मुग्लिन–आँबुखैरेनी सडक दिउँसो २ बजेसम्म पनि बन्द, राजमार्गमा यात्रु अलपत्र

मर्स्याङदी नदीमा खसेको भारतीय नम्बरको बस निकाल्न मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ३ घण्टा मात्रै बन्द गर्ने भनिए पनि साढे ७ घण्टा बित्तिसक्दा पनि खुलाइएको छैन ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता दिपक कुमार रायले बस निकाल्न नसकिएकाले बाटो खुल्न अझै केही घण्टा समय लाग्ने बताए । ‘एउटा मात्र क्रेनले बस निकाल्न नसकेपछि अहिले तीन वटा क्रेनले काम गरिरहेका छन्,’ उनले भने, ‘अबको डेढ दुई घण्टाभित्र राजमार्ग खुल्ला गर्ने तयारी भइरहेको छ । अब बस निकाल्न नसकिएपनि दुई घण्टाभित्र राजमार्ग खुल्ला गरिन्छ ।’
स्थानीय प्रशासनले तोकेको समय अवधिभन्दा बढी समयसम्म बाटो बन्द गरेर सवारी आवागमन बन्द गरिएपछि राजमार्गमा यात्रुहरु अलपत्र परेका छन् ।
तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले ३/४ घण्टाको समयमा दुर्घटनाग्रस्त बस निकाल्न सकिन्छ होला भन्ने हिसावले काम अगाडि बढाइएको थियो तर, क्रेनको तार चुडिएकाले समस्या आएको छ । उनले भने, ‘अहिले आँवुखैरेनी–पोखरा सडक विस्तार योजनाको समेत क्रेन लगेर बस तान्ने काम भइरहेको र अब बस निकाल्न नसकिएपनि अबको केही समयमा राजमार्ग खुल्ला हुन्छ ।’
यही भदौ ७ गते पोखराबाट भारतीय तिर्थयात्रीहरु लिएर काठमाडौं आउँदै गरेको भारतीय नम्बरको बस आँबुखैरेनी गाउँपालिकाको ऐनापहरा भन्ने स्थानबाट मस्र्याङ्दीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । शवहरु संकलन गरी भारत लगिए पनि बस नदीमै छ । त्यसलाई क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको छ ।
बस निकाल्न आज बिहान साढे ६ बजेदेखि बिहान १० बजेसम्म सडक पूर्णरुपमा बन्द हुने सूचना जिल्ला प्रशासन कार्यालय तनहुँ र डिभिजन सडक कार्यालयले जारी गरेका थिए । तर दिउँसो २ बजेसम्म पनि बस बाहिर निकाल्न सकिएको छैन र सडक पनि खुलाइएको छैन ।
सडक नखुल्दा सवारी साधनहरुको लामो लाइन लागेको छ । सवारी साधनहरुलाई आँबुखैरेनी र डम्फिनमा रोकेर राखिएको छ ।
सडक बन्द भएपनि विरामीहरुलाई मर्का नपरोस् भनेर सडकका दुवैतर्फ एम्बुलेन्सहरु राखिएका छन् । यदि कोही बिरामी भए उनीहरुलाई वारिपारि गराएर अस्पतालसम्म पु¥याउन सकियोस् भनेर एम्बुलेन्सको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।










