तेश्रो भिमाद महोत्सव सुरु, ठूलो पुरस्कार रासीको भलिबल प्रतियोगिता गरिदै
भञ्ज्याङ न्यूज

‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन र व्यापार, तेस्रो भिमाद महोत्सव हाम्रो विकासको पूर्वाधार’ भन्ने नाराका साथ तनहुँको भिमादमा तेस्रो भिमाद महोत्सव सञ्चालन गरिएको छ ।
नगर उद्योग वाणिज्य संघ भिमादले आयोजना गरेको उक्त महोत्सवको विहीबार एक समारोहका बीच गण्डकी प्रदेशका कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेद बहादुर गुरुङले उदघाटन गरेका छन् ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले महोत्सवको माध्यमबाट स्थानीय कला संस्कृतिको जगेर्न र प्रवर्द्धनमा टेवा पुग्नुका साथै आर्थिक चलायमान बनाउन मद्दत पुग्ने बताएका थिए ।
यस्तै, उनले मेला मोहोत्सवका माध्यमबाट स्थानीय स्तरमा उत्पादित कृषि उपजलाई बजारीकरणमा टेवा पुर्याउनुका साथै ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा जोड्न आग्रह गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस तनहुँ जिल्लाका सभापति जितप्रकाश आले, भिमाद नगरपालिकाका प्रमुख तथा तेस्रो भिमाद महोत्सवका संरक्षक दधिराज सुबेदी, पूर्व सांसद केदार सिग्देल, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनाल, नेकपा (माओवादी केन्द्र) तनहुँका जिल्ला अध्यक्ष मदन आले लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
महोत्सवले निर्यातयोग्य वस्तुहरुको पहिचान एवं बजार प्रवर्द्धनमा सहयोग पुर्याउने, विभिन्न औद्योगिक वस्तु तथा सेवाहरुको प्रदर्शनी एवं वृद्धि गर्ने, स्थानीय वस्तु तथा सेवाहरुको बजार प्रवर्द्धनका साथै उद्यमी एबं व्यवसायहरुलाई प्रोत्साहन गर्न उत्पादक र उपभोक्ताबीचको सम्बन्ध विस्तार गर्ने लगायत हस्तकला सम्बन्धी सीप र व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यका महोत्सव आयोजना गरिएको संयोजक हस्तबहादुर खड्काले बताए ।
माघ २९ गतेसम्म भिमाद रङगशालामा सञ्चालन हुने महोत्सवको चार लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र पाँच करोड रुपैयाँ बराबरको आर्थिक कारोवार गर्ने आयोजकले लक्ष्य राखेको छ ।
भलिबल प्रतियोगिता
यस्तै, महोत्सवको अवसरमा भिमादमा अहिलेसम्मकै ठुलो राशिको भलिबल प्रतियोगिता गरिने भएको छ । यही माघ २३ गतेबाट भिमाद रंगशालामा वडा मिश्रति भलिवल प्रतियोगिता गर्न लागिएको हो ।
महोत्सवमा दर्शकहरुलाई मनोरन्जन दिनुका साथै यस क्षेत्रका खेलाडीलाई पनि प्रोत्साहन गर्ने उद्देश्यसहित वडा मिश्रति भलिवल प्रतियोगिता गर्न लागिएको महोत्सवका खेलकुद संयोजक उज्वल खनालले बताएका छन् ।
प्रतियोगिताको एउटा टिममा वडा बाहिरका ३ जना खेलाडी समावेश गर्न पाइने व्यवस्था गरिएको खनालले बताए । प्रतियोगितामा सहभागी हुन चाहने टिमले माघ २२ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने र २३ गते बिहान ७ बजेबाट खेल शुरु हुने उनले बताए ।
प्रतियोगिताको विजेतालाई १ लाख ५५ हजार ५५५ रुपैया, उपविजेतालाई ७५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ ।