अनुकूल मौसममा पनि देखिएनन् बेगनास तालमा पर्यटक

रासस/लेखनाथ

यतिबेला पर्यटक आउने अनुकूल मौसम हो, तर लेखनाथको पर्यटकीय गन्तव्य बेगनास तालमा यसपटक फाट्टफुट्टा मात्र पर्यटक देखिएपछि डुङ्गा व्यवसायीका मुहारमा खुसी देखिएन ।

कोरोनाकै कारण तीन वर्षदेखि घटेका पर्यटक संख्या यस वर्ष पनि नबढेपछि बेगनासका डुङ्गा व्यवसायी चिन्तित मात्र हैन, उनीहरूको व्यवसाय नै धरापमा परेको छ । सार्वजनिक बिदाका दिन केही मात्रामा बेगनास पुग्ने गरेका आन्तरिक पर्यटकमध्ये ५० प्रतिशतले मात्र डुङ्गा चढेर ताल गुम्ने गरेका कारण व्यवसायीलाई थप निराश बनाउने गरेको बेगनास ताल डुङ्गा व्यवसायी समितिका अध्यक्ष रवीराज कँडेलले बताउनुभयो ।

“यतिबेला बिदाका दिन पनि प्र्याप्त मात्रामा पर्ययक छैनन्, गत दसैँ र तिहारमा केही मात्रामा बाहिरी जिल्लाका पर्यटक देखिएको भए पनि त्यसपछि पर्यटक देख्न पाइएको छैन”, अध्यक्ष कँडेलले भन्नुभयो, “बेगनास तालमा भएका दुइ सय ५४ डुङ्गामा अहिले प्रतिदिन १० मात्र चल्ने गरेका छन् ।”

उहाँका अनुसार आज चैते दसैँ भएकै कारण केही पर्यटक बढ्छन् कि भनेर २५-३० जना डुङ्गा व्यवसायी ताल किनारको डुङ्गा घाटमा आए तर आज बिहानदेखि एक बजेसम्म जम्मा चार डुङ्गा मात्र चलेका छन् । माछाका परिकारका लागि बेगनास ताल वर्षौदेखि प्रसिद्ध मानिँदै आएको भए पनि त्यस्ता परिकार खान पोखरा तथा आसपासका क्षेत्रबाट बेगनास पुग्ने पर्यटक पनि विस्तारै घटेको अध्यक्ष कँडेलले उल्लेख गर्नुभयो ।

आर्थिक मन्दीका कारण माछा खाने पर्यटकको संख्या पनि घटेको अनुमान छ डुङ्गा व्यवसायी टीकाराम तिवारीको । “कोरोनाअघि नौका बिहार गर्न स्वदेशी तथा विदेशी पर्यटक खचाखच हुने बेगनासमा तीन वर्षदेखि पर्यटक खोज्नुपर्ने अवस्था आयो”, तिवारीले भन्नुभयो, “अहिले ति दिन सम्झना मात्र रहने भए ।” कोरोनाका कारण कारण व्यवसाय नै नचलेपछि बेगनास तालका २५ प्रतिशत डुङ्गा व्यवसायी विस्थापित भएको र केही डुङ्गा व्यवसायी विदेश पलायन हुने क्रम बढिरहेको जानकारी तिवारीले दिनुभयो ।

पोखराका नौ तालमध्ये बेगनास ताल क्षेत्रफलको रुपमा दोस्रो ठूलो ताल मानिन्छ । तीन सय ७३ हेक्टर क्षेत्रफलमा फैलिएको बेगनास तालमा डेढ सय डुङ्गा व्यवसायी र दुइ सय ५४ डुङ्गा सञ्चालनमा रहेका छन् । वरिपरि बस्ती नभएकै कारण तालको पानी सफा भएकाले पोखराको लेकसाइडस्थित फेवा तालमा भन्दा बेगनासमा अन्तरिक एवं बाहृय पर्यटक आउन मन पराउने गरेको डुङ्गा व्यवसायी वसन्तराम कँडेलले बताउनुभयो ।

“पर्यटक कम भएकै कारण डुङ्गा व्यवसायीले आलोपालो गरेर डुङ्गा सञ्चालन गर्दै आएका छौँ, हप्तामा एक दिन पनि पालो आउँदैन”, डुङ्गा व्यवसायी अरुण अधिकारीले भन्नुभयो, “तीन वर्ष अघि डुङ्गा व्यवसायबाट प्राप्त पैसाले घर खर्च चल्थ्यो अहिले नुन-तेल किन्न पनि पैसा पुग्दैन ।”

बेगनास तालमा एक घण्टा नौका बिहार गरेवापत व्यवसायीले रु सात सय र पाइडलबोटको रु एक हजार लिने गरिएको छ । डुङ्गाबाट ताल वरपरका जङ्गल, बेगनास तथा माझठाना गाउँ, अन्नपूर्ण हिमश्रृंख्ला, कालिकाको ठूलाकोट, तथा बेगनासको सुन्दरी डाँडाको मनमोहक दृर्ष्यावलोकन गर्न सकिन्छ ।

बेगनास तालमा विसं २०३७ देखि डुङ्गा सञ्चालन हुँदै आएको भए पनि सङ्गठित रुपमा विसं २०५२ देखि सञ्चालन भएको हो । विसं २०५२ अघिसम्म गाउँगाउँमा सडक नखुल्दा यहाँको डुङ्गा व्यवसाय नौका बिहार मात्र नभई कास्कीका गाउँ बेगनास, माझठाना, सैमराङ, भाचोक, मिजुरेडाँडा र लमजुङको पर्यटकीय पसगाउँवासीले डुङ्गामार्फत छोटो बाटोको रुपमा प्रयोग गर्दै आएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker