पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार : मादी नदीमा पुल निर्माण हुने

दमौली : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माण हुने भएको छ । मुग्लिन–पोखरा सडकखण्डको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमा आर्क डिजाइनको पुल निर्माण हुन लागेको हो ।
मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत उक्त ठाउँमा हाल रहेको पुलभन्दा केही माथि नयाँ पुल निर्माण गर्न लागिएको हो । मादी नदीमा निर्माण गरिने पुलको डिजाइन तयार भइसकेको छ । सडक विभागका अनुसार मादी नदीमा निर्माण गरिने उक्त नेटवर्क आर्क पुलको डिजाइन केही दिनअगाडि स्वीकृत भएको हो ।
उक्त पुल निर्माणको तयारी सुरु भइसकेको र दसैँ सकिनेबित्तिकै काम थालनी हुने मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुलको डिजाइन स्वीकृत भएको छ । दसैँ सकिएलगत्तै निर्माणको चरणमा जान्छ ।”
उक्त पुल निर्माणका लागि रू एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरिएको पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । “आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा काम सन्तोषजक भए पनि जामुनेबाट पोखरासम्मको पश्चिमखण्डमा काम सुस्त छ”, उहाँले भन्नुभयो, “सरकारले पश्चिम खण्डमा ठेक्का तोड्नेबारे छलफलसमेत गरिरहेको छ ।”
पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि सुरु भएको थियो । एकचालीस दशमलव ४५ किमीको यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । यस खण्डको काम सक्नुपर्ने अन्तिम म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।
विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको इन्जिनियर पाण्डेले बताउनुभयो । उहाँका अनुसार पूर्वी खण्डको रू छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको रू सात अर्ब ४० करोड ४६ लाखमा ठोक्का भएको छ ।
चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजना कार्यालयले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker