अति पोषिलो यो अन्नलाई कति हेपेको !

‘खानाको इतिहास मानिसको हजारौं वर्षको रोजाइको इतिहास हो’ भन्ने पंक्ति सम्झिँदै म काठमाडौं सडकमा टहलिँदै थिएँ। भर्खरजसो खुलेको एउटा सानो खाजाघरमा कागजी सूचनाको ठूलो अक्षरले ध्यान खिच्यो ।
‘श्रावण खिर पाइन्छ, स्पेसल ।’ स्पेसल अंग्रेजीमा लेखिएको थियो ।
त्यस्तो परिकारलाई विशेष रूपमा प्रस्तुत गरेको कुनै ठाउँ त्यसअघि नसम्झेको भएर मध्य–बानेश्वरको त्यो ढोकाभित्र पसेँ। ढोका भनेको खुला सटर। तातो खाने कि सेलाएको रोज्नु थियो। मैले माटाको लाम्चो कप लिएर चम्चाले चिसै चाखेँ।
उहुम् !
चामल ‘बासमती’ भनी जबाफ दिने बहिनीले खिरको सोचाइ कसरी आयो भनिन्, ‘अरूभन्दा फरक होऊँ भनेर !’
अरूभन्दा फरक हुने सोचाइ खुला बजारको प्रतिस्पर्धाले सिर्जना गरेको होला! खानपिनमा आफ्नोपनको खोजीको सामाजिक भोक सोच्न पनि सकिएला!
मुख मिठ्याएको केही बेरपछि मैले ‘खानाका लागि खेतीपाती’ अभियान चलाएका कृषिविद् कृष्णप्रसाद पौडेललाई भेट्नासाथ खिरको खबर सुनाएँ। ‘खासमा यो महिना’, उनले भने, ‘कागुनोको खिर खाने चलन हो ।’
कागुनो ?
हो, कागुनो ।
यो आजकल वैज्ञानिक भाषामा कोदो परिवारभित्र पर्छ। अंग्रेजीमा ‘फक्सटेल मिलेट’ भनिन्छ । यसले फ्याउराको जस्तो पुच्छर हुने बाला लिएर हाम्रो गण्डकी भेगमा चैते धान काट्ने बेला असारमास झरी पर्ने–नपर्ने मौका छोप्दै, काट्दै र सुकाउँदै किसानलाई अत्याउँथ्यो ।
अब त दुर्लभ भइहाल्यो। नेपाल खाद्य संस्थानले कर्णालीबाट ल्याएर केही बेच्छ, कतै ठूला पसलेले झिल्के प्लास्टिकले मोडेर बेच्छन्। किसानको आमप्रचलन हराइसकेको छ । पौडेलका अनुसार कागुनो के पहाड के तराई जहीँतहीँ हुने बाली थियो, जसको खिर पहाडमा प्रायः मुख्य खाना र तराईतिर मिठाइका रूपमा प्रचलन थियो।
साउन महिना कोदो लगाउने र परिकारहरू खाने महिमा मानेर के गर्नु? कागुनो मात्र किन चिनो र मार्से जस्ता बालीसमेत हराउँदै जान थालेपछि परम्परागत परिकार उक्तिमा सीमित हुन थालेका छन् । कागुनो, चिनो र मार्से नेपाल मात्र होइन, दक्षिण एसिया मात्र पनि होइन, ’हिन्दुकुश क्षेत्रमै साझा अनाज थिए,’ पौडेल भन्छन्, ‘आधुनिक विकाससँगै सीमान्तकृत हुँदै गए।’
हिमालय मुन्तिरको यस भूखण्डमा मौसमभन्दा वेगले खेतीपाती बदल्ने गरी कृषिमा दबाब बढेको परिणाम आज हाम्रा आहारविहार हुन्। दोस्रो विश्वयुद्धपछि आधुनिकताका खातिर अख्तियार गरिएका नीतिले बढ्दो जनसंख्याको पेट पाल्न मुख्य बालीहरूमा ध्यान केन्द्रित गरे। सांस्कृतिक महत्व भएर पनि आर्थिक औचित्यको कसीमा घोटिन नसक्ने बालीहरूका बीउ झर्दै खेर गए। कोदो परिवारभित्र पर्ने सबैजसो हेपिँदै र हराउँदै गए ।
अब औचित्यहरूकै पनि औचित्यमाथि औंला ठड्याउनुपर्ने भएको छ। कारणहरूकै कारण पनि केलाउनुपर्ने भएको छ।
साउन १५ लाई ‘कोदो दिवस’ भनेर मनाउने नागरिक पहल केही वर्षदेखि जारी छ। राष्ट्रिय किसान समूह महासंघ नेपालले औपचारिक तवरमा मनाउन सरकारसँग प्रस्ताव गरेअनुसार कृषि मन्त्रालय आन्तरिक छलफल पनि गर्दैछ। कोदोप्रति पुनर्जागरण ल्याउन, यसका महत्त्व र विशेषतामाथि चर्चासहित जनमानसको दृष्टिकोण बदल्न जरूरी ठानिएको छ। यसको संरक्षण र प्रवद्र्धन किन भनेर महासंघका तत्कालीन अध्यक्ष उद्धव अधिकारी एक डंगुर कारण दिन्छन्– वर्षामा माटो संरक्षण गर्छ, पोषिलो पशु–मानव आहार हो, प्रायः सबै भूगोलमा हुन्छ, अनि यस्तो अनाज लामो भण्डारण क्षमताको हुन्छ। मिलाएर राखे दस–बीस वर्ष तग्छ ।
कोदोको इतिहास लामो समय हेपाइको इतिहास पनि हो। कूअन्न भनिएन कि? पाङ्दुरे बाली भनिएन कि? गरिबको खाना भनिएन कि? जुठो अन्न भनिएन कि? वेदमा समेत उल्लेख भएको त्यति पुरानो अनाजलाई संस्कृत साहित्यमा कुधान्य, क्षुद्रधान्य लेखिएकोलाई गलत व्याख्या हुँदै आएकाले यसमाथि अन्यायको उत्खनन् गर्न धेरै जोरजुलुम गर्नुपर्ने हुन्छ।
कोदो परिवारका धेरै नासिए पनि कोदो आफै भने यस्तो प्रतिकूल नीतिगत र दृष्टिकोणगत कालखण्डमा पनि बचेको छ। जाँडरक्सी त आमप्रचलनमा अद्यापि छ। आयात गरेर पनि नेपालले कोदो पिउँछ। मात्नकै लागि पनि हामी कोदो आयात गर्छौं।
कोदो कसरी बच्यो त?
‘कूअन्न भनिएकै कारण बच्यो,’ पौडेल भन्छन्, ‘गाउँठाउँमा कुहाएर, पिउने बनाएर!’ नत्र त नामबाटै पनि यो कति हेपिएको छ, हेर्नोस् न !
हामीले यही महिना तनहुँ फार्ममा मकैभित्र घुसाएर छरेको मुडुले र सेतो कोदो। रातो कोदोको नाम मुडुले, सेतोको त नाम पनि छैन। नाम भएका पनि कस्ता छन्– बौलाहा, चुल्ठे, च्याल्से, च्याल्ठे, डल्ले, डुँडे, झुप्पे, कालो बुंगे, किर्ने, लुर्के, मुड्के, नंगकठुवा, पाउँदुरे, साङ्ले, कालो डल्ले, सानो डल्ले, सेतो डल्ले, तिखुडे, तिन्मासे, झ्याप्रे, मुतुरिया, दाने, दूधे डल्ले …।
धानका नाम सम्झौं न– विरमफूल, मनसरा, करिया …!
धानका विभिन्न जात भए पनि एउटै प्रजाति हो। कोदोको भने प्रजाति नै नेपालमा
१२ वटा भेटिएका छन्– कागुनो, चिनो, जुनेलो, कोदो, कोदी, धानकोदो, सामा, मिर्कौलो सहित। जात त १ हजार १ सयभन्दा बढी लेखिएका छन्।
कोदो परिवारलाई साझा के नाम सुहाउला भन्ने मतहरू चल्दैछन्। कोदो, कोदे बाली, कोदिय बाली, कोदोजन्य बाली। राष्ट्रिय आनुवांशिक स्रोत केन्द्रका प्रमुख बालकृष्ण जोशी ‘अन्नहरूमध्ये उत्तम’ यी बाली औषधीय र पोषणीय भएकाले मधुमेह, रक्तचापसहित नसर्ने रोगहरूको बढ्दो दबदबाबीच झन् सान्दर्भिक भएको पैरवी गर्छन्।
रूखोसुखो ठाउँमा पनि उब्जिने, खासै सिँचाइ नचाहिने, मल पनि चिन्ता गर्न नपर्ने, उसमाथि रासायनिक मल भनिने ’कूमल’ (कोदोजस्तो गुनिलोलाई कूअन्न भनिन्छ भने माटो र जलवायु बिगार्ने रासायनिक मल अर्थात् कृत्रिम मललाई कूमल किन नभन्ने?) हाल्नु नपर्ने, विषादि छर्किनु नपर्ने यी बालीहरू सिँचाइ आयोजना बनाउने राज्यका ढुकुटी पनि बचाउँछन्। यिनको नल पशुका लागि पोषिलो छँदैछ।
कोदो परिवारको अनाजका परिकार पनि अनेक छन्। ढिँडो, रोटी, खिर, हलुवा, पुवा, सातु, फाँडो, आलुम, लगड (माडे रोटी), पेडुला लेटे, गजगजे, बेसार पाते रोटी आदि।
‘पहिलाका भाषामा खोले,’ रैथाने परिकार नयाँ पुस्तामा लोकप्रिय बनाउन सक्रिय तिलक ढकाल भन्ने गर्छन्, ’अहिलेको भाषामा सुप!’ त्यति मात्र किन! कोदोको भूसकै चिया, कफी प्रयोग हुन थालेको छ भने परिकारहरू आधुनिक बनाउन बिस्कुटदेखि कुकिजसम्म प्रवद्र्धन गर्नेहरू देखिएका छन् । ढकालका शब्दमा ’फालिएका जग्गामा पनि फल्ने’ कोदोप्रति जागृतिमा भारत अगाडि छ ।
भारतमा कोदो बालीमध्ये बढी हुने बाजराका नामले त्यहाँको सरकारले ’मिलेट्स’ लाई प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघलाई घच्घच्यायो र सन् २०२३ लाई ‘मिलेट्स इयर’ का रूपमा मनायो पनि। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय बाजरा वर्षोत्सवमा कोदोजन्य परिकारहरू प्रवद्र्धन गरे, अन्तर्राष्ट्रिय अतिथिहरूलाई चखाए। वित्तमन्त्री निर्मला सीतारमणले यही वर्ष नयाँ बजेट पेस गर्दा भारतलाई ‘श्रीअन्न’ को सबभन्दा ठूलो उत्पादक र दोस्रो ठूलो निर्यातक भन्दै भारतीय बाजरा अनुसन्धान संस्थान हैदराबादलाई उत्कृष्ट केन्द्रका रूपमा विकास गर्ने घोषणा गरिन् । उनीहरूले कोदोजन्य बालीमध्ये सबभन्दा बढी प्रोटिन, रेशा लगायत पोषण भएकालाई ‘श्रीअन्न’ भन्ने गरेका छन्। त्यस्तो अन्नको अनुसन्धान निम्ति विश्व केन्द्र बनाउने उद्देश्य उनको बजेटमा उल्लेख छ ।
नेपालमा कोदो विशेषका लागि कुनै अनुसन्धान निकाय छैन। राष्ट्रिय पहाडी बाली अनुसन्धान कार्यक्रम दोलखाको जिम्मा छ, जबकि धान, गहुँ र मकैका लागि अनुसन्धान केन्द्र नै छन्। कोदो परिवारका बालीहरूबारे अनुसन्धान, बीउ सुधार, किसानलाई उपयोगी प्रविधिसहित बृहत् काम सुरू गर्नै बाँकी छ। मसिना दानाका यी बाली छर्ने, गोड्ने, टिप्ने, चुट्ने सबै मिहिन काम निपूर्ण महिलाहरूमा निर्भर छ। श्रमशक्तिको अभावसँगै धान, गहुँ र मकै जस्ता मुख्य छाक टार्ने अन्नको बढ्दो प्रवद्र्धन र प्रचलनले पारम्परिक बालीनाली आफैमा अनिकाल भएका छन् ।
‘खासमा भोलि अनिकाल टार्न यिनै बालीमा नफर्की सुख छैन’, जोशी भन्छन्, ’विश्व जलवायु संकट यसैगरी बढेर एक डिग्री तापक्रम तलमाथि भयो भने पनि यी बाली टिक्छन्, अरू बाली भन्न सकिन्न!’
राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)ले भारतको भनसुनमा कोदो वर्ष मनाउँदा यस्ता बालीमाथि बढी जोड दिनुपर्ने प्रमुख कारणमध्ये जलवायुलाई देखाएको छ। ‘कोदो वर्ष समापन भए पनि’, संगठनको मुख्यालय रोममा एक उच्च अधिकारीले भनेकी रहिछन्, ’जलवायु अनुकूलन तथा पोषिला अनाजहरूको मान्यताको सुरूआत हो ।’
नेपाल आफै पनि जलवायु परिवर्तनको मारमा पर्न थालिसकेको र किसानको खेतबारीभन्दा बजारमा उपलब्ध अनाजको आहारविहारमा फसिसकेको छ। पारम्परिक बालीनालीको पुनरूत्थान गर्न सजिलो छैन। जति मेहनत गरेर फलाए पनि बजारमा बाहिरबाटै सस्तोमा आइपुगेको हुन्छ। अब त झन् छिमेकी देश नै कोदोमा फड्को मार्ने गरी बढेको छ। उसको ध्याउन्ना कोदोजन्य अनाजहरूमा निर्यात बढाउने हो।
उसले कोदो वर्ष मनाउन राष्ट्रसंघ गुहारेको आफ्नो सम्भावना बढाउन हो। उसले देख्यो– दस वर्षअघि एन्डिज पर्वत क्षेत्रको दक्षिणी अमेरिकी अनाज ’किनुवा’ स्थापित गर्न राष्ट्रसंघले वर्षोत्सव ग¥यो, त्यसको बजार प्रवद्र्धन भयो।
नेपालमा पनि केही साताअघि भारतका ‘मिलेट्स म्यान’ भनिने डा. खादर वली आएर काठमाडौं र विराटनगरमा प्रवचन दिँदा ‘कोदोजन्य अनाज खाए कुनै औषधि नै खानुपर्दैन’ भन्ने ठोकुवा गरिदिए। भारतमा अढाइ दशकदेखि कोदो प्रवद्र्धन गर्दै आएका उनलाई सरकारले गत वर्ष नै पद्मश्रीले विभूषित गरेको थियो। औषधिमुक्त जीवनका लागि कोदोजन्य परिकार भन्ने उनले मधुमेह र रक्तचाप रोगीको औषधि यस्ता पोषिला खानाबाटै छुटाउन सकिने दाबी गर्दै आएका छन् । उनका दाबीको वैज्ञानिक परीक्षण नगरी हतारमा उच्च सरकारी विभूषण दिएको भन्ने आलोचना त्यहाँ भए पनि ग्रामीण खेतीपाती र सहरी आहारविहारलाई जोड्ने भारतीय सत्ताको प्राथमिकता झल्किन्छ ।
नेपालले आफ्नो नीति तय गर्दा साउन १५ लाई कोदोजन्य बाली दिवस मनाओस् वा जे गरोस्, कोदोजन्य बाली अनुसन्धान केन्द्र स्थापना गरी अहिले नै देशभित्र जे–जति खेती भइरहेको छ, तिनको टिकाउको उपाय खोज्न जरूरी छ । कूमल र विषादिमा बाहिरिने अर्बौं रूपैयाँ तथा सिँचाइ आयोजनाहरूमा बग्ने त्यत्तिकै ठूलो रकम जोगाउन सरकार जुर्मुराउने हो भने यसबारे मन्थनलाई राष्ट्रिय अभियान बनाउन सक्छ।
हाम्रो आहारविहारबाट यसको खेती जोगाउने हो भने हाम्रो सामाजिक दृष्टिकोण बदल्न पनि कम्तिमा सरकारले स–साना पहल बढाउन सक्छ। विद्यालय खाजासहित राज्यकोषबाट खर्चिने सबै सरकारी खानपिन कम्तिमा परम्परागत र स्थानीय बाली अनिवार्य गरेर भरथेग गर्न सकिने कृषि मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ सकार्छन्।
उनी त अझ यस्ता बालीबाट ’ग्रामीण रूपान्तरणको ढोका खोल्न’ सकिने भनेर ’कृषि जैविक विविधता संरक्षण तथा उपयोगः असल अभ्यासहरू’ मा कोदोबारे लेख्छन्, ’त्यसका लागि माग सिर्जना, परिकार विविधीकरण एवं मूल्य अभिवृद्धिका उपाय गर्नुपर्छ ।’
कोदोको खान्की कति हेपिएको थियो भनेर तनहुँमा मेरा छिमेकी ८७ वर्षीय झलकबहादुर अधिकारी हाँस्दै सम्झिन्छन्, ‘भित्र ढिँडो वा खोले जे खाएको होस्, बाहिर चुठ्न निस्कँदा हातभरि भात मुठी पार्दै च्व च्व भनेर कुकुर डाक्ने गर्थे !’ सेतोपाटीबाट
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker