पशु तथा कृषिको कार्यक्रम सार्वजनिक : उत्पादित उपजको राम्रो मूल्य नपाएको कृषकको गुनासो
भञ्ज्याङ समाचारदाता/दमौली

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ, कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गोरखाले चालु आर्थिक वर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । तीनवटै कार्यालयले मंगलबार दमौलीमा संयुक्त कार्यक्रमको आयोजना गरी गत आर्थिक वर्ष सम्पादन गरिएका कार्यक्रम र चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम सार्वजनिक गरेका हुन् ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठ, कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत राजेश्वर सिलवाल र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गोरखाका प्रमुख पूर्णा ढुंगानाले आ-आफ्ना कार्यालयको वार्षिक कार्यक्रम सार्वजनिक गरेका थिए ।
कृषि तथा पशु सेवा तर्फको वार्षिक विकास कार्यक्रम सार्वजनिकिकरण कार्यक्रममा सहभागि कृषकहरुले साना किसानहरुले कार्यालयबाट प्रवाह हुने सेवा लिन सहज नभएको र उत्पादित उपजले पनि राम्रो मूल्य पाउन नसकेको गुनासो गरेका छन् ।
वैदेशिक रोजगारीबाट फर्किएपछि विगत छ वर्षदेखि व्यवसायिक रुपमा पशुपालन गर्दै आएका व्यास नगरपालिका-१० का कालिका पौडेलले अबका दिनमा पशु पाल्न नसकिने आवस्था आएको बताएका छन् । उत्पादित बस्तुको मुल्यभन्दा पशुलाई खुवाउने दाना, चोकरको मुल्य दैनिक बढ्दो अवस्थामा रहेकाले पशु पालन व्यवसाय संकटमा पर्दै गएको बताए ।
उनले भने, ‘भैसीलाई खुवाउने दाना, चोकर र आफुले गरेको मेहनत अनुसारको आमदानी हुने अवस्था छैन । दुधको मुल्य बढ्दैन तर गाईभैसीलाई खुवाउने दाना, चोकरको मुल्य दैनिक बढेर आउछ । अब कसरी पुशपालन व्यवसाय गर्ने -‘
यस्तै, भैसीको बिमा रकम पनि न्यायोचित नभएको उनले बताए । ‘एउटा भैसीलाई डेढदुइ लाख रुपैयाँ पर्छ तर वीमा भने ९० हजार रुपैयाँको हुन्छ’, उनले भने, ‘केही कारणले भैसी मरिहाल्यो भने ५०/६० हजार रुपैयाँ त घाटै हुन्छ । वीमाको रकमपनि समय सुहाउँदो हुन आवश्यक छ ।’
अहिले भेटेरिनरी, नगरपालिका र वडामै कृषिसम्बन्धी कार्यक्रम हुने र पहुँचवालाले तीन वटै स्थानबाट सेवा लिइरहेको कृषकको गुनासो छ । उनले भने, ‘भेटेरिनरी कार्यालय, नगरपालिका र वडाले पनि कृषकको पहिचान गरी आफ्ना र अर्काका नभनि समानुपातिक रुपमा सेवा सुविधा प्रवाह गर्न सके साना किसानहरुले लाभ लिन पाउथे ।’
यस्तै, कार्यक्रममा सहभागि अमरबहादुर कुँवरले विभिन्न कार्यालयबाट विविध कार्यक्रम गरेतापनि उत्पादन भने घट्दै गएको बताए । उनले भने, ‘बर्षेनी पशु कार्यालय तथा नगरपालिकाले किसानलाई व्यवसायिक पशु पालन तर्फ आकर्षण गराउनका लागि विभिन्न कार्यक्रम गर्दै आएका छन् तर कार्यक्रम अनुसारको उपलब्धी देखिन छाडेको छ ।’
‘सरकारले विभिन्न परियोजना भनि कार्यक्रम चलाउछ तर ती कार्यक्रमको बजेट भएसम्म राम्रै चल्छ, त्यसपछि ती कार्यक्रम त्यतिकै हराउछन्’, उनले भने, ‘एक पटक परियोजना आएपछि पुनः आएर कृषकलाई झकझकाइ रहनुपर्ने आवश्यक छ ।’
उत्पादन बृद्धिका लागि प्राविधिक ज्ञान, उपकरण र पशुको आहारामा सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको उनले बताए । ‘उत्पादन बढाउन अनुदानले मात्र सहयोग गर्दैन’, उनले भने, ‘किसानका खेतबारीमा आवश्यक सिंचाई छ कि छैन, पशु तथा कृषि उपज उत्पादनका लागि आवश्यक प्राविधिक ज्ञान छ कि छैन, उत्पादित उपजको सहज बजारीकरण र मूल्य कृषकले पाएका छन् कि छैनन् भन्ने विषय अध्यायन गर्न आवश्यक छ ।’
व्यवसायिक कृषि तथा पशुपालनका लागि अनुदान मात्र नभई आवश्यक समयमा किसानका गोठ तथा खेतबारीमै प्राविधिक तथा विज्ञ पुग्नुपर्ने र आवश्यक सल्लाहसुझाव दिनुपर्ने कार्यक्रमका सहभागिले बताए । यससंगै उत्पादित उपजको सहज रुपमा बजारीकारण र उचित मूल्यका विषयमा पनि सरोकारवाला पक्षले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई चालु आर्थिक वर्षका लागि ९ करोड ३८ लाख ४५ हजार रुपैयाँ बजेट विनियोजन भएको प्रमुख डा. श्रेष्ठले बताए । चालु आर्थिक र्वष्मा पशुपंक्षी तथा मत्स्य व्यवसाय प्रबर्द्धन कार्यक्रम अर्न्तर्गत माछापोखरी निर्माण, माछा भुरा खरिद ढुवानी तथा वितरण, पशुपंक्षी स्रोतकेन्द्र स्थापना, कृषि ऋणमा व्याज अनुदान वितरण गरिने उनले बताए ।
पशु स्वास्थ्य कार्यक्रम अन्तर्गत प्रयोगशाला सञ्चालन, पशु स्वास्थ्य शिविर, पूर्ण खोप अभियान, पशु आहार प्रबर्द्धन कार्यक्रम, पशु नश्ल तथा प्रजनन् कार्यक्रम, सुशासन तथा पारदर्शीता सम्बन्धी कार्यक्रम सञ्चालन गरिने डा. श्रेष्ठले बताए ।
त्यस्तै कृषि ज्ञान केन्द्रका लागि चालु आवका लागि ५ करोड ६४ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । कार्यालयबाट साना व्यावसायिक कृषि फर्म स्थापना, साना सिंचाइँ, विपन्न बस्तिमा मुख्यमन्त्री, आलुखेती प्रबर्द्धन, बाँझो जग्गामा व्यावसायिक खेती लगायतका कार्यक्रमलाई अनुदान दिने कार्यक्रम रहेको बताइएको छ ।










