गोरखाका बोगटीले जिते रोटर्याक्टको खुल्ला दौड प्रतियोगिताको उपाधि
भञ्ज्याङ न्यूज

रोटर्याक्ट क्लव अफ दमौलीले आयोजना गरेको खुल्ला दौड प्रतियोगिताको उपाधि गोरखाको सिरानचोक गाउँपालिका-३ का दिनेश सिंह बोगटीले जितेका छन् ।
क्लवले आइतबार दमौलीमा आयोजना गरेको २०औं स्व. रो. सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको ९ किलोमिटर दुरी २९ मिनेट ३० सेकेण्डमा पार गर्दै बोगटीले उपाधी हातपार्न सफल भएका हुन् ।
तनहुँको सदरमुकाम दमौली स्थित अनसनचोकबाट छाब्दी बाराही मन्दिरसम्मको ९ किमि दूरीमा आयोजना गरिएको प्रतियोगितामा आँबुखैरेनी गाउँपालिका-१ सत्रसयका सनम गुरुङले ३० मिनेट १० सेकेण्डमा पार गर्दै द्वितीय भएका छन् ।
प्रतियोगितामा उक्त दुरी ३० मिनेट ५२ सेकेण्डमा पार गर्दै ललितपुर महानगरपालिका-४ का विकेश घिमिरे तृतीय भएका छन भने ३२ मिनेट २० सेकेण्डमा उक्त दुरी पार गर्दै भानु-१२ बयापानिका अनिल मझकोटीले सान्त्वना स्थान हाँसिल गरेका छन् ।
यस्तै महिलातर्फ३८ मिनेट २० सेकेन्डमा उक्त दूरी पार गर्दै व्यास-५ पाटनकी सुस्मिता रानाभाट र ५९ मिनेट ५८ सेकेण्डमा उक्त दूरी पार गर्दै व्यास-१ खकौलीका १२ वर्षीय बाल धावक कृतिक घर्ती सान्त्वना भएको प्रतियोगिताका संयोजक उमेश पौडेलले जानकारी दिए । प्रतियोगितामा ८८ जना धावकको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथमलाई १४ हजार रुपैयाँ, द्वितीयलाई १२ हजार रुपैयाँ र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । त्यस्तै सान्तवना, महिला प्रथम र बाल धावकलाई जनही २ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको रोटर्याक्ट क्लब अफ दमौलीका सचिव किरण श्रेष्ठले बताए ।
विगतका वर्षहरुमा प्रशासनचोकबाट शुरु भई घाँसीकुवा पुगेर पुनः प्रशाचनचोकमा आएर दौड प्रतियोगिता सकिने गरेपनि दुइ वर्ष अघिदेखि दौडको रुट परिवर्तन गरिएको छ । छाब्दीवाराही मन्दिरको धार्मिक पर्यटन प्रबर्द्धनका लागि पनि दौडले सहयोग पुग्ने क्लवका अध्यक्ष विशाल श्रेष्ठले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदले अनुशासन र स्वास्थ्यमा समेत सहयोग पुग्ने बताए । यस्तै कार्यक्रमको समापन समारोहमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले परिवर्तन यहि उमेर समुहका युवाले सुरु गर्ने गरेको र गर्नुपर्ने बताए ।









