चन्द्रावती-पोखरीछाप सडक खण्ड : निर्माण पक्ष र पूर्वाधार कार्यालयको आ-आफ्नै तर्क

नारायण खड्का/तनहुँ

तनहुँको भानु नगरपालिका वडा नं. १३ को ‘चन्द्रावती-पोखरीछाप सडक खण्ड : ट्रयाक खनेको ३० वर्षसम्म पनि स्तरोन्नती हुन सकेन’ भन्ने शिर्षकको समाचार यसै पत्रिकाको मंगलबारको अंकमा प्रकाशित भएपछि निर्माण पक्ष सम्पर्कमा आएका छन् ।

सडक कालोपत्र गर्ने जिम्मा लिएको निर्माण कम्पनीको गम्भिर लापरवाही भएको भन्ने समाचार प्रकाशित पछि अहिले सडक निर्माणको जिम्मा लिएका संगम खड्काले पूर्वाधार कार्यालयले आफुले गरेको कामको भुक्तानी समयमै नदिदा काम अगाडि बढाउन नसकेको बताएका छन् ।

२०७८ माघ १५ गतेभित्र उक्त सडक खण्डको १० किलोमिटर सडक कालोपत्रे, नाला निर्माण तथा ग्याबिङ्ग जाली भर्ने लगायतका कार्य निर्माण सम्पन्न गर्ने गरी २०७६ कात्तिक ४ गते शंकरमाली कन्ट्रक्सन काठमाडौंले पूर्वाधार विकास कार्यालय तनहुँसंग सम्झौता गरेको थियो ।

सडक निर्माणको जिम्मा लिएको शंकरमालीले आफुले कामको जिम्मा लिए लगत्तै कोभिड-१९ संक्रमण फैलिदा मुलुक लकडाउनको अवस्थामा पुगेको र आवश्यक मजदुर समेत पाउन नसक्दा काम अगाडि बढाउन नसकेको बताउँदै कामलाई अगाडि बढाएको थिएन् ।

उक्त सडक खण्ड कालोपत्र लगायतका कार्य गर्न शंकरमालीले अहिले दोश्रो निर्माण व्यवसायीलाई जिम्मा दिएको छ । सडक निर्माणको काम निर्माण व्यवसायी संगम खड्काले जिम्मा लिएका छन् ।

सडक निर्माण सक्नुपर्ने समयसम्म कुनै पनि काम अगाडि नबढेको र उक्त काम अलपत्र बनेपछि आफुले शंकरमाली कन्ट्रक्सनसंग २०८० असार मसान्तसम्म सम्पन्न गर्ने र ठेक्काको म्याद थप लगायतका कानुनी प्रक्रियाका कार्य शंकरमालीले नै गर्नेगरी जिम्म लिएको खड्काले बताएका छन् ।

यता पूर्वाधार कार्यालयले शंकरमालीले ०७८ माघ १५ गतेभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको र सम्झौता अनुसार काम अगाडि नबढेपछि निर्माण पक्षको निवेदनमा छ महिना म्याद थपेको छ । थपिएको म्याद अनुसार यही असार ३० गतेसम्म सो सडक कालोपत्र लगायतका काम हुनुपर्नेमा अहिले मुस्किलले २० प्रतिशतको हाराहारीमा काम भएको पूर्वाधार कार्यालयले बताएको छ ।

गत माघ महिनाबाट उक्त अधुरो सडक खण्डको निर्माणको जिम्मा लिई काम अगाडि बढाएको निर्माण व्यवसायी खड्काले बताए । उनले भने, ‘अलपत्र भएको कामलाई ट्रयाकमा ल्याउन निकै समस्या भयो, सुरुवाती चरणमा स्थानीयहरुबाट पनि केही समस्या आए, त्यो समस्यालाई समाधान गरी सडक सिमाको कटान कार्य भएको र केही ठाउँमा नाला निर्माणको काम पनि भएको छ । तर, गरेको कामको पूर्वाधार कार्यालयले समयमै भुक्तानी नदिदा आर्थिक अभावका कारण समस्या आएको छ ।’

‘सडक निर्माणका लागि दुइ सय भन्दा बढि कामदार ल्याएकोमा स्थानीय केही व्यक्तिबाट कामदार भगाइयो, त्यसले पनि काममा समस्या आयो’, निर्माण व्यवसायी खड्काले भने, ‘यता भएको कामको पनि पूर्वाधार कार्यालयले विभिन्न समस्या देखाउँदै समयमा भुक्तानी नदिदा कामले गति लिन सकेको छैन । जुन उत्साहका साथ कामको जिम्मा लिएको थिए, सोही अनुसार काम गर्न नपाउँदा म आफु पनि आफ्नै काम प्रति सन्तुष्ट छैन ।’

बाढीले भत्काएको सडकमा तत्काल ग्रावेल गरी सवारी साधान सञ्चालन गर्न व्यवस्था मिलाउने बताएका खड्काले ठेक्काको जिम्मा लिएका शंकरमाली र पूर्वाधार कार्यालयले काम गर्ने वातावरण बनाएमा २०८० असार मसान्तसम्म सडक कालोपत्र लगायतका अन्य काम सम्पन्न गर्ने दाबी गरेका छन् ।

पूर्वाधार विकास कार्यालयका इन्जिनियर धनमाया मिश्रका अनुसार निर्माण कम्पनीले उक्त सडक खण्ड निर्माणका लागि २३ करोड २ लाख ८० हजार रुपैयाँमा सम्झौता गरेको भएपनि हालसम्म भौतिक प्रगति २० प्रतिशतको हाराहारिमा देखिएको छ ।

भानु मोटरमार्ग अन्तर्गत चन्द्रावाती-पोखरीछाप खण्ड बाढीले भत्काएपछि सोमबार बिहान जोखिमपूर्ण रुपमा यात्रु बहाक बस सञ्चालन गरिदै । तस्विर : भञ्ज्याङ

यस्तै, निर्माण पक्षले पहिलो चरणमा २ करोड ६८ लाख ६४ हजार १११ रुपैयाँ निकासा लिएको छ । पछिल्लो पटक कामको जिम्मा लिएका निर्माण व्यवासायी खड्काले सडक सिमाको कटिङ बाहेक अन्य संरचना निर्माणको करिब २५ लाख रुपैयाँ भुक्तानी दाबी गरेको र सडक सिमा कटिङको मूल्याङ्कन नभएको कार्यालयले जनाएको छ ।

निर्माण सक्नुपर्ने समयसम्म काम सम्पन्न नभएकाले आगामि असार ३० गतेसम्म म्याद थपिएको पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेश कुमार घिमिरेले बताए । सडक कालोपत्र लगायतका संरचना निर्माणका लागि छ महिना म्याद थपिएपनि निर्माण पक्षले कामको प्रगति देखाउन नसकेको र रकम भुक्तानी दाबी गरेपनि आन्तरिक राजश्व कार्यालयले तत्काल भुक्तानी नदिनु भनेकाले भुक्तानी रोकिएको प्रमुख घिमिरेले बताए ।

‘सडक निर्माणको जिम्मा लिएको शंकरमाली कन्ट्रक्शनले धेरै ठाउँमा काम लिएको र कही पनि राम्रो काम नगरेको अवस्था छ’, उनले भने, ‘चन्द्रावती-पोखरीछाप खण्डमा भएको कामको भुक्तानी दिन प्रक्रिया अगाडि बढिरहेको समयमा आन्तरिक राजश्व कार्यालयले शंकरमालीले राज्यलाई तिर्नुपर्ने राजश्व (कर) नतिरेको हुँदा तत्कालका लागि उक्त रकम भुक्तानी नगर्न भनि पत्र आएपछि भक्तानी रोकिएको हो ।’

यस्तै, निर्माण पक्ष शंकरमालीलाई हप्तैपिच्छे सम्पर्कमा आउनका लागि भन्दै पत्र पठाउने गरेपनि सम्पर्कमा नआएको प्रमुख घिमिरेले बताए । उनले भने, ‘हामीले कन्ट्याक्टरलाई पत्र लेखेर सम्पर्कमा आउन भनेका छौ, तर मुख्य कन्ट्याक्टर नभई दोश्रो निर्माण व्यवसायी संगम खड्का सम्पर्कमा आउने गर्नुभएको छ । जबसम्म शंकरमालीले राजश्व कार्यालयको समस्या समाधान गरी फुकुवा भएको पत्र ल्याउँनुहुन्न तबसम्म रकम भुक्तानी दिनसक्ने अवस्था छैन ।’

अब यो काम कसरी अगाडि बढ्छ भन्ने प्रश्नमा प्रमुख घिमिरेले भने, ‘कन्टयाक्टर सम्पर्कमा नआएको र म्याद पनि सकिन लागेको हुँदा अब सार्वजनिक खरिद ऐन अन्तर्गत अगाडि बढ्छौ । यस विषयमा मन्त्रालयलाई खबर गर्ने र ठेक्काको म्याद थप्ने वा नथप्ने मन्त्रालयलेनै निर्णय गर्छ र हामी पनि सोही अनुसार प्रक्रिया अगाडि बढाउँछौं ।’

प्रदेश सरकार अन्तर्गत रहेको सडकका लागि आर्थिक वर्ष २०७८/०७९ मा ३ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भएपनि निर्माण पक्षले काममा प्रगति देखाउन नसकेपछि भुक्तानी नभएको कार्यालयले जनाएको छ । २०४९ सालमा चन्द्रावतीबाट पोखरीछापसम्म सडक विस्तार गरी यातायातका साधन सञ्चालन हुँदै आएको छ । सडक सञ्चालनमा आएपछि हालसम्म यो सडकको स्तरोन्नती नहुँदा स्थानीयले सास्ति झेल्दै आएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker