्याउने, सरकारले उपलब्ध गारउने भनेको निःशुल्क औषधीको आपुर्तिमा ध्यान दिने, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, फोहोर मैला व्यवस्थापनलाई सहज बनाउने लगायतका सामाजिक उत्तरदायित्व तथा सुरक्षा व्यवस्थापनमा ध्यान दिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।










