जनज्योति क्याम्पस भिमादले १८औं वार्षिकोत्सव मनायो, अक्षयकोषका लागि रु. ५,०५,५५५ को चेक हस्तान्तरण

भिमाद : तनहुँको भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसले १८औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री जितप्रकाश आलेको अध्यक्षतामा आयोजित समारोहमा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पूर्वविद्यार्थी, अभिभावक, शिक्षक–कर्मचारी तथा सर्वसाधारण सहभागिता रहेको थियो ।
भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदी, उपप्रमुख शारदा खनाल, म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य तथा क्याम्पस आजीवन सदस्य पुष्पराज पराजुली, क्याम्पस सल्लाहकार तथा पूर्व उपाध्यक्ष काजीमान श्रेष्ठ, विभिन्न सामुदायिक क्याम्पसका प्रमुख तथा प्रतिनिधिहरुले सामुदायिक क्याम्पसहरूले ग्रामीण भेगको शिक्षामा पु¥याइरहेको योगदानको प्रशंसा गर्दै क्याम्पसको प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष उमाकान्त श्रेष्ठले स्वागत गरेका कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्लेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईंले सहजिकरण गरेका थिए ।
अक्षयकोषका लागि चेक हस्तान्तरण

यस्तै, वार्षिकोत्सवक अवसरमा सञ्चालक समितिका अध्यक्ष जितप्रकाश आलेको परिवारले एक वर्षअघि स्व. पदमबहादुर आलेको सतवार्षिकी पारेर स्थापना गरिएको ‘पदमबहादुर आले स्मृति अक्षयकोष’का लागि रु. ५ लाख ५ हजार ५५५ को चेक क्याम्पस प्रमुख काफ्लेलाई हस्तान्तरण गरेका छन् ।
उक्त कोषबाट प्राप्त हुने ब्याज आर्थिक अभावका कारण भर्ना हुन नसक्ने विपन्न विद्यार्थीहरूको शैक्षिक सहयोगमा खर्च गरिने क्याम्पसले जनाएको छ । क्याम्पस परिवारले दाताप्रति आभार व्यक्त गरेको छ ।
प्राध्यापक–कर्मचारी सम्मान
यस्तै, उक्त अवसरमा नर्मदा–नीलकण्ठ पराजुली स्मृति अक्षयकोषबाट क्याम्पस प्रमुख सह–प्राध्यापक केशवराज काफ्ले, उप–प्राध्यापक दीपक भट्टराई तथा लेखापाल कमला पौडेललाई उत्कृष्ट कार्यका लागि सम्मान गरिएको थियो । त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षामा उच्च औसत अंक प्राप्त गर्ने शिक्षाशास्त्र संकायकी उप–प्राध्यापक सितादेवी भट्टराई र व्यवस्थापन संकायका सहायक प्राध्यापक जनकराज श्रेष्ठ पनि सम्मानित भएका छन् ।

विद्यार्थीलाई उपाधि तथा पुरस्कार वितरण
वार्षिकोत्सव समारोहका अवसरमा स्नातक तह उत्तीर्ण ३० जना विद्यार्थीलाई स्नातक उपाधि प्रदान गरिएको थियो । यसैगरी विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार वितरण गरिएको थियो भने, विद्यार्थीहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति पनि दिएका थिए ।
संस्थापक तथा दाताहरू सम्मानित
क्याम्पसको स्थापना र विकासमा योगदान पु¥याउने व्यक्तिहरूलाई पनि क्याम्पसले सम्मान गरेको छ । क्याम्पसका अनुसार संस्थापक उपाध्यक्ष देवीभक्त पालिखे, सदस्यहरू रमेशचन्द्र सुवेदी, धुर्वराज सुवेदी, धर्मराज खनाल, क्याप्टेन मनबहादुर राना, हुद्धबहादुर थापा, मिठू सुनार, संस्थापक क्याम्पस प्रमुख खिमाकान्त पराजुली तथा स्व. पुष्पराज गैह्रे (मरणोपरान्त)लाई सम्मान गरिएको थियो । सर्वाधिक राशिको चन्दा दातामध्ये स्व. पदमबहादुर आलेको परिवार र अधिक राशिको अक्षयकोष दातामध्ये पदमराज सुवेदीलाई पनि सम्मान गरिएको क्याम्पसले जनाएको छ ।
प्रशंसा–पत्र वितरण
क्याम्पस परिसरमा रहेको बगैँचा तथा फूलबारी संरक्षण र सरसफाइमा उल्लेखनीय भूमिका निभाउने शहिद पार्क टोल विकास संस्था, नवनिर्मित आमा समूह, अग्रसर आमा समूह, मातृशिशु आमा समूह र एकता टोल भविष्य निर्माण महिला समूहलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।
सो अवसरमा जनज्योति क्याम्पसले समुदायको निरन्तर साथ–सहयोगका लागि आभार प्रकट गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।










