तनहुँ कांग्रेसका पूर्व सचिव बास्तोलाले तनहुँ-१ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा
भञ्ज्याङ न्यूज
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसंगै राजनीतिक दलका नेता तथा स्वतन्त्र युवाहरुले आ-आफ्नो उम्मदेवारी घोषणा गर्ने होडबाजि चलेको छ ।
तनहुँ निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस तनहुँका पूर्व सचिव विश्व बास्तोलाले उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेस परित्याग गरेका बास्तोलाले स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यथास्थितिवादका विरुद्ध र परिवर्तनको पक्षमा आफूले उम्मेदवारी दिने घोषणा गरेको बास्तोलाले बताएका छन् । उनले भने, ‘मेरो उम्मेदवारी के का लागि भन्ने सम्बन्धमा क्रमशः धारणा राख्दै जानेछु ।’
३६ वर्षको लामो राजनीतिक यात्रामा अग्रजहरु, राजनीति सहकर्मी र शुभचिन्तकहरुबाट प्राप्त साथ र सहयोग नै आफ्नो तागत भएको बास्तोलाले प्रष्ट पार्दै लेखेका छन् :
आदरणीय साथिहरु, नमस्कार ! जय नेपाल !!
समय र परिस्थितिले मानिसलाई कतिपय निर्णयमा पुग्न उत्प्रेरित गर्दो रहेछ, बाध्य पार्दो रहेछ । हाम्रो समाज प्रगतिको पथमा अघि बढ्न नसक्नुमा कहि कतै तपाईं हाम्रै पनि कमजोरी रहृयो कि ? आत्म समिक्षा गर्ने बेला आएको छ । प्रजातन्त्र प्राप्तिपछिका ३१ बर्षसम्म हामीले अभ्यास गरेको राजनितीले नेता र कार्यकर्ताको बीचमा मालिक र दासको जस्तो सम्बन्ध विकसित हुन गएको कुरा महसुस गरेर पनि बोल्न नसक्नु र नेतालाई खुशी नपारी केही पाइदैन भन्ने मान्यता स्थापित भएका कारण आज राजनीतिका प्रती आम निरासा उत्पन्न हुन गएको छ ।
यस बिचमा न्यायपालिका, शैक्षिक क्षेत्र, प्रहरी प्रशासन, कर्मचारी तन्त्र लगायतका राज्य संयन्त्रमा चरम राजनीति करण गरी भ्रष्टाचार, बेथिति र बिकृतीलाई सामाजिक मान्यता दिलाउने तर गरिब, किसान, मजदुर र मध्यम बर्गका समस्याका प्रति नेतृत्व उदासीन भएका कारण सिमित बर्ग र ब्यक्तिहरुले सत्ता र शक्तिको आडमा राज्यशक्तिको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गर्दै जानुले बर्तमान राजनतिको चरित्र उदाङ्गो बनाएको छ । नेताहरुले गरे भनेको बिकास जनताले अनुभुती गर्न पाउनु पर्दछ, न कि नेताले आफ्नो बखान आफै गरेर थाक्नु परोस ।
एउटा लोकतान्त्रिक समाजमा आमनागरिकमा अमन चैन कायम हुनुपर्दछ, अबसरहरुको स्वस्थ प्रतिस्पर्धा हुनुपर्दछ । परोपकारी राज्य संरचना अन्तर्गत नेतृत्ववर्ग सधै आमनागरीकको हितमा कसरी काम गर्न सकिन्छ भनेर तल्लिन हुनु पर्नेमा नेताहरु आफ्नै उन्नती र प्रगतिमा केन्द्रित हुँदै आएको परिणाम आम मतदाता निरास हुन पुगेका छन ।
३१ बर्षको अन्तरालमा जिल्लामा आजसम्म स्वास्थ्यको क्षेत्रमा एउटा गतिलो अस्पताल बनेन, शिक्षाको क्षेत्रमा एउटा सरकारी क्याम्पस बनेन । अरु त छोडौ २८ बर्ष अघि बनेको सदरमुकामसंग जोडिएको केशवटार मार्ग आजसम्म पिच हुन सकेन । मिर्लुङ जस्तो घना आबादी भएको गाउँमा बिकासले किन छुन सकेन ? यस्तो अवस्थामा यी तमाम मुद्दाहरु पुरानै नेताहरुबाट आशा गर्नु भनेको “नयाँ बोत्तलमा पुरानै रक्सी सजाए जस्तै हो ।’
आउनुस यस पटक केही नयाँ शीराबाट सोचौ, नेता र जनता मालिक र दास होइन, सहयात्री र सारथी बनौ, परिवर्तन आफैबाट सुरुवात गरौं । मेरो ३६ बर्षलामो राजनैतिक यात्रामा मेरा अग्रजहरु, राजनीतिक सहकर्मिहरु र शुभचिन्तकहरुबाट मलाई प्राप्त साथ र सहयोगनै मेरो तागत हो ।
यहाँहरुको अपेक्षा, साथ र सुझाभलाई शिरोपर गर्दै आउदो मंसिर ४ गते हुने आमनिर्बाचनमा तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फो लागि यथास्थिति वादका बिरुद्ध परिवर्तनको पक्षमा मेरो स्वतन्त्र उम्मेदवारी रहने जानकारी गराउदछु ।
मेरो उम्मेदवारी केका लागि भन्ने सम्बन्धमा क्रमशः आफ्ना धारणाहरु राख्ने प्रतिवद्धता व्यक्त गर्दै यहाँहरुको सुझाव, साथ र सहयोग को अपेक्षा गर्दछु । नमस्कार ! जय नेपाल !