पोषण सुधारका लागि ऋषिङ भिरकोटका कृषकलाई व्यवहारिक सिकाइ

ऋषिङ : पहाडी क्षेत्रमा कृषि उत्पादन वृद्धि तथा स्थानीय समुदायको पोषण सुधार गर्ने उद्देश्यले तनहुँको ऋषिङ गाउँपालिकामा सञ्चालित कृषक पोषण पाठशालामा लहरे तरकारी बालीको बिरुवा रोपण गरिएको छ ।
पहाडी क्षेत्र काष्ठ फल तथा फलफूल विकास आयोजना अन्तर्गत ऋषिङ गाउँपालिका–४ भिरकोटमा सञ्चालनमा रहेको भिरकोट कृषक पोषण पाठशालामा लहरे तरकारी बालीको बिरुवा रोपण कार्यक्रम सञ्चालन गरिएको हो।
उक्त कार्यक्रम जिएएफयसपीको आर्थिक सहयोग, वल्र्ड फन्ड प्रोग्रामको प्राविधिक सहयोग तथा ऋषिङ गाउँपालिकाको समन्वयमा आयोजना गरिएको हो । कृषक पोषण पाठशालाको सिकाइ स्थलमै स्थानीय कृषकहरूको सहभागितामा लहरे तरकारीका बिरुवा रोपेर व्यवहारिक अभ्यास गराइएको थियो ।
कार्यक्रममा कृषकहरूलाई पोषणयुक्त तरकारी उत्पादन, बाली व्यवस्थापन, खेती प्रविधि तथा घरपरिवारको पोषण सुधारका विषयमा जानकारी दिइएको थियो। साथै, लहरे तरकारी खेती गर्दा अपनाउनुपर्ने विधि, बिरुवा रोप्ने तरिका, मलजल व्यवस्थापन र उत्पादन बढाउने उपायबारे पनि कृषकलाई प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।
कृषक पोषण पाठशाला कार्यक्रमको मुख्य उद्देश्य कृषकलाई सिक्दै कमाउँदै गर्ने अवधारणा अनुसार व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै स्थानीय स्तरमै पोषणयुक्त तरकारी उत्पादनमा प्रोत्साहन गर्नु रहेको छ । यस कार्यक्रमले कृषकलाई कृषि उत्पादन बढाउन, घरपरिवारको पोषणस्तर सुधार गर्न तथा आयआर्जनका अवसर विस्तार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
कार्यक्रममा स्थानीय कृषक, परियोजनासँग आवद्ध प्राविधिक कर्मचारी तथा गाउँपालिकाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागी कृषकहरूले यस प्रकारको व्यवहारिक सिकाइले कृषि उत्पादनमा नयाँ सीप सिक्न र घरमै तरकारी उत्पादन गर्न थप प्रेरणा मिलेको बताएका छन् ।
पहाडी क्षेत्रका किसानलाई लक्षित गर्दै सञ्चालन गरिएको परियोजनाले कृषि उत्पादन वृद्धि, पोषण सुरक्षा र किसानको आयस्तर सुधार गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । कृषक पोषण पाठशालामार्फत किसानलाई आधुनिक कृषि प्रविधि, पोषणसम्बन्धी ज्ञान तथा व्यवहारिक अभ्यास प्रदान गरिँदै आएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
यस प्रकारका कार्यक्रमले स्थानीय कृषकलाई कृषि उत्पादनतर्फ आकर्षित गर्नुका साथै दिगो कृषि विकास र पोषण सुरक्षामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।










