तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध
तनहुँमा ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । जिल्लास्थित स्वास्थ्य बिमा बोर्डका अनुसार जिल्लाका तीन लाख २१ हजार १५३ जनामध्ये एक लाख ४५ हजार ७९८ जना स्वास्थ्य बिमामा आवद्ध भएका हुन् । विपन्न नागरिकतर्फ दुई हजार ५८९ परिवार र साधारणतर्फ २४ हजार ८८६ परिवारको स्वास्थ्य बिमा गरिएको कार्यालयका संयोजक सिर्जना पोख्रेलले जानकारी दिए। उनका अनुसार १९ हजार ९३३ ज्येष्ठ नागरिक, १८७ एचआइभी संक्रमित, चार जना क्षयरोगी, ६५५ अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा भएको छ ।
अझै ५५ प्रतिशत नागरिक बिमाको पहुँच बाहिर रहेकाले जनचेतना जगाएर आवद्ध गराउने योजना रहेको संयोजक पोख्रेलले बताए । जनचेतनाको कमी र गरिबीका कारण अझै पनि ठूलो जनसंख्या स्वास्थ्य बिमामा आवद्ध हुन नसकेको उनको भनाइ छ ।
सर्वसाधारणले प्रथम सेवा विन्दुमा विशेषज्ञ स्वास्थ्यकर्मी, औषधि र उपकरणको पर्याप्त सुविधा नहुँदा सबै प्रकारका स्वास्थ्य सेवा लिनबाट बञ्चित भएका संयोजक पोख्रेलको बुझाइ छ । उनका अनुसार जिल्लामा स्वास्थ्य बिमामा आवद्ध भएकालाई प्रथम सेवा विन्दु छ वटा रहेका छन् ।
पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, बन्दीपुर अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, दमौली अस्पताल र आँबुखैरेनी अस्पतालबाट सर्वसाधारणले स्वास्थ्य बिमाको सुविधा पाउने गरेका उनले बताए।
स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रूपमा रु तीन हजार पाँच सय तिर्नुपर्दछ । परिवारमा पाँच भन्दाबढी सदस्य भएमा प्रति सदस्यको रु सात सयका दरले थप रकम तिर्नुपर्ने प्रावधान रहेको संयोजक पोख्रेलले जानकारी दिए । स्वास्थ्य बिमा नियमावली २०७५ ले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई सङ्घीय सरकारले प्रिमियम रकम तिरेर निःशुल्क स्वास्थ्य बिमा गर्दै आएको छ ।
सरकारले बिमामा आवद्ध पाँच सदस्यलाई वार्षिक रु एक लाख बराबरको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । नेपालको संविधान, २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रूपमा स्थापित गरेपछि नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन आर्थिक वर्ष २०७२÷७३ देखि यो कार्यक्रम लागू गरिएको हो ।