डुम्रे टोल विकास संस्थाले भरिदियो अक्सिजनका खाली सिलिन्डर
भञ्ज्याङ समाचारदाता/डुम्रे

डुम्रे टोल विकास संस्थाले इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेमा रहेका अक्सिजनका खाली सिलिन्डर भरिदिएको छ । कोभिड-१९ को दोश्रो लहरको संक्रमण दर उच्च भइ अक्सिजनको अभाव हुँदा मृतकको संख्या समेत बढ्दै गएकापछि टोलको सक्रियतामा खाली सिलिन्डर भरिदएको हो । कोरोना संक्रमितको उपचारमा सहयोग पुर्याउन डुम्रे तथा अन्य बजार क्षेत्रबाट संकलन गरी राखिएको सिलिन्डरमा अक्सिजन भरेर प्रहरीलाई हस्तान्तरण गरिएको डुम्रे टोल विकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठले बताए । टोलको सक्रियतामा १९ थान खाली सिलिन्डरमा अक्सिजन भरिदिएको र बन्दिपुर गाउँपालिका-१ का अध्यक्ष भानुभक्त पोख्रेलले ती सिलिन्डर प्रहरी मुकाम डुम्रेका प्रहरी निरिक्षक प्रकाश भुषाललाई हस्तान्तरण गरेका छन् ।
यस्तै, टोलले प्रहरीलाई स्वास्थ्य सम्वन्धी अक्सिजन फ्लो मिटर, फ्लो पाइप, ओटु की, सेनिटाइजर, पिपिई, अक्सिजन पल्स मिटर, थर्मलगन लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ । टोल विकास संस्थाका अध्यक्ष श्रेष्ठले यस क्षेत्रका जनताहरूलाई समस्या परेको बेला तत्काल सेवा दिई जीवन रक्षा गर्ने उद्देश्यले सामाग्रीहरु सहयोग गरेको बताएका छन् ।
कार्यक्रममा खहरे विरुवा टोल विकास संस्थाका अध्यक्ष राजु खड्गी, गुरुङटारका अध्यक्ष विजय राना, हरिहर महिला समुहका अध्यक्ष सरिता पिया, मञ्जु प्रधान, स्थानीय मदन अधिकारी, सुमन श्रेष्ठ, नेपाल पत्रकार महासंघका तनहुँका उपाध्यक्ष डीपी अधिकारी, सञ्चारकर्मीहरु शिवकुमार श्रेष्ठ, रवीन्द्र कडेंल, अजिमा खातुन, प्रहरीहरु लगायतको उपस्थिति रहेको थियो ।
अस्पतालहरुमा बिरामीलाई उपचारको लागि अक्सिजनको अभाव भएपछि डुम्रे आसपासको वर्कशप र ग्यारेजहरुबाट भरी ८ थान र खाली २० थान सिलिण्डर डुम्रे मुकाम प्रहरीले पुनः फिर्ता गर्ने गरी संकलन गरेको थियो । हाल डुम्रे प्रहरीसँग जम्मा २७ थान भरी सिलिण्डर र १ थान खाली सिलिण्डर मौजत रहेको छ । यो सँगै डुम्रे, बन्दिपुर, भानु र गोरखाका केही स्थानीय नागरिकहरुलाई सहज हुने विश्वास गरिएको छ ।
डुम्रे टोल बिकास संस्थाले भरिदिएको १९ थन सिलिण्डर र संकलन गरिएको ८ थान भरी सिलिण्डर मध्ये बन्दिपुर अस्पताललाई १० थान सिलिण्डर उपलब्ध गराइएको छ । यस्तै, १० थान सिलिण्डर जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा भानुको सेपा बगैंचा स्थित पुरानडिहि सहरी स्वास्थ्य केन्द्रलाई उपलब्ध गराइने भएको छ ।










