निर्वाचनमा सञ्चारमाध्यमको भूमिका विषयक अभिमुखिकरण

भञ्ज्याङ समाचारदाता/दमौली

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आइतबार दमौलीमा निर्वाचनमा सञ्चारमाध्यमको भूमिका विषयक अभिमूखिकरण कार्यक्रम गरिएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउँदै अभिमूखिकरण कार्यक्रम गरेको हो ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले सञ्चारमाध्यमले संवेदनशील भएर निर्वाचन स्वच्छ रुपमा सम्पन्न गराउन भूमिका खेल्नुपर्ने बताए । उनले भने, ‘सञ्चारमाध्यमले आफ्नो उत्तरदायित्व भुल्नहुँदैन, निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सञ्चारमाध्यमले सकारात्मक र सिर्जनात्मक भूमिका निर्वाह गर्नुपर्छ ।’

‘निर्वाचन प्रजातन्त्रको अभ्यास भएकाले यसलाई सकारात्मक ढङ्गबाट सम्पन्न गराउन निर्वाचन आयोगले सबैसँग अपेक्षा गरेको छ’, उनले भने, ‘तनहुँमा आचारसंहिता पालनाका विषयमा सबै सजग रहेका छन्, अन्य जिल्लाको तुलनामा तनहुँ आचारसंहिता पालनामा प्रतिबद्ध भएको पाइयो, जिल्लामा अहिलेसम्म तीन जनाको विरुद्धमात्रै आचारसंहिता उल्लंघनको उजुरी परेको छ, त्यो पनि सामान्य नै छ, त्यसविषयमा हामी अध्ययन गरिरहेका छौ ।’

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचनमा सुरक्षाको प्रबन्ध मजबुद बनाइने भएकाले ढुक्कसँग मतदानमा सहभागी हुन सक्ने वातावरण सिर्जनाका लागि सञ्चारमाध्यमको तर्फबाट महत्वपूर्ण सहकार्यको भूमिका रहनुपर्ने बताए ।

मतदानस्थलको सुरक्षा दृष्टिकोणलाई मध्यनजर गरी तीन भागमा विभाजन गरिएको छ । ६ वटा मतदानस्थललाई अति संवेदनशील, ५२ वटा मतदानस्थललाई संवेदनशील र ८४ वटा मतदानस्थललाई सामान्यमा रुपमा वर्गीकरण गरिएको प्रजिअ अर्यालले बताए ।

जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटा पालिकामा दुइ वटा निर्वाचन क्षेत्र कायम गरिएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ६९ मतदान स्थलमा १५२ वटा मतदान केन्द्र र निर्वाचन क्षेत्र नम्बर २ का ७३ मतदान स्थलमा १५३ वटा मतदान केन्द्र छन् । कुल १४२ मतदान स्थलमा ३ हजार ६६० जना जनशक्ति खटाइने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताए ।

उनका अनुसार कार्यालयमा प्रति मतदान केन्द्रमा ८ जना गरी २ हजार ४४० र मतदान केन्द्रमा एक हजार २२० जना स्वयंसेवक खटाइने छ । ३०५ जना मतदान अधिकृत र ३०५ जना सहायक मतदान अधिकृत कायम गरिएको छ ।

‘मंसिर १ गतेभित्र सबै मतदान केन्द्रमा मतदानका लागि आवश्यक ६१ प्रकारका सामग्रीसहित सबै कर्मचारी पुगिसक्नु पर्नेछ’, ढकालले भने, ‘अहिले आवश्यक सामाग्रीहरु केन्द्रगत रुपमा प्यकिङ हुँदै छ । कर्मचारी नियुक्त गरी उनीहरुलाई यसै हप्ताभित्र तालिम दिएर सम्बन्धित केन्द्रमा पठाउने छौं ।’

यसैगरी मतदाता शिक्षालाई पनि प्राथमिकतामा राखि जिल्लाकै ८५ वटै वडामा १ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरि कात्तिक १८ गतेदेखि मंसिर १ गतेसम्म वडास्तरबाटै मतदाता शिक्षा दिइने ढकालले बताए । नयाँ मतदाता भएकाले मत बदर हुनबाट रोक्नका लागि सबै स्थानीय तहमा नमूना मतदान गर्ने तयारी गरिएको छ ।

निर्वाचनका लागि मतदान केन्द्रको सुरक्षाको विश्लेषण गरेर त्यही अनुसार सुरक्षाकर्मी परिचालन गरिने प्रजिअ अर्यालले बताए । प्रजिअ अर्यालका अनुसार मतदान स्थलमा नेपाल प्रहरी ७७८, म्यादी प्रहरी एक हजार ३९२, शसस्त्र प्रहरी ३३३ र नेपाली सेना ४६६ जना खटाइने छ ।

यस्तै, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष पौडेलले निर्वाचनमा सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिकाको विषयमा प्रस्तुतिकरण दिएका थिए । उनले संचारमाध्यमले पालना गर्नुपर्ने निर्वाचनको आचारसंहिताका विषयमा संचारकर्मीलाई अबगत रहेको र सबै आचारसंहिता पालना गरी आसन्न निर्वाचन स्वच्छ रुपमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker