चार्जमा राखेको मोबाइल चलाउँदा करेण्ट लागेर युवकको मृत्यु, गर्भवती महिलासहित २ घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका-३, दुरुचुङमा विहिबार विहान विजुलीको करेण्ट लागेर एक युवकको मृत्यु भएको छ । विहानी पख मोबाइल चार्जमा राखेर चलाइरहेको बेला अचनाक हाइभोल्टेज आउँदा करेण्ट लागेर २७ बर्षीय चित्रबहादुर राना मगरको ज्यान गएको हो । घट्ना विहान करिब ४ बजेतिर भएपनि ७ बजेतिर मात्र थाहा भएको थियो ।
स्थानीयले उपचारका लागि तुरुन्तै जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र झरौटामा ल्याएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । सोही लाइनको करेण्ट लागेर गाउँका अन्य दुइ जना पनि घाइते भएका छन् । घाइते हुनेहरुमा मृतकका काका दलबहादुर राना र २४ बर्षीया गर्भवती महिला सोममाया थापा मगर रहेका छन् ।
उनीहरुको जिपि कोइराला अस्पतालमा उपचार भइरहेको छ। घाइते दुबै जना सामान्य अवस्थामा छन् । दलबहादुरको हात र सोममायालाई खुट्टामा करेण्ट लागेको थियो । ग्रामीण विद्युतीकरण कार्यालयको लापरबाहीको कारण रानाले अकालमा ज्यान गुमाउनु परेको भन्दै पीडित पक्षले क्षतिपुर्तिको माग गर्दै शव उठाएका छैनन् । सामुदायिक ग्रामीण विद्युतीकरण दुलेगौँडा अध्यक्ष रामचन्द्र खनाल जिल्ला बाहिर रहेको र अर्का संचालक देवलाल खनालसंग सामान्य छलफल भएपनि निष्कर्षा पुग्न नसकेको छलफलमा सहभागी सुमन आलेले बताए ।
ग्रामीण विद्युतीकरणको सरासर लापरबाही देखिएको भन्दै उनले भने, ‘नयाँगाउँ दुरुङचुङ प्रसारण लाइनको स्याङ्दी खोलामा फ्युज नहालीकन सोझै लाइन जोडिदिदा यो घट्ना भएको हो । यसअघि पनि पटक पटक फोन गरेर विद्युत लाइन व्यवस्थित गर्न अनुरोध गर्दा पनि कुनै वास्ता गरिएन । पहिला पनि गाउँमा करेण्ट लागेर गोर मर्यो, अहिले यस्तो दुःखद् घट्ना भयो ।’
वडा नं. ३ का वडाध्यक्ष रामकुमार श्रेष्ठले विद्युत लाइन व्यवस्थित गर्न बारम्बर सेवाग्राहीले फोन गर्दा पनि सुधारका लागि कुनै प्रयास नगरिनु भनेको नियोजित रुपमा घट्ना घटाउन खोजेको जस्तो देखिएको आरोप लगाए । उनले पीडितलाई उचित क्षतिपुर्ति उपलब्ध गरउन माग गरे ।
अस्पताल परिसरमा वडा नं ५ का वडाध्यक्ष दीर्घबहादुर थापा, वडा नं. ११ का वडाध्यक्ष दलबहादुर थापा मगर, वडा सदस्य थमन सिं आले, इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्का र पीडित पक्षहरु छलफलमा जुटेका थिए ।










