भानुका सबै विद्यालयमा शिक्षक डायरीको प्रभावकारी ढंगले प्रयोग गराइने

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाका सबै सामुदायिक विद्यालयलाई वितरण गरिएको शिक्षक डायरीको प्रभावकारी ढंगले प्रयोग गराइने भएको छ । नगरपालिकाले आइतबार आयोजना गरेको भानु नगरस्तरीय सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकमा उक्त निर्णय गरिएको हो ।

बैठकले शिक्षक डायरीसंगै विद्यार्थीको हाजिरी रजिष्टरमा भर्नुपर्ने बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकास, स्वास्थ्य र सरसफाइ सम्बन्धी सम्पुर्ण विवरण भरी अद्यावधिक गराउने समेत निर्णय गरेको छ ।

नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल अध्यक्षतामा आयोजित बैठकमा शिक्षा अधिकृत सरस्वती गुरूङ ढकाल, शिक्षकका पेशागत संगठनका प्रमुखहरू र प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो । विद्यालयका शिक्षण सिकाइ क्रियाकलापहरू, शैक्षिक एवं प्रशासनिक क्षेत्रमा देखिएका समस्याहरू, विद्यालयले गरेका असल अभ्यासहरूका विषयमा बैठकमा छलफल गरिएको नगर शिक्षा अधिकारी पौडेलले बताए ।

अधिकांस माध्यमिक विद्यालयहरूले चालू शैक्षिक सत्रको एसइइ परीक्षालाई लक्षित गरी कक्षा १० का विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गरेको, साप्ताहिक रूपमा मूल्याङ्कन गर्ने गरेको, विद्यार्थीलाई होस्टेलमा राखी शिक्षकको निग्रानीमा विहान-बेलुका सघन रूपमा सिकाइ सहजीकरण गरिएको बैठकमा सहभागि प्रधानाध्यापकहरुले जानकारी गराएका थिए ।

यस्तै, भानु नगरस्तरीय परीक्षा समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरिनुका साथै विगतका आबधिक परीक्षाहरूको समीक्षा समेत गरिएको थियो । आगामी अन्तिम परीक्षालाई त्रुटीरहित, गुणस्तरीय र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि परीक्षा समितिले गरेका निर्णयहरू पनि बैठकमा जानकारी गराइएको थियो । यस्तै, भानुको शैक्षिक क्यालेन्डर अनुसार यथा समयमा पठनपाठन सम्पन्न गरी परीक्षा समितिले प्रदान गरेको जिम्मेवारी पुरा गर्ने प्रधानाध्यापमकहरुले प्रतिवद्धता जनाएका थिए ।

बैठकले चालू आव २०८०/०८१ का स्वीकृत कार्यक्रमहरू मध्ये भानु नगरस्तरीय शिक्षक मैत्रीपुर्ण भलिबल प्रतियोगिता यहि मिति २०८० माघ १९ र २० गते भानु-२ स्थित श्री होमराज लोहनी शारदा शिक्षा सदन मावि नारेश्वरटारको प्राङ्गणमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले फागुन ७ र ८ गते कक्षा ८ को आइटम निर्माण सम्बन्धी दुइ दिवसीय कार्यशाला सञ्चालन गर्ने, कक्षा ८ सञ्चालन भएका सबै विद्यालयबाट मुख्य पाँचवटा विषयका शिक्षकहरूलाई सहभागी गराउने र सहजकर्ताको रूपमा जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण लिएर आएका शिक्षकहरूलाई परिचालन गर्ने निर्णय गरिएको छ ।

फागुन २७ र २८ गते कक्षा ५ को पाठ्यक्रम प्रबोधीकरण तालिम सञ्चालन गरिने र कक्षा ५ सञ्चालित सबै विद्यालयबाट कक्षा पाँचमा अध्यापनरत १/१ जना शिक्षकलाई सहभागी गराइने बैठकले निर्णय गरेको छ ।

यस्तै, चैत्र २५ र २६ गते शैक्षिक सामग्री निर्माण तथा प्रदर्शनी गरिने भएको छ । यस कार्यक्रममा आधारभूत तह कक्षा १-५ र कक्षा ६-१२ को अलगअलग स्टल बनाई विषयगत रूपमा मुख्य पाँचवटा विषयहरू अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिकका अलगअलग विषयगत स्टलहरूको व्यवस्था गर्ने, प्रत्येक तह र विषयमा सबै विद्यालयले विषयगत रूपमा कम्तिमा एउटा र बढीमा तीनवटासम्म शिक्षक निर्मित शैक्षिक सामग्री प्रदर्शन गर्न सक्ने गरी अवसर दिने र भानुका सबै शिक्षकहरूले अवलोकन गर्ने व्यवस्था मिलाइने भएको छ ।

नेपाल शिक्षक महासंघसंगको सहकार्यमा शिक्षामा नवीनतम् प्रविधि सम्बन्धी तालिम चालू शैक्षिक सत्रभित्र सम्पन्न गर्ने गरी उपयुक्त समयमा सञ्चालन गरिने भएको छ । पालिकाका सबै सामुदायिक विद्यालयहरूले शिक्षक/कर्मचारीको तलब भत्ताका लागि माग फाराम हरेक त्रैमासिकको पहिलो महिनाको २० गतेभित्र भानु नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा पेश गर्ने र नगरपालिकाबाट उक्त महिनाको अन्तमा निकासा भएको तलब भत्ता विद्यालयहरूले मासिक रूपमा शिक्षकहरूलाई भुक्तानी गरिने भएको छ ।

यस्तै, बैठकले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षणबाट केही विद्यालयको नाममा औंल्याइएका बेरूजु रकम यथाशीघ्र यस नगरपालिकाको आन्तरिक राजस्व खातामा जम्मा गरी सोको बैंक भौचर शिक्षा शाखामा पेश गर्न र विद्यालयहरूको लेखापरीक्षण गर्नका लागि यथाशीघ्र लेखापरीक्षकहरूलाई खटाउन नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

भानु नगरपालिकाबाट सरकारी कोषबाट तलभ खाने सबै शिक्षक कर्मचारीको परिचयपत्र निर्माण गर्ने सम्बन्धमा अधिकांस विद्यालयको विवरण प्राप्त भैसकेको र आउन बाँकी विद्यालयहरूले यथाशीघ्र शिक्षक कर्मचारीको विवरण शिक्षा शाखामा पेश गर्ने बैठकले निर्णय गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker