तनहुँ-१ मा एमालेका उम्मेदवारको घरदैलो अभियान तीब्र
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ निर्वाचन क्षेत्र नं. १ मा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो अभियानलाई तीब्रता दिएका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार एक बहादुर राना प्रदेश १ का उम्मेदवार राम बहादुर गुरुङ र प्रदेश २ का उम्मेदवार पूर्ण बहादुर गुरुङ मतदाताको घरदैलोमा पुगि आ-आफ्नो पक्षमा भोट माग्न व्यस्थ भएका छन् ।
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एक बहादुर रानाले मतदाताले नयाँ र विकास गर्ने नेता खोजेका र त्यो आफु भएको बताएका छन्। उनले भने, ‘आफु जिल्लाको हरेक कुनाकुना र जनताको सुखदुःखमा हातेमालो गरी घरदैलोमा पुगेको हुँदा यस पटक मतदाताले भारीमतले विजयी गराउनेमा विश्वस्त छु ।’
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गोविन्दराज जोशी, सुरेश आले मगर, कृष्ण कुमार श्रेष्ठ लगायतका नेताहरुले चुनाव जितेपनि यहाँको यथोचित विकास गर्न नसकेको बताउँदै उम्मेदवार रानाले भने, ‘जनताले अहिले नयाँ र गाउँठाउँको विकास गर्ने, उद्योग, रोजगारीको वातावरण सृजना गर्ने नेताको खोजीमा रहेका छन्, त्यो म हो, मतदाताले यो कुरा बुझ्नु भएको छ ।’
यस्तै, मतदाताको घरदैलोमा पुगेका प्रदेश १ का उम्मेदवार रामबहादुर गुरुङले आफु जनताको रोजाइमा परेको र जित निश्चित भएको दाबी गरेका छन् । मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पक्षमा भोट माग्दै मतदाताको घरदैलोमा पुगेका उम्मेदवार गुरुङले जनताले आफ्नो पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
गण्डकी प्रदेशका निवर्तमान् सांसद एवं निर्यात व्यावसायिक महासंघका अध्यक्ष समेत रहेका उम्मेदवार गुरुङले अघिल्लो कार्यकालमा आफुले राम्रो काम गरेको र केही अधुरा काम रहेकाले पुनः उम्मदेवार भएर आएको बताएका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता नेता रामचन्द्र पौडलको पुरानो गाउँ व्यास-८ रिस्ति स्थित रिस्ति खोलामा गुरुङकै पहलमा उक्त स्थानमा २ वटा मोटररेवल पुल निर्माण गर्न पहल गरेकै कारणले पनि आफुले मतदाताले रुचाएको गुरुङ बताउँछन् ।
गण्डकी प्रदेश सरकारको महत्वाकांक्षी योजना एक घर एक धारा भने कार्यक्रम कार्यान्यवनमा पनि आफ्नै सक्रिय सहभागिता रहेको गुरुङ बताउँछन् । पृथ्वी सुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री र तनहुँकै नेता किरण गुरुङ अर्थमन्त्री हुँदा धेरै ठाउँमा पुल, खानेपानी, बाटो, सामुदायिक भवन, होमस्टेहरु बनाउन आर्थिक सहयोग, वोटविरुवाहरु वितरण लगायतका धेरै योजनाहरु सजिलैसंग आफ्नो क्षेत्रमा बजेट ल्याउन सफल भएको उम्मेदवार गुरुङले दाबी गरेका छन् ।
पार्टर्ीी दिएको काम र जनताको अपेक्षा पुरा गर्न कहिल्यै नहिच्किचाएको बताउने गुरुङ प्रदेशसभा सदस्य निर्वाचित भएर जनताका कामहरु धेरै गरेको र धेरै योजनाहरु अधुरा रहेका हुँदा ती अधुरा योजनालाई पूर्णता दिन पनि पुनः आफु चुनावी मैदानमा आएको बताएका छन् ।
गण्डकी प्रदेशसभा सदस्य रहँदा आफुले जनतासंगको भेटघाट र बिकास निर्माणका काममा खट्ने गरेको र कोभिड-१९ को महामारीको समयमा समेत विकास निर्माणका धेरै कामहरु गरेको कारण जनताले यसपटक पनि आफुलाई भोट दिएर निर्वाचन गराउनेमा उम्मेदवार गुरुङ विश्वास्त छन् ।
यस्तै, तनहुँ १ प्रदेश २ का उम्मेदवार पूर्ण बहादुर गुरुङले पनि मतदाता भेटघाटलाई तीब्रता दिएका छन् । मतदाताको घरघरमा पुगि आफ्नो चुनावी एजेण्ड प्रस्तुत गर्दै आफ्नो पक्षमा भोट माग्दै उम्मेदवार गुरुङले जनताका आधारभूत आवश्यकतालाई सहज रुपमा उपभोग गर्ने वातावरण बनाउँदै रोजगारीको वातावरण सृजना गर्न आफू लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।
उम्मेदवार गुरुङले युवालाई आफ्नै गाउँघरमा स्वरोजगार बनाउने, ग्रामीण क्षेत्रका बस्तीका बासिन्दालाई सहज रुपमा आधारभूत आवश्यकाता उपभोग गर्ने वातावरण सृजना गर्न आफू लागि पर्ने बताएका छन् ।
‘यस अगाडिका नेताहरु चुनाव जितेर गएपछि गाउँमा नफर्किएको, गाउँको विकासमा ध्यान नदिएको मतदाताको गुनासो बढि आएको छ’, उम्मेदवार गुरुङले भने, ‘म जनताको भावना र आवश्यकता बुझेर विकासमा लागि पर्नेछु ।’
त्यस्तै, तनहुँको भानु नगरपालिकामा ७३ घरधुरी नेकपा एमालेमा प्रवेश गरेका छन् । भानु-१ डिमुराबासका ७३ घरधुरीका ४८० जना नेकपा एमाले प्रवेश गरेको युवासंघ तनहुँका अध्यक्ष मदन तिमिल्सनाले जानकारी दिए ।
दिपक कुमालको नेतृत्वमा एमाले प्रवेश गर्नेहरुलाई बुधबार नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य एवं तनहुँ-१ का उम्मेदवार एकबहादुर राना, केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने लगायतले स्वागत गरेका थिए ।










