तनहुँका मतदान केन्द्रमा निर्वाचनको तयारी : मतगणनास्थलमा सिसी क्यामेरासहित बार, तारजालीको व्यवस्था
भञ्ज्याङ समाचारदाता/दमौली

भोली बैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनको तयारी गरिएको छ । तनहुँका सबै मतदान स्थल तथा केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी, सुरक्षाकर्मीहरु पुगेर आवश्यक तयारीमा जुटेका छन् ।
निर्वाचनमा खट्टएिका मतदान अधिकृत तथा कर्मचारीहरुले विहीबार निर्वाचन आयोगले तोकेबमोजिम सर्वदलीय बैठक गरी आचारसंहिता तथा अन्य प्रक्रियालाई पालना गर्ने गराउने निर्णय समेत गरेका छन् ।
सौहार्दपूर्ण र पूर्ण सहमतिका साथ मतदान कार्य सम्पन्न गर्ने सर्वदलीय बैठकले निर्णय गरेको भानु नगरपालिका-२ नारेश्वरटार स्थित श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयको मतदान केन्द्रमका मतदान अधिकृत ध्रुवराज पौडेलले बताए ।
तनहुँका चार नगरपालिका र छ गाउँपालिका गरी १० वटा स्थानीय तहका ८५ वटा वडामा कायम गरिएको १३६ मतदान स्थलका २९७ मतदान केन्द्रमा खट्टएिका मतदान अधिकृत तथा कर्मचारीहरुले निर्वाचनका लागि आवश्यक पर्ने तयारी गरेका छन् ।
जिल्लाका सबै मतदान केन्द्रमा मतपत्र, मतपेटिका सहित ६१ निर्वाचन सामग्री पुर्याइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र उपलब्ध गराइएको छ भने जिल्ला निर्वाचन कार्यालयबाट मतपेटिका लगायत ६१ सामग्री उपलब्ध गराइएको छ । निर्वाचन कार्यालयले भने २९७ मतदान केन्द्रका लागि नै सामग्री प्रदान गरिसकेको निर्वाचन कार्यालयका प्रमुख हर्रि्रसाद ढकालले बताए ।
निर्वाचन सामग्री बुझेपछि सुरक्षा निकायको निगरानीमा कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रसम्म लगिएको छ । मतदान केन्द्रमा खटिने सबै कर्मचारी मतदान केन्द्रमा पुगेसंगै सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माणलगायत कामलाई अन्तिमचरणमा पुर्याएका छन् ।
निर्वाचनमा खटिने एक हजार ४८५ लाई मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति र तलबभत्ता उपलब्ध गराइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले बताए । जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी दुइ हजार ३७६ जनशक्ति परिचालन गरिएको छ ।
निर्वाचनका लागि २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक, २९७ सहयोगी परिचालन गरिएको छ । त्यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरिएको छ । तनहुँका दुइ लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार ८६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेका थिए ।
यस्तै, मतदान पश्चात सुरक्षित तरिकाले मतगणना गर्नका लागि तनहुँका मतगणनास्थल पनि तयारी गरिएको छ । जिल्लाका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल निर्माण गरी तयारी अवस्थामा राखेका मुख्य निर्वाचन अधिकृत ढुंगानाले बताए ।
तनहुँका १० वटै मतगणनास्थलमा सिसी क्यामेरासहित बास तथा तारजालीको व्यवस्था गरिएको छ । ३० गते हुने स्थानीयतहको निर्वाचनको मतदानपछि पालिकाले मतगणनाका लागि स्थलको तयारी पूरा गरिएको मुख्य निर्वाचन अधिकृत ढुंगानाले बताए ।
ढुंगानाका अनुसार जिल्लाका १० वटै मतगणनास्थल मत गणनाका लागि सुरक्षित बनाइएको छ । तनहुँको ४ नगरपालिका र ६ गाउँपालिकाको मतगणनाका लागि सिसी क्यामेरासहित बार तथा तारजालीको व्यवस्थापन गरेर मतगणना गर्ने तयारी गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत ढुंगानाका अनुसार व्यास नगरपालिकाको मतगणना जिल्ला समन्वय समितिको कार्यालयको तीन वटा कोठामा मतगणनास्थल तयार गरिएको छ । ती कोठाहरुमा बासको प्रयोग गरी बार हालिएको छ भने सिसी क्यामेर जडान गरेर तयारी अवस्थामा राखिएको छ ।
यस्तै, तनहुँका अन्य पालिकाको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले पनि पालिकाकै कार्यालयमै मतगणना स्थललाई सुरक्षित गरी तयारी गरेका छन् ।