विद्यालयमै किशोरीलाई आइरन चक्की

तनहुँको ऋषिङ गाउँपालिकाको ऋषिङ रानिपोखरी स्वास्थ्य चौकीद्वारा वडा नं. ८ का श्री बाल शिक्षा निकेतन मावि पल्ट्याङका १० देखि १९ वर्ष उमेर समुहका किशोरीहरुलाई विद्यालयमै आइरन चक्की खुवाइदै । स्वास्थ्य चौकीले स्थानीइ अजम्मरी अमर ज्योति प्राविका बालबालिका तथा विद्यालय नजाने बालबालिकालाई पनि समुदायिक स्वास्थ्य स्वयंसेवीकाहरुले आइरन चक्की खुवाएका छन् । किशोरीमा तत्कालका लागि रक्तअल्पताबाट जोगाउन र भविष्यमा कुपोषित बच्चा जन्माउने क्रमलाई रोक्नका लागि ‘आइरन’ र ‘फोलिक एसिड’ खुवाउने गरिन्छ । ‘जङ्क फुड’ तथा आफूले दैनिकरूपमा खाने भोजनमा पनि सन्तुलन नमिलाएका कारण धेरै किशोरीमा रक्तअल्पता र कुपोषणको समस्या देखिँदै गएका विभिन्न अध्ययन प्रतिवेदनमा उल्लेख छन् । किशोरी नै कुपोषित हुँदा भविष्यमा उनीहरूले जन्माउने बच्चा पनि कुपोषित हुने तथा कुपोषित बच्चाले पुनःकुपोषित बच्चा नै जन्माउने जोखिम उच्च रहने भएकाले कुपोषणको चक्र तोड्नका लागि अभियानकै रुपमा आइरन चक्की खुवाउन थालिएको छ । तस्विर : भञ्ज्याङ










