तनहुँ–१ का रास्वपा उम्मेदवार वाग्लेको राष्ट्रिय अर्थतन्त्र मजवुत पार्ने सात सुत्र

दमौली : आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले तनहुँ : राष्ट्रिय अर्थतन्त्रको मजवुत हिस्सा भन्दै सातवटा सुत्र अगाडि ल्याएका छन् । चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुग्दै गर्दा उनले राष्ट्रिय अर्थतन्त्रलाई मजवुत पार्ने सातबटा सुत्र प्रस्तुत गरेका छन् ।
उम्मेदवार डा. वाग्लेले तनहुँलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको बताउँदै उनले पहिलो प्राथमिकतामा कनेक्टिभिटी र पूर्वाधार सुदृढीकरण राखेका छन् । उनले सडक सञ्जाल विस्तार, यातायात पहुँच वृद्धि तथा भौतिक पूर्वाधार सुधारमार्फत जिल्ला र राष्ट्रिय अर्थतन्त्रलाई मजवुत बनाउने सकिने सुत्रका रुपमा अगाडि ल्याएका हुन् ।
कृषि, पशुपालन र सिँचाइमार्फत ग्रामीण अर्थतन्त्रको पुनरुत्थान, शिक्ष, स्वास्थ्य र खेलकुदः गुणस्तरीय सामाजिक लगानी जस्ता विषयलाई पनि सुत्रका रुमपा जोड्दै उत्पादन वृद्धि, बजारीकरण र किसानमुखी नीतिमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने बताएका छन् ।
दीर्घकालीन मानव संसाधन विकासका रुपमा शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा गुणस्तरीय सामाजिक लगानी गर्ने बताएका उम्मेदवार डा. वाग्लेले आर्थिक वृद्धिका क्षेत्रगत स्रोत अन्तर्गत निजी क्षेत्र प्रवर्द्धनलाई जोड् दिएका छन् ।
सांस्कृतिक सम्पदामार्फत राष्ट्रिय एकताको सुदृढीकरण, व्यवस्थित आवास तथा शहरी विकास र प्रवासी नेपालीमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई पनि उनले आर्थिक मेरुदण्डका रुपमा अगाडि ल्याएका छन् ।
जनतासँग प्रत्यक्ष सम्बन्ध कायम राख्दै जनकेन्द्रित काम गर्ने बताउँदै उनले उपनिर्वाचनबाट विजयी भएपछि पनि जनताको नजिक रहेर काम गरिरहेको बताएका छन्। ‘संघीय सांसदको भूमिका ऐन तथा नीति निर्माणसँग सम्बन्धित हो’, उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहमा हाम्रो सरकार थिएन, त्यसैले केही गर्न सकेनौँ । संघीय सांसदको मुख्य काम ऐन–नियम बनाउनु हो । कामका लागि राजधानी बसे पनि जनहित मेरो पहिलो प्राथमिकता हो ।’











