मलाई नसोध कहाँ दुख्छ घाउ ?
देव बस्न्यात

रेडियो नेपालमा पहिला खुब बज्ने गीत हो ‘मलाइ नसोध कहाँ दुख्छ घाउ’। यो गीत खुब सुन्ने गरिन्थ्यो । नारायण गोपाल यस गीतक सर्जक थिए। संयोगान्तदेखि वियोगान्तसम्मका गितहरु धकफुराएर गाउने गर्दथे नारायण गोपाल। उनको गलाले बरदान पाएको मान्ने गरिन्थ्यो। प्रायः सबैजना नारायण गोपालका गित रुचाउँथे । लक्ष्मीप्रसाद देवकोटा जस्तै बेहोसी थिए नारायण गोपाल । कहिले काहीं बेसुरमै रहन्थे भने कहिलेकाहीं उनी एकोहोरो बरबराएर के–के भन्थे के–के भन्थे । सुखमा र दुःखमा पनि गुनगुनाइ रहने गर्दथे । प्रेममा पागल हुनेहरु गित गाएर विगतको झ–झल्को मेट्छन् भन्थे नारायण गोपाल। साच्चै हो जस्तो लाग्यो मलाइ पनि । मायाँका लागि आन्दोलन गर्नेहरु प्रायः सबैको स्वभाव यस्तै हुने गर्दथ्यो। यो गीतका शब्दाकार र सङ्गीतकार र गायक पनि स्वयं नारायण गोपाल हुन् ।
मलाइ नसोध कहाँ दुख्छ घाउ ?
मलाइ नसोध कहाँ दुख्छ घाउ ?
म जे छु ठिकै छु, बिथोल्न नआउ,
मलाइ नसोध कहाँ दुख्छ घाउ ?
म आफ्नै देशमा गरौं र मरौं भन्ने चाहना राख्ने मान्छे । मेरो देशको माटोमा लालीगुराँसहरु फुलिरहुन र नास्पती र सुन्तलाहरु फलिरहुन भन्न चाहन्छु। विदेशी स्याउ भन्दा आफ्नै देशका नास्पती स्वादिला र रसिला छन् भने गर्व गर्न चाहनेहरु मध्येको म पनि एक हो। अहिले मेरो देशमा केही गरौं भन्दा गर्न पाईदैन। केही गर्न र भन्न घरकादेखि राजनेताहरुबाट पराइ बन्नु पर्छ । यो सबै ल्याउनेहरु घरबाट चप्पल पडकाएर काठमाडौं छिरेका कमाउनिष्टहरु हुन् । तथाकथित बहुदलीय प्रजातन्त्र र गणतन्त्रको वकालत गर्ने नेताहरु नै हुन् किन नभन्ने ? घरमा काम गर्ने थलो छैन। काम नभएपछि मामको जोहो छैन । स्वदेशमा काम नपाएपछि छोराछोरी र बुहारी विदेश पठाउन परेन भनेर भन्थे। छोराछोरी विदेश नपठाउँदा कतिपय साथीहरुले मुर्ख भन्न डराउँदैनथे । छोराछोरी विदेश गएको गर्व गर्नेमा आफन्तहरु नै थिए । कसैले मेरो छोरा अमेरिका छ भनेरे श्रीमतीको अगाडि फूर्ति लगाएकै हुन्थे । त्यसमा पनि एकाघरकै दाइले । दाइको गफ सुनेर घरकी पार्वती पनि छोरा विदेश पठाउनमा उत्सुक नै थिइन। खेतबारी बेचेर या ऋण काढेर भए पनि छोरालाई विदेश पठाउनु पर्छ भन्ने आशय नै थियो । मौका मिल्दा छोरा विदेश नपठाउने बाबाआमालाई सबै छरछिमेकीहरुले पनि लठुवा नै सम्झन्थे ।
छोराले विदेश जाने रहर ग¥यो। सम्पूर्ण कागजात पनि बनायो । भिसा लाग्यो । पढ्नकै लागि यु.के. गयो । छोरा लण्डन त पुग्यो, कलेज तथा कन्सल्टेन्सीको मानिसले छोरालाई रेसपोन्स नै गरेन । एयरपोर्टबाटै घर फर्कनु पर्ने जस्तो बनायो। काठमाडौंबाटै गएको एक जना साथीले छोरालाई आफ्नै डेरामा लगेर करिव एक हप्ता राखिदियो । कलेजमा हाजिर हुन पुग्यो बल्ल कन्सलटेन्सीको मानिस सम्पर्कमा आयो । पठाउने एजेन्सी र रिसिभ गर्ने एजेन्सीले अवोध विद्यार्थी माथि खेलबाड गरे । दुखम् सुखम् एक दुइ वर्ष पढ्दै रह्यो । तेरो छोरा यु.के. गएको हैन? कति कमाएर पठायो भनेर सोध्थे । विदेशमा नोटको बोटनै छ भने जस्तो गर्थे साथीहरु। घरमा सिन्को नभाँचेको ठिटो कसो गरी बस्यो होला भन्ने चिन्ता हुन्थ्यो आफुलाई । यु.के.मा काम र दाम पाउन गाह्रै भयो छोरालाई। सिन्का नभाँच्नेले बेसरी दुःख गरेर एक पटक घरमा पैसा पठाउने हिम्मत ग¥यो। छोराको कमाइमा आमा दङ्ग नपरेको कहाँ हो र ! तैले साथीसंग सापटी गरेर पठाइस कि भनेर सोधियो । पैसा नपुगे भन्नु, हामी घरबाट पठाउँला भनियो । पैसा पठाउनै नपर्ने भयो । पढाइ नसिद्धिदैं सरकारले भिसा रद्ध गरिदियो । कलेजले पढाइ पुरा गर्ने अवसर नै दिलाएन । उडायो सबै सपना हुरीले भने जस्तै बनायो । शैक्षिक योग्यता अलपत्र प¥यो । तीन वर्षको मेहनत खाल्टैमा गयो ।
मेरो जिंंदगीमा सधैं यो उदासी
सकेकै छु जिउन कहिल्यै नहाँसी
मेरो चाहना हो तिमी हाँसे पुग्छ
मेरो घाउ तिमी नहाँसे पो दुख्छ
त्यसैले म भन्छु तिमी मुस्कुराउ
मलाइ नसोध कहाँ दुख्छ घाउ ?
भिसा नथपिए पछि छोरा घर फर्कियो। त्यही बेला हामी माहिली छोरी र ज्वाईको आमन्त्रणमा हङकङमा थियौं । हामी तीन महिनाकोलागि हङकङ गएका थियौं । हामी हङकङ पुगेको एक महिना पुग्न एक हप्ता मात्र बाँकी थियो । हामी घर नफर्कन नभ्याउँदैं एक हप्ता अगाडि नै छोरा घर आइपुग्यो । छोरा घर फर्किएकोमा मन हलुका भएको थियो । छोरा घर फर्केको बेला विवाह गर्नुपर्ने होला । हङकङमा सस्तो र गुणस्तरको सुन पाइन्छ होला किनेर लैजाउँ भनेको श्रीमती मानिन । मैले पटक पटक कर गरें। यस कुरामा छोरीले पनि सुन लैजान जोड गरी । मेरो छोरा कलिलै छ पर्दैन भनेर श्रीमतीजी झर्किइन पनि । अन्ततः सुन बोकेरै आइयो । छोरा आइपुगेको एक हप्ता भित्रै हामी पनि हङकङबाट घरमा आइपुग्यौं । टाढाका दुःख सुखका कुरा सबै एक आपसमा शेयर ग¥यौं । अब नेपाल बसेरै अध्ययनलाई निरन्तरता दिने विषयमा छोरा पनि राजी नै थियो । अचानक छोराको विवाहको कुरा उठ्यो । बालख छोराले विवाह गर्न राजी भएको देख्दा आमा दङ्ग परी । अन्ततः छोराको विवाह हुने नै भयो ।
छोराको विवाह गराउने गरी टिकोटालो गर्न तत्कालीन मंगलपुर गाउँ विकास समिति–४ मोहनपुरमा पुगियो । मोहनपुर पुग्नासाथ अचानक छोराको विवाहको टाइम सेड्युलमा परिवर्तन हुन पुग्यो । बाबा छोराको र सासु बुहारीको वैवाहिक वार्षिकोत्सव एकै दिन पर्दथ्यो । आजसम्म रमाइलो नै हुन्थ्यो होला । बेहुलाबेहुली बाबाआमा सबैको एउटै मन भयो । फागुन २९ गते गर्ने भनेर तय गरिएको मिति टरेर विवाह मगनीको दिनमै हुने निधो भयो । सोही दिनमा बेहुली घर लैजाने तय भयो । छोराको विवाह भएको कुरा हावासरी छिनमै हङकङ र अष्ट्रेलियामा पुग्यो। बेहुली भित्र्याउन काम हुँदै थियो। हङकङबाट छोरी भाइको विवाहमा आउन दिएनन् भनेर गुनासो गरी घण्टौं रोई । आफुलाई पनि गल्ती गरेको महसुस भयो । एकछिन पछि अष्ट्रेलियाबाट भतिजको फोन आयो । एउटा भाइको विवाहमा आउन पाइएन भनेर खुब रोयो । भतिजले, पीडाले मन धान्नै सकेन । मनको पीडा पोख्न मध्यरातसम्म फोन गरिरह्यो । दिदी र भाइले खुसीको आँसु भन्दा गलत निर्णयको आँसु बहाउन बाध्य पारे। मेरा पनि आँखाबाट आँसु चुहिरहे। छोरी र भतिजसंग रोएरै माफ मागें। बेहुली भित्र्याउन कर्म सकिएको केही समयपछि श्रीमती आइपुगी। खुसीको बेलो रोदन किन भनी । छोरी र भतिजको कथा सुनाएँं दुबै जना रोएरै रात काट्यौ । त्यो बेलाको पीडा छोरीले सन् १९२४ को दशैको टिकां बाबा–आमा सङ्ग र तिहारमा भाइसंग भाइटिका लगाएर पुरानो घाउलाई मल्हम पट्टी लगाउने काम गरी । विवाह पश्चात छोरा बुहारी दुबै जना चितवनमा नै बसेर पढे । दुबैले स्नातक गरे । बुहारीलाई विदेश जाने कुराले बढी उत्प्रेरित ग¥यो । दुःख नै व्यहोरेर आएको छोराको पुनः विदेश जाने मन थियो थिएन थाहा थिएन, हामीले सोधेका पनि थिएनौं ।
छोरा बुहारीको आपसी सल्लाहले अष्ट्रेलियामा विद्यार्थी भिषामा जाने निधो गरे । कन्सलटेन्सीको राय सल्लाहमा फर्म पठाए । स्टुडेण्ट भिषामा पढ्न जाने कुरा तय भयो । छोरा बुहारीको इच्छामा तगारो बन्न हुँदैन भन्ने सोच्यौं । छोरा बुहारीहरुको आफ्नो भविष्य आफै निर्धारण गरुन भन्ने भयो । उनीहरुको चाहना तगारो बन्न मन लागेन । उनीहरुको भविष्यमा किन खेलबाड गर्ने भनेर सोच्यौं। छोराबुहारीका लागि अभिभावकले जे गरिदिनु पथ्र्यो हामीले निर्वाह गर्नुपर्ने कुरामा कुनै कन्जुसी गरेनौ। छोरा बुहारी मुटुमा गाँठो पारेर ७ महिनाको छोरालाई हाम्रो जिम्मा लगाएर अष्ट्रेलियामा पुगे । मनको पीडालाई दबाउने प्रयत्न गर्दै ३ वर्ष उनीहरु सिड्नीमानै बसेर पढे । सिड्नी ओलोनगङ दैनिक आउँदा जाँदाको कठिनाइले छोरा बुहारी दुबैजना ओलनगोङमा नै बसाइ सारे । उनीहरु अहिलेसम्म अष्ट्रेलियाको ओलनगोङमा नै बसोबास गर्दै आएका छन् । बुहारीको भाइ बुहारी पनि अष्ट्रेलियामा नै अध्ययनरत छन् । त्यही समयमा उनीहरुले बाबा आमालाई अष्ट्रेलिया बोलाए । सात महिनामा छोडेर गएको छोरालाई काखमा खेलाउने मन भयो ।
सायद सन् २०२० मा छोरा बुहारीले नातिलाई पनि आफुसंगै ल्याउन भनिन् । सम्पूर्ण कागजात मिलाइ अष्ट्रेलिया जाने व्यवस्था मिलाइयो । नाति अष्ट्रेलिया पुग्दा छोराबुहारीहरु आफ्नो छोरालाई देख्न पाउँदा हर्षित नै भए होलान । लामो बसाइ बस्न मिलेन । बुहारीले मुटुमा गाँठो पारेर छोरालाई बाबाआमासंग नेपाल फिर्ता पठाइन । नाती अष्ट्रेलिया पुगेर नेपाल फर्कियो । नातिलाई रिसिभ गर्न भनेर हामी दुबै जना काठमाडौं विमानस्थल पुग्यौं । चिनेर पनि नाति लाजले भुतुक्क भयो । हामीलाई नचिने झैं ग¥यो । हामी तिर फर्केर पनि हेर्न चाहेन। बुढाबुढीको मन कस्तो कस्तो भयो । त्यो रात नाति सम्दी र सम्दिनीसंग नै बस्यो । एक्कासी भोलिपल्ट बिहानै नाति हाँस्दै हामी भएको ठाउँमा आइपुग्यो । खुसीसाथ हामीहरु नाति संगसंगै घर फकिर्यौं । ६ वर्षको उमेर पुरा भएपछि आफ्ना छोरालाई पढाउने गरी छोराबुहारीहरुले नातिलाई लाने भए । बाबाआमासंगै अष्ट्रेलिया जान पाउने भएपछि नाति पनि फुरुङ्ग भएको देखिन्थ्यो । तर हाम्रो अन्तर हृदयमा भने मटुमा गाँठो परी सकेको थियो । मनमनै गुनगुनाउन थालें ।
कतै बिरानीमा हराएँ भने म
कतै बेहोसीमा कराएँ भने म
मेरो प्राप्ति त्यही यति ठाने पुग्छ ।
मेरो घाउ तिमी नहाँसे पो दुख्छ
मेरो घाउ तिमी नहाँसे पो दुख्छ ।।
छोरा बुहारीले अष्ट्रेलिया आउने निम्तो गरे। मैले त्यती चासो देखाइन । पासपोर्ट बनाउनु भनि बारम्बार फोन आइरह्यो । घरकी बूढी पनि पासपोर्ट नबनाएको भनेर रिसाउन थाली । पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय गइयो । राष्ट्रिय परिचयपत्र बिना पासपोर्ट नबन्ने रहेछ । नागरिकता प्रमाणपत्रको नम्वरले पहिला हुन अहिले नबने सरकारको उर्खमाउलो आदेशले हैरान बनायो । पासपोर्ट बनाउनकै लागि राष्ट्रिय परिचय पत्र बनाइयो । पासपोर्ट बनेर आएपछि बैंक स्टेटमेण्ट र पासपोर्ट स्क्यानिङ गरेर मेल गरियो । भिसा लाग्यो । साउनको दोश्रो हप्तामा अष्ट्रेलिया पुगियो । यताबाट लगेको पैसा श्रीमतीको हातमा उताको पैसा छोरा बुहारीको साथमा। विना ढेउबा किन मार्केट जान्थ्यो देउबा । घुम्न जाने रहर हुन्थेन तर पनि जान पथ्र्यो । सधै कोठामा बसौं बोर हुन्थ्यो । दिन प्रतिदिन वैराग्यताले छायो ।
त्यही भएर नातिलाई नेपाल जाउँ भनेको मान्दै मान्दैन । नेपालमा के छ र भनेर प्रति प्रश्न गर्छ । अब सन्तानले नेपाल बिर्सने भए भन्ने लाग्यो । देशमा कलकारखाना छैनन् । रोजगारीको सिर्जना र अवसर नभएपछि नेपालमा यो छ भनेर के देखाउने? आफ्नै देशको अरवौं पर्ने सम्पत्ती विदेशीहरु लुटेर लगिरहेका छन्। तर सरकारमा बसेकाहरु देशको कलकारखाना बेचेर प्रभुको शरण पर्छन। कमण्डलु लिएर देशविदेश पुगेर भिक्षाटन गर्छन। भिक्षा गरेर ल्याएको धन ६० प्रतिशत आफै हसुर्छन् । कमिसनबाट आएको रकम स्वीजरलैण्ड त होइन अमेरिका, यु.के, भारत, कम्बोडिया र मलेसिया पु¥याउँछन्। देशको हालत देख्दा र नातिको भनाइ सुन्दा मुटुमा गाठो पारेर चुप लाग्नै पर्ने नै बनायो ।
अष्ट्रेलियाबाट फर्केको डेढ महिना भयो। जीवन असून्य होला भन्यो सून्यता थपिएको थपिएकै छ। एक्लै घर बस्न मन लाग्दैन। घरबाट बाहिर घुमेरै दिन बिताएर एकान्तको पीडामा मल्हमपट्टी गर्न मन लाग्छ तर एक्लै त्यो पनि संभव बन्दैन। घरमा बसिरह्यो भने सन्तान संग टाढा बस्नुको पीडाले सताउने। उता जाने कल्पना गरौ मनैले नमान्ने । चिया पसल कुरेर बस्यो भने के भन्लान भन्ने डर ! घर आउँ सून्यताले मनै टोलाउने नै बनायो । यसो गरे पनि सुख छैन उसो गरे पनि धर छैन।
अंध्यारैमा छोडदियो नजलाउ
मलाइ नसोध कहाँ दुख्छ घाउ ?
मलाइ नसोध कहाँ दुख्छ घाउ ?
पल्लाघरे साइला महर्जनले के छ हालखवर ? भनेर मलाइ सोध्यो । सबै ठिकै छ भने ।
पासाले मुख खोली हाल्यो ? “ह्वेर इज योर सन एण्ड डटर इन ल” भनेर सोध्यो, मैले अष्ट्रेलिय मात्र भने । उस्ले फेरी फर्मायो “हेर पासा मैले छोरा विदेश नपठाउँदा सबै साथी भाइले मलाइ पागल भन्थे । अहिले मसंगै श्रीमती, छोरा, बुहारी, नाति र नातिनी सबै छन् । हामी खुसी साथ सबै जना मिलेर संगै खान बस्छौं । खानाखान कोही ढिलो आउने भए बेलामै खबर गर्छौ । अचानक कोही पार्टीमा जान पर्ने भएपनि खबर गछौैं । छोरालाई मन परेको छोराले किन्छ मलाइ मन परेको मैले र बुहारीलाई मन परेको बुहारीले तरकारी किनेर ल्याउँछौं । परिवारमा हामी शाकाहारी माँसाहारी दुबै थरीका छौं । छोराले आफुहरुलाई मासु किन्यो भने हामीलाई पनिर पनि किनेर ल्याउँछ । मैले पनिर किन्ने बिचार गरें भने छोरा बुहारी नाति नातिनीहरुलाई मासु किनेर ल्याइदिन्छु । कसैले कसैलाई हेला होइन सम्मान गर्न सिकेका छौं भन्यो । हेर पासा मेरा साथीको भविष्य सुध्रियो कि बिग्र्रियो मैले थाहा पाएको छैन तर अहिले मेरो केही बिग्रेको छैन भनेर प्रफुल्ल भएर गर्वका साथ भन्यो ।
हेर पासा बाटाघरे श्रेष्ठको छोरा विदेश गएको अहिले चार वर्ष भयो । बाबा आमालाई नेपाल छाडेर विदेश आइज भन्छ रे । विदेश आउँदा नेपालको जग्गा बेचेर पैसा ल्याइज भन्यो रे! सुरु सुरुमा छोरा बुहारी दुबैले बाबा आमालाई खुब माया गरेर मिठो मिठो खुवाएरे! नयाँ नयाँ कपडा किनेर लगाउन दियो रे ! छोरा घरमा कति खेर आउँथ्यो बुहारी कति खेर आउँथी बाबा आमाले थाहा नै पाउँथेनन् रे! बाबा आमाले छोराको काख र साथ पाउँदै पाएनन । विदेशको बसाईमा शान्ति मिलेन। बाबा आमा देवी देवताको पूजाआजा गरेर धुपदीप गर्न चाहन्थे तर बुहारीले कहिल्यै दिइन रे ! नैराश्य भएर नै दिनका साथ साथै हप्ता बिते । महिना बित्न थाले पछि कुइरेनी बुहारीले हेप्न थाली । दोश्रो महिना देखि विदेशी खैरी बुहारीले बाबा आमालाई यो घरमा नराख भनेर लोग्नेलाई पेल्न थाली रे ! यता छोरालाई कन्त बिजोक भएको देखेर बाबा आमा दुबैजना धुरुरु रोइरहे । बाध्य भएर छोराले प्लेनको टिकट काटेर नेपाल पठाउने सोच ग¥यो । उता बाआमा नेपाल पठाइ दे भनेर कर गरे । बस्न नसकेर बाबा आमा नेपाल फर्केर आए तर के गर्नु नेपालमा पाइलो राख्ने जमिन नभए पछि छोराले बाबा आमालाई बृध्दाश्रम पठायो रे ! कति दुःख पायो है बूढाबूढीले भनेर मनभरीको दुखेसो पोख्न पनि भ्यायो ।
अझ थप्दै गयो हेर पासा अस्ति राजकुमारले मुखियाको बूढी विरामी भयो रे। बूढाले अमेरिका बसेको छोरालाई बाबु आमा विरामी भएर अस्पताल राखेको छु भेट्न आइज भन्यो । उताबाट छोराले बाबा मेरो फुर्सद छैन भनेर झर्कियो रे ! फेरी यु.के गएको कान्छो छोरालाई आमाको कुरा सुनायो रे! कान्छोले पनि मलाई अहिले फूर्सद छैन, दुइ चार महिना पछि भेट्न आउँला बरु आमालाई अहिले दुइलाख उपचार खर्च पठाउँछु भन्यो रे ! अस्पतालमा घडीपला कुर्दै बसेकी श्रीमती तर्फ फर्केर बूढोले आफुलाई धिकार्दै मोबाइल बारीको पाटामा फालेर भुईमा पल्टेर रोइ रह्यो रे। क्या गजव छ पासा । विरामी हुँदा नपाएको उपचार मरे पछिको कात्रो के काम भनेछ ।
मैले भने हेरा पासा! मेरा छोरा बुहारीको पनि अब छिट्टै पिआर आउँछ भन्थे । पिआर बने पछि उनीहरु पनि उतै घडेरी किन्ने सोच बनाएका छन् अरे । उतै बस्ने भए पछि कति घरभाडा तिरेर बस्नु हैन त पासा भनें । जिन्दगी भर तिरिे घरभाडाले घर त आफ्नो बन्छ । यही सोचले घर गरेको छ छोरा बुहारीमा । पि.आर बने पछि सर्वप्रथम घडेरी किन्ने दौड रह्यो । घडेरी र घर बने पछि छोरा छोरी उहीं बसेर पढाउनै पर्ने भयो । छोराहरुलाई एम ए सम्म पढाउँनै प¥यो । एम ए गर्न कम्तिमा २५ वर्ष उतै बस्नै पर्ला । २५ वर्ष कटाउँदा छोरा बुहारीको उमेरले पनि नेटो काट्ला।
“जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी” शब्द डिलिट हुन पुग्ला। बाबा आमा बूढाबूढी भएपछि छोराहरु नेपाल नजाउ भनेर अनुरोध गर्ने होलान । अनि म ताक्छु मूढो बन्चरो ताक्छ घुँडो हुन पुग्छ। अब छोराछोरीले काज क्रिया गर्लान भनेर पर्खनु भन्दा उमेर छँदै आफैले क्रियाकर्म सिध्याएर बस्न उत्तम होला भन्ने सम्झेको छु । जे होस पिआर बनेपछि छिटै उनीहरुको नेपाल आउने योजना रहेको छ । त्यस पछि उनीहरुको जे योजना बन्छ भविष्यको गृहभित्रै गुपचुप बनेर बसेको छ । समयले नेटो काटी सकेका हामीसंग के नै बाँकी रहला र? सायद त्यही बेला क्षणिकको बसाइ सधैंलाई अमिट छाप बन्ने छ ।
म मेरो नेपाल, जननी जन्म भूमिश्च स्वर्गदपी गरियसी भनेर के भो । अमेरिका, भारतर पाश्चात्य मुलुकका हण्डी खाएकाहरुले देश बुझाउने भइसके । नेपाली माटो कोपरेर के भो र पुरै माटो एमसिसिको रगतले लतपतिएको छ । वि.सं. २०३२ सालदेखि फ्रि तिब्बतको नाममा मनाङ मुस्ताङ तिब्बतीहरुको दशरथ रङ्गशाला बन्न पगि सकेको छ। तमोर पूर्वको किरात स्वतन्त्र राज्य बन्न र चुरै तलको भूभाग तलको ठूल्दाइले आँखा गाडेको छ । भक्तपुरको अस्पतालमा राखिएको पावरवाला चस्माले नारायणहिटी जलाउन सक्ने तर हामी केही बोल्न नसक्ने दासहरु मुस्ताङको युरेनियमले पुरै नेपाल जलि हाल्यो भन्ने तालि पिटेर बस्न पर्ने होला ?
स्वदेशी नासपाती भन्दा विदेशी स्याउ खान पल्केका हामीहरुले नेपाल एकीकरण अभियानका अभियान्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकमा थुक्ने र फोड्नेहरुको रजगजमै रमेर बस्ने हो भने नेपाल बसेको पनि के सार छ र? पृथ्वी नारायण शाहको दिव्योपदेश अनुसार पाण्डेको ढाल र बस्न्यातको तरवारले आर्जेको मुलुकमा उनै पृथ्वीनारायण शाहको जन्मजयन्ति मनाउन छोडेर दुलोमा लुक्ने हामीले अरु के नै गर्न सक्छांैं र? होइनैौं त ? अन्त्यमा उनीहरुलाई पर्खनु भन्दा आफ्नै नियतीसंग माफ माग्नु पर्ला । यी रोइरहेका मनहरुबाट सधैं एउटै आवाजहरु आइरहनेछन, मलाइ नसोध कहाँ दुख्छ घाउ …… ।










