मर्न कसैलाई रहर हुँदैन !
सीता ओझा

प्रधानमन्त्रीज्यु !
मर्न कसैलाई रहर हुँदैन !
मानिस बाच्नका लागि लाखौँ प्रयत्न गर्छ । ढाँट, छल, चोरी, लुटपाट, ठगी, हत्या, इमानदारिता, पद, प्रतिष्ठा, सफलता सबै बाच्नका लागि गरिएका प्रयत्नभित्र हुने र गरिने कार्यहरू हुन् ।
जब प्रयत्न असफल हुन्छन् अनि मानिस बाच्नै नसक्ने पीडाले छट्पटी भएर आत्महत्या गर्ने अवस्थामा पुग्छ ।
मृत्युवरण गर्न खोज्नु चानचुन कुरा होइन ! मृत्युवरण गर्नु अघि मृत्युको कारण उल्लेख (लिपिबद्ध) गर्दै मृत्युतिर धकेलिएका प्रेमप्रसाद आचार्य सन्तोषले समस्या समाधानका लागि सयौँ संरचना र व्यक्तिहरूसँग आफ्नो समस्या राखे । समस्या सुनाएको मात्रै होइन, समस्याको निकासका लागि सयौँ प्रयत्न गरे ।
समस्या सुनाएकै कारण उनी अपमानित भए । त्यो अपमानले उनको आत्मसम्मानमा चोट लाग्यो । त्यो घाउले छट्पटिँदै समस्या समाधान गर्न र स्वाभिमानपूर्वक बाच्न प्रयास गर्दा सयौं विकल्पहरू खोजे । विकल्पभित्र पनि उनी डगिए, लुटिए । उनलाई व्यक्तिले र बिचौलियाले मात्रै होइन राज्यले पनि ठगेको देखिन्छ ।
आफूले गरेको कामको महत्व र महिमा राजनीतिक दल, नेता र सरकारसँग पटकौं-पटक पुर्याए । तर सम्बोधन भएन । बिचौलियाले दिएको दुःखको कथा त दुनियाँले बुझने भाषामा लेखेकै छन् ।
सयौँ प्रयास गर्दा पनि आफू असफल भएपछि सामाजिक इज्जत र इमानदारिता जोगाउन जीवनदेखि हारेर आत्मदाह गर्ने प्रयास गरेको देखिन्छ ।
उनको सामाजिक सञ्जालमा उनैले लेखेको कुरा पढ्न नसकेर म तीन पटक भाव विहृवल भएँ । भिडियो हेर्न अझै सकेकी छैन । उनको कथा पढ्दा मैले आफैँलाई नियाले । घर, परिवार, समाज, राजनीति र राज्यका हजारौँ विकृति विसंगति सम्झे । आफैँलाई परेका/पारेका र गरेका समस्या सम्झे र झसङ्ग भएँ । उनको पीडा र छट्पट्टीले मलाई गार्हो बनायो ।
मानिसलाई अपमान गर्नु भनेको नै हिंसा गर्नु हो । प्रेमप्रसाद सयौँपटक हिंसामा परे र हिंसाबाट उत्रिए तर ऋणको हिंसाबाट बाहिरिन सकेनन् ।
आचार्यजी राज्य र समाजमा दैनिक हुने आर्थिक सामाजिक संरचनाको हिंसामा परे । यसरी हिंसामा पर्नेको संख्या लाखौँको छ । घरघरायसी अंश, वंश, सम्पत्ति (श्रोत र साधन)को उपयोगको विषयसँग जोडिएर हिंसा भइरहेका छन् ।
यी र यस्ता विषय हेर्दा व्यक्तिगत देखिए पनि सामाजिक समस्या हुन् । यसको सम्बोधन राज्य र सरकारले गर्नु पर्दछ ।
यस्ता घटनासँग जोडिएका सयौ प्रेमप्रसाद सन्तोषहरू मृत्युवरण गर्ने ठाउँमा पुगेका छन् । राज्यको संरक्षणमा भएको भ्रष्टिकरण र प्रशासन संरचनाभित्र मौलाएको संस्थागत कार्य सम्पादन र संरचनागत भ्रष्टाचार अन्त्य गराउन नसकेको कारण यो घटना घटेको देखिन्छ । यो त प्रतिनिधि घटना मात्रै हो ।
सरकार !
तत्काल प्रेमप्रसाद आचार्यको समस्या सम्बोधन गर । हरेक ठाउँका बिचौलियाको अन्त्य गर्दै राज्यको संरक्षणमा भएको भ्रष्टिकरण र प्रशासन संरचनाभित्र मौलाएको संस्थागत कार्य सम्पादन र संरचनागत भ्रष्टाचार अन्त्य गराउन कार्यक्रम ल्याऊ !
अझै पनि दलसँग जोडिएको कारण कति खान्छौ ? भो अब पुग्यो ।
आज उप्रान्त भ्रष्टाचार विरुद्धका काम गर । नहुने र नपुग्ने कुरा नबोल । बोलेको कुराप्रति उत्तरदायी बन । जनताले देख्ने र बुझने भाषा र व्यवहारले भ्रष्टाचारको अन्त्य गर । यस्तो बेलामा अर्ती उपदेश होइन समस्याको हल गर्ने प्रयास गर । प्रेमप्रसाद आचार्यको तात्कालिक समस्या उपचार र ऋण देखिन्छ । त्यसको समाधान कसरी गर्ने ? प्रेम प्रसाद जस्ता सयौँ छन्, उनीहरूका समस्या पनि सँगसँगै आउँछन् । त्यसैले प्रेम प्रसादको बारेमा बोल्दा विचार पुर्याएर जनतालाई अपमान नहुने गरी बोल !
सरकारमा बसेकाहरू हो ! राज्यको नीति सञ्चालन गर्न जोडिएका पेसेवार राजनीतिक दलहरू हो ! मानिसलाई मर्ने रहर हुँदैन । बाच्नको लागि साथ र आश चाहिन्छ ।नेपाली जनताले राजनीतिक दलसँग खोजेको साथ मात्रै हो । जनप्रतिनिधि र सरकारसंग खोजेको भरोसाको आस हो । हिजो भएको बानेश्वरको घटनाका पात्रले जे बोले, जे लेखे त्यो पढ र ती र त्यस्ता विषयहरूको तत्काल छानबिन र सम्बोधन गर्न प्रयत्न गर ।
यो आत्मदाहको मुख्य कारण राजनीति र कर्मचारीतन्त्र भित्र मौलाएको अपराध र भ्रष्टीकरण नै हो । संविधानबाटै समाजवादको यात्रा तय गरेको राज्यभित्र यस्तो घटना किन घट्यो ? देशको राष्ट्र पति,प्रधानमन्त्री, सरकारका मन्त्रीहरू र कर्मचारीतन्त्रमा रहेकाहरूलाई गम्भीरताका साथ सोच्ने शक्ति मिलोस !
बाँच्ने रहर हुँदाहुँदै मृत्युवरण गर्न बाध्य प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली परिवारजनमा समवेदना !










