बुबाआमाको स्मृतिमा छात्रवृत्ति कोष स्थापना
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको भानु नगरपालिका-१३ तीनघरे जन्मथालो भई हाल व्यास-१ गल्भुवेसी बस्दै आएका चक्रबहादुर अधिकारीले बुबाआमाको स्मृतिमा छात्रवृत्ति कोष स्थापना गरेका छन् । भानु-१३ ठूलोढूङ्गा स्थित अरनिको माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक समेत रहेका अधिकारीले सोही विद्यालयमा बुबा सन्तबहादुर र आमा मधुमाया अधिकारीको स्मृतिमा सन्तबहादुर-मधुमाया अधिकारी स्मृति छात्रवृत्ति कोष स्थापना गरेका हुन् ।
छात्रवृत्ति कोष स्थापनाका लागि अधिकारीले विद्यालयका प्रधानाध्यापक शैलेन्द्रकुमार साहलाई आइतबार ५१ हजार १५१ रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । विद्यालयका संस्थापक प्रधानाध्यापक समेत रहेका अधिकारीले विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्य स्वरुप कोष स्थापना गरेको बताए ।
वि.सं. २०५८ सालसम्म उक्त विद्यालयमा अधिकारीले अध्यापन गराएका थिए । विद्यालयका प्रधानाध्यापक साहले अक्षयकोषबाट प्राप्त हुने व्याजबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताए ।
अधिकारीले वि.सं. २०७८ पुस १४ गते भानु नगरपालिका-१३ सम्जुरस्थित जनसहयोगी माध्यमिक विद्यालयमा ससुराबुबा र सासुआमाको स्मृतिमा पनि ५१ हजार १५१ रुपैयाँ को छात्रवृत्ति कोष स्थापना गरेका छन् । त्यस्तै व्यास-१ स्थित जलदेवी माध्यमिक विद्यालयमा अधिकारीले गत वर्षदेखि तीन जना बालबालिकालाई भर्ना गरेर पढ्ने व्यवस्था मिलाइदिएका छन् ।










